Ad Area

सरस्वती मावि काठेकोलका विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान


घोराही, ८ मंसिर । आत्मनिर्भर लघुबित्त बित्तीय संस्था लिमिटेडले घोराही १५ स्थित सरस्वती माध्यमिक विद्यालय काठेकोलमा अध्ययनरत छात्राहरुलाई बित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण गरेको छ । केन्द्रीय कार्यालय घोराही रहेको आत्मनिर्भर लघुबित्त बित्तीय संस्थाले शुक्रबार श्री सरस्वती माध्यमिक विद्यालय काठेकोलमा अध्ययनरत छात्राहरुलाई वित्तीय साक्षरता प्रदान गरेको हो ।


विद्यालयकी प्रधानाध्याक बसन्ता पौडेलको अध्यक्षता तथा आत्मनिर्भर लघुबित्त बित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सोगतबीर चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम गरि वित्तीय व्यवस्थापन र यसका पक्षका बारे अभिमुखीकरण गरिएको संस्थाले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथि चौधरीले वचत भनेको के हो ? यो किन गर्नुपर्छ ? खर्च व्यवस्थापन कसरी गर्ने ? काम गर्दा मितव्ययी हुन अपनाउनुपर्ने तरिका आम्दानीका स्रोतहरु पहिचान कसरी गर्नेलगायत विषयमा विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० का छात्राहरुलाई अभिमुखीकरण गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत चौधरीले महिला सशक्तीकरणका लागि आर्थिक पक्षसँग जोडिन आयआर्जनका श्रोत पहिचान गरि वचत गर्ने बानीको विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो ‘महिलाहरुको हातमा पैसा भयो भने आत्मनिर्भर हुदै जाने र महिला हिंसालगायत समस्याहरु भोग्नु पर्दैन । त्यसैले हरेक कामको शुरुवात गर्दा योजनासहित गरियो भने त्यो कामले निक्कै फलदायी हुन्छ ।’

भोलिको भविष्य बोकेर अघि बढिरहेका बालबालिकालाई आर्थिक विषयका बारेमा सानैदेखि सिकाउन जरुरी रहेको बताउनुभयो । ‘कलिला नानीहरुलाई आत्मनिर्भरताका लागि घरमा आमा बुवाको काममा सहयोग गरी आफनो दक्ष शिक्षा आर्जन गर्न जरुरी छ, यसमा नानीहरुले जीवन जिउने शिक्षामा विशेष ध्यान दिन अनुरोध गर्दछु’ उहाँले भन्नुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्याक बसन्ता पौडेलले समाज विकास र रुपान्तरणका लागि ग्रामीण महिला उत्थान केन्द्र दाङले प्रवर्द्धन गरेको आत्मनिर्भर लघुबित्त बित्तीय संस्था लिमिटेडले सराहनीय काम गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले ग्रामीण, आत्मनिर्भर र सुनिता ट्रष्ट फाउण्डेसनबाट विद्यालयमा अध्ययनरत छात्रछात्राहरुको शैक्षिक उन्नयनमा सहयोग पुगेकोमा धन्यवाद दिनुभयो । विद्यार्थीहरुको उज्ज्वल भविष्यका लागि आगामी दिनहरुमा पनि सचेतनामुलक कार्यक्रम लिएर आउन अनुरोध गर्नुभएको थियो ।

अभिमुखीकरण कार्यक्रममा ग्रामीण महिला उत्थान केन्द्र दाङका सुचना अधिकारी पार्वती बस्नेतलगायत बोल्नुभएको कार्यक्रमको सहजीकरण आत्मनिर्भर लघुबित्त बित्तीय संस्था लिमिटेडका आन्तरिक लेखा परिक्षक नेपबहादुर चौधरीले गर्नुभएको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad