प्रथम डिफेन्सिभ आमन्त्रित जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता

घोराही, १० मंसिर । प्रथम डिफेन्सिभ आमन्त्रित जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता २०८० सुरु भएको छ । डिफेन्सिभ डोजाङको आयोजनामा घोराही उपमहानगरपालिका–१३ सेवार बनगाउँमा शनिवारदेखि प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगिताको उदघाटन घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले खेल क्षेत्रको प्रवद्र्धनसँगै दक्ष खेलाडी उत्पादनका लागि प्रतियोगिताले सहयोग पुग्ने बताएका थिए ।
डिफेन्सिभ डोजाङका अध्यक्ष गिरीराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले खेलकुदका गतिविधिले स्वस्थ व्यक्ति निर्माणसँगै आत्मरक्षका लागि सहयोग पुग्ने बताएका थिए ।
घोराही उपमहानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष डुल्लुराम पोख्रेलले वडामा भईरहेको हरेक प्रकारका खेलकुदका गतिविधिलाई व्यवस्थित गर्दै खेलकुदका माध्यमबा वडालाई चिनाउँदै लैजाने बताए । त्यस अवसरमा दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष विष्णु अधिकारीले खेलकुदले मानिसलाई अनुशासनमा बाँध्नुका साथै दक्ष जनशक्ति निर्माण गर्न सघाउने बताए ।
आईतबारसम्म संचालन हुने प्रथम डिफेन्सिभ आमन्त्रित जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा विभिन्न १० वटा तौल समुहमा खेलाडीले प्रतिष्पर्धा गरिरहेका छन् । जसमा १६ वटा डोजाङले भाग लिएका आयोजकले जनाएको छ । उदघाटन समारोहमा खेलाडीबाट नृत्यसहित सांगितिक प्रस्तुति गरिएको थियो । तेक्वान्दो प्रशिक्षक राकेश परियारको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण प्रेम शर्माले गरेका थिए ।