Ad Area

खेलाडी उत्पादन गर्न दाङ भ्याकेसन लिग


दाङ, १० मंसिर । दाङमा खेल क्षेत्रको विकाससँगै खेलाडी उत्पादनका लागि दाङ भ्याकेसन लिग–२०८० सुरु भएको छ । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा शनिवारदेखि घोराही उपमहानगरपालिका–१७ स्थित गुलरिया क्रिकेट मैदानमा दाङ भ्याकेसन लिग सुरु भएको हो ।

लिगका खेल घोराहीसँगै देउखुरीको लमही र बबई गाउँपालिकाको पुरन्धरामा पनि सञ्चालन हुने भएका छन् । सात महिनासम्म सञ्चालन हुने लिगमा क्रिकेट संघ दाङमा दर्ता भएका जिल्लाका १० वटा क्रिकेट क्लबको सहभागिता रहेको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष समेत रहेका नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य प्रदीप मजगैयाँले जानकारी दिएका छन् ।

‘यो कप जित्नका लागि लिग होइन, विशुद्ध खेलाडी उत्पादनका लागि आयोजना गरिएको हो’, जिल्ला अध्यक्ष मजगैयाँले भने, ‘करिब सात महिनासम्म चल्ने प्रतियोगिताले खेलाडीका क्षमता विकाससँगै नयाँ खेलाडी उत्पादनमा सहयोग गर्नेछ ।’

अध्यक्ष मजगैयाँका अनुसार प्रतियोगिताका खेल शनिवारका दिन हुनेछन् । ‘यो लिग गर्नुको मुख्य उद्देश्य खेलाडी उत्पादन र विकासका लागि हो’, उनले भने, ‘त्यसैले सबै खेलाडीलाई समेट्ने गरी सार्वजनिक बिदाका दिन खेल सञ्चालन हुनेछन् ।’ लिगमा नयाँ खेलाडीसँगै विभिन्न प्रतियोगिता खेलिसकेका खेलाडी समेत सहभागी भएकाले खेलाडीलाई अनुभव साटासाट गर्ने अवसर मिल्ने उनले बताए ।

नेवा सप्लायर्सको मुख्य प्रायोजनमा भएको लिगमा घोराही क्रिकेट एकेडेमीले विजयी सुरुवात गरेको छ । शनिवार भएको लिगको पहिलो खेलमा युएनबिसी क्रिकेट क्लबलाई पाँच विकेटले पराजित गर्दै घोराही क्रिकेट क्लबले विजयी सुरुवागत गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको युएनबिसी क्रिकेट क्लबले ३० ओभरमा अलआउट हुँदै एक सय २८ रन बनाएको थियो । ५० ओभरको खेलमा सुरुबाटै दबाबमा परेको युएनबिसीका लागि ३ जना ब्याटरले दोहोरो अङ्क जोड्नुबाहेक सम्झनलायक प्रदर्शन गर्न सकेनन् । युएनबिसीका लागि सुरेन्द्रसिंह ठकुरीले २५, वीरबहादुर घर्तीले १५, प्रकाश रोकाले ११ र विजय बाठा मगरले ९ रन बनाए ।

युएनबिसीलाई सस्तैमा समेट्न घोराही क्रिकेट एकेडेमीका विषम सेञ्चुरीले ३, किसन भारती र करण घर्तीले २–२, आयुस वली र मिलन जिएमले १–१ विकेट लिएका थिए । एक सय २९ रनको बिजयी लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको घोराही क्रिकेट एकेडेमी २४ दशमलव २ ओभरमा आफ्नो पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । घोराहीका लागि आशीष वलीले अर्धशतकसहित ५७ रन बनाउँदा विषम थापाले ११, अभिशेष चौधरीले १० तथा आयुष वलीले ८ रन बनाउँदै टिमलाई जिताएका थिए । युनएनबिसीका सुरेन्द्रसिंह ठकुरीले ३ र वीरबहादुर घर्तीले एक विकेट लिँदा एक विकेट रनआउट भएको थियो ।

Blog Post Ad

लिगको पहिलो खेलमा घोराहीलाई सहज जित दिलाउन ५७ रनको योगदान गरेका आशीष वली म्यान अफ दी म्याच भएको दाङ क्रिकेट संघका सचिव सञ्जु केसीले जानकारी दिएका छन् । होम एण्ड अवेका आधारमा खेलाइने लिगको अर्को खेल शनिवार गुलरिया क्रिकेट रंगशालामा इजाइन क्रिकेट क्लब घोराही र देउखुरी वारियर्स लमहीबिच हुने भएको छ ।

दाङ भ्याकेसन लिगको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताले लिगले खेलाडीमा खेल भावनाको विकास गर्न सहयोग पुग्ने बताएका थिए । जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाँको अध्यक्षता तथा घोराही खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुनको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा सचिव आरके शीतल, पूर्व खेलाडी सनम श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण दाङ जिल्ला क्रिकेट संघका सचिव सञ्जु केसीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad