Ad Area

राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिने ३ लाख बढी, लैजाने ३ हजार


दाङ, ११ मंसिर । दाङमा जिल्ला प्रशासन कार्यालयसहित लमही र तुलसीपुर ईलाका प्रशासन कार्यालयमार्फत अहिलेसम्म राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिनेहरूको संख्या ३ लाख बढी छ तर परिचयपत्र लैजानेहरूको संख्या भने अहिलेसम्म ३ हजार मात्रै छ ।

३ लाख २९ हजार ९ सय २७ आवेदन मध्य अहिलेसम्म करिब ३२ हजार जनाको राष्ट्रिय परिचयपत्र जिल्ला प्रशासन कार्यालयमा आइपुगेको छ । ३२ हजारमध्ये ३ हजार ९८ जनाले मात्रै राष्ट्रिय परिचयपत्र लगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

राष्ट्रिय परिचयपत्रका लागि जिल्ला प्रशासन कार्यालयमा तीन वर्षको अवधिमा आवेदन दिनेहरूको संख्या ४२ हजार बढी छ । २०७७ साल मंसिर ४ गतेदेखि हालसम्म जिल्ला प्रशासन कार्यालय दाङमार्फत राष्ट्रिय परिचयपत्रका लागि ४२ हजार ६ सय ६९ जनाले आवेदन दिएको तथ्यांक प्रशासनसँग छ ।

राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका ४२ हजार ६ सय ६९ जनामध्ये करिब ३२ हजार जनाको राष्ट्रिय परिचयपत्र जिल्ला प्रशासन कार्यालयमा आइपुगेको प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा आइपुगेका ३२ हजार राष्ट्रिय परिचयपत्रमध्ये १७ हजार जनालाई जिल्ला प्रशासन कार्यालय दाङले साउन महिनामा राष्ट्रिय परिचयपत्र आइपुगेको भन्दै परिचयपत्र लिन आउनका लागि ‘मोबाइल म्यासेज’ पनि पठाएको छ ।

तर म्यासेज पठाइएका १७ हजारमध्ये हालसम्म जिल्ला प्रशासन कार्यालयबाट तीन हजार ९८ जनाले मात्रै परिचयपत्र लगेका छन् । जिल्ला प्रशासन कार्यालय दाङका नायव सुव्वा कुवेरजंग खड्काकाअनुसार राष्ट्रिय परिचयपत्र बनाउनेहरूको संख्या अत्यधिक छ तर परिचयपत्र लैजानेहरूको संख्या भने ज्यादै न्यून छ । ‘

राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका ४२ हजारमध्ये ३२ हजार जनाको राष्ट्रिय परिचयपत्र जिल्ला प्रशासन कार्यालयमा आइपुगेको छ’,नायव सुव्वा खड्काले भने,‘कार्यालयमा परिचयपत्र आइपुगेकामध्ये १७ हजार पाँच सय जनालाई राष्ट्रिय परिचयपत्र लिन आउनका लागि मोबाइलमा म्यासेज पठाएका छौँ । त्यसमध्ये तीन हजार ९८ जनाले मात्रै लग्नुभएको छ ।’ राष्ट्रिय परिचयपत्रको आवेदन फारम भरेपछि राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त हुने र सोही नम्बरका आधारमा अन्य सबै कागजी प्रमाणका कामहरू हुने भएकाले नागरिकहरू राष्ट्रिय परिचय पत्र लिनका लागि नआउने खड्काले बताए ।

Blog Post Ad

सरकारले वैदेशिक रोजगारीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिने तर नागरिक वैदेशिक रोजगारीमा गइहाल्ने, कतिपयको मोबाइल नम्बर परिवर्तन हुँदा थाहा नपाउनेसँगै ज्येष्ठ नागरिकले मोबाइल हेर्न नजानेका कारण पनि राष्ट्रिय परिचयपत्र लग्ने संख्यामा कमी भएको उनी बताउँछन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार पछिल्लो समय कार्यालयमा दैनिक करिब एक सय जना राष्ट्रिय परिचयपत्रका लागि नयाँ आवेदन दिन तथा परिचयपत्र लिनका लागि आउने गरेको उनी बताउँछन् । त्यसमध्ये करिब ६०÷७० जना आवेदन दिने र २०÷३० जना परिचयपत्र लिनेको संख्या हुने गरेको छ ।
राष्ट्रिय परिचयपत्र बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा भीडभाड बढेपछि मंसिर ११ गतेदेखि लागु हुनेगरी जिल्ला प्रशासन कार्यालय दाङले बिहान ८ बजेदेखि नै सेवा दिन थालेको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिएका छन् ।

सरकारले राहदानी बनाउनु अघि राष्ट्रिय परिचयपत्र दर्तालाई अनिवार्य गरेपछि पछिल्लो समय परिचयपत्र बनाउनेको भीड हुने गरेको प्रमुख जिल्ला अधिकारी सुवेदी बताउँछन् । ‘राहदानी बनाउनुपर्ने भएका कारण पनि धेरै भीडभाड लाग्ने गरेको छ’,प्रमुख जिल्ला अधिकारी सुवेदीले भने,‘कार्यालयमा भीडभाड हुन थालेपछि बिहान ८ बजेदेखि नै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा दिन थालेका छौँ ।’

उक्त परिचयपत्रमा ‘सेक्युरिटी चिप्स’ जडान गरिएको हुन्छ । राष्ट्रिय परिचयपत्रमा नागरिकहरूको वैयक्तिक विवरण हुन्छ । आँखाको पर्दा स्क्यान गरी त्यसको विवरण परिचयपत्रमा राखिनुका साथै हातका सबै औँलाको बायोमेट्रिक नमुना लिइएको हुन्छ । ई–पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य हुन्छ ।

जिल्ला प्रशासन कार्यालयसँगै तुलसीपुर र लमहीमा रहेका ईलाका प्रशासन कार्यालयहरूमार्फत पनि राष्ट्रिय परिचयपत्रका लागि आवेदन लिने गरिएको छ । जिल्ला प्रशासन कार्यालयबाट ४२ हजार ६ सय ६९, ईलाका प्रशासन कार्यालय लमहीबाट २५ हजार १ सय ६९, ईलाका प्रशासन कार्यालय तुलसीपुरबाट ४६ हजार ९ सय ८४ जना र घुम्ती सेवामार्फत २ लाख १५ हजार १ सय ५ जना गरी अहिलेसम्म ३ लाख २९ हजार ९ सय २७ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् ।

ईलाका प्रशासन कार्यालय लमही र तुलसीपुरबाट आवेदन दिएकाहरूको भने अहिलेसम्म कसैको पनि परिचयपत्र आइ नपुगेको ईलाका प्रशासन कार्यालयहरुले जनाएका छन् ।

Blog Post Ad Blog Post Ad