Ad Area

परिवार नियोजन टोलीद्वारा जाजरकोटमा स्वास्थ्य शिविर शुरु


जाजरकोट, ११ मंसिर । भूकम्पबाट प्रभावित जाजरकोटमा स्वास्थ्य सेवा प्रदान गर्न पुगेको नेपाल परिवार नियोजन संघ दाङको टोलीले वृहत प्रजनन् स्वास्थ्य शिविर शुरु गरेको छ ।

नेपाल परिवार नियोजन संघको आयोजना, आईपिपिएफ स्प्रीन्ट परियोजनाको सहयोग र भेरी नगरपालिका जाजरकोटको समन्वयमा भेरी नगरपालिका वडा नम्बर ४ बोहोरा गाउँमा पहिलो दिन सोमबार १ दिने वृहत प्रजनन स्वास्थ्य शिविर संचालन गरिएको छ ।

शिविरमा भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीले भूकम्पले प्रभावितहरुको पीडामा मल्हम लगाउन र आत्मबल जगाउन नेपाल परिवार नियोजन संघले स्थानीय स्तरमा उपस्थिती जनाएर गरिरहेको मानव सेवाको भुमिका प्रशंसनीय रहेको बताउनुभयो । शिविरमा महिला, सुत्केरी, बालबालिका, किशोरकिशोरी, जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा तथा परामर्श प्रदान गरिएको छ ।

सोमबारदेखि शुरु भएको शिविर पालिकाका अति प्रभावित वडा नम्बर १, २ र ३ मा पनि सन्चालन हुनेछन् । शिविरमा नेपाल परिवार नियोजन संघबाट स्त्री रोग बिशेषज्ञ डा. हेमा छन्त्यालको नेतृत्वमा स्वास्थ्यकर्मीहरुको टोलीले सेवा दिईरहेको छ । समुदाय स्तरमा पुगेर भूकम्प प्रभावितलाई स्वास्थ्य सेवा प्रदान गर्न थालिएकाले शिविरमा आई सेवा लिन पालिकाले आग्रह समेत गरेको छ ।

नेपाल परिवार नियोजन संघ दाङ शाखा प्रबन्धक बसन्त खनाल विपतको समयमा प्रजनन स्वास्थ्य सेवाको महत्व र आवश्यकताका बारेमा सो क्षेत्रका स्थानीय नागरिकलाई जानकारी गराउनुका साथै विपतको यो बेलामा सकारात्मक सोँचका साथ सहयोगमा जुट्नुपर्ने बताउनुभयो ।

Blog Post Ad

शिविरमा लैङ्गिक हिंसा, गर्भवती महिला, सुत्केरी, किशोरकिशोरीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि सेवा र परामर्श, यौन तथा एचआईभी एड्स सम्बन्धि परामर्शका साथै उपचार सेवा, परिवार नियोजन सेवा, पाठेघर मुखको क्यान्सरको स्क्रिनिङ सेवालगायत विभिन्न सेवाहरु शिविरबाट प्रदान गरिने खनालले जानकारी गराउनुभएको छ ।

शिविर भूकम्पबाट अति प्रभावित क्षेत्रहरु जाजरकोटको नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र कुशे गाउँपालिका तथा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका र सानिभेरी नगरपालिकामा बसोबास गर्दै आएका स्थानीयबासीहरुका लागि संचालन हुने शाखा प्रबन्धक खनालले बताउनुभयो । भूकम्प प्रभावित क्षेत्रका लक्षित समुदायलाई ४८ पटक शिविर आयोजना गरेर स्वास्थ्य सेवा प्रदान गर्ने गरी दाङबाट स्वास्थ्यकर्मीको टोली सो क्षेत्रमा पुगेको हो । पहिलो दिनको शिविरको औपचारिक कार्यक्रमको सहजीकरण भेरी नगरपालिकाका स्वास्थ्य संयोजक खेम पुनले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad