Ad Area

स्केटिङमा युवा क्रेज


नारायण खड्का
दाङ, १४ मंसिर । हेटौंडाका २६ वर्षीय सरोज तामाङ यही साताको मंगलवार बिहान १० बज्दै गर्दा दाङको घोराहीमा स्केटिङ गर्दै थिए । पेसाले निर्माण व्यवसायी सरोज फुर्सद मिलाएर यात्रामा निस्केका रहेछन् । घोराही उपमहानगरपालिका–१५ स्थित जनज्योति टोलको बाटो हुँदै जाँदा उनको नजर स्केटिङ खेलिरहेका युवाहरूमा प¥यो । उनले आफ्नो मोटरसाइकल रोके र खेलिरहेको ठाउँमा गए । हेटौंडामा हुँदा पनि उनी स्केटिङ गइरहन्थे ।

‘मलाई स्केटिङ रमाइलो लाग्छ । यसबाट शारीरिक व्यायाम पनि हुने भएकाले स्केटिङ खुब मन पर्छ’, उनी भन्छन्, ‘आजको फुर्सदको समय अब कसरी बिताउने भन्ने चिन्ता भएन ।’ घोराहीकै १४ वर्षीय मिलन केसी र १६ वर्षीय सनोज क्षत्री पनि स्केटिङमा रमाउँदै थिए । उनीहरू घोराहीकै स्कुलमा पढ्छन् । ‘फुर्सद मिलेका बेला स्केटिङ खेल्न यहाँ आउँछु । स्केटिङमा रमाउन पाएपछि म खुसी हुन्छ’, सनोज भन्छन्, ‘स्केटिङ खेल्दा शारीरिक व्यायाम हुन्छ । बाहिरको फाल्तु कुरामा ध्यान जाँदैन । मिलन पनि स्केटिङ खेलेर खुसी हुन्छन् । ‘स्केट जुत्ता लगाएर साथीहरूसँग सररर गुड्दा मन रमाउँछ’, मिलन भन्छन्, ‘युट्युबमा स्केटमा गुडेको भिडिओ देख्दा अचम्म लाग्थ्यो । अहिले आफैँ खेल्न पाउँदा खुसी लागेको छ ।’

मिलन र सनोज स्केटिङ खेल्न आएको दुई हप्ता भयो । स्कुल लागेका दिन मौका पारेर बिहान वा बेलुका खेल्छन् । उनीहरू स्केटिङ खेल्ने ठाउँ ‘घोराही स्केट पार्क’ हो । दाङमा यो पहिलो स्केट पार्क हो, जहाँ स्केटिङका पारखी र सिकारूहरू आउँछन् र स्केटिङ गर्छन् । घोराही स्केट पार्क घोराहीका किशोरकिशोरी र युवायुवतीको आकर्षणको थलो बनेको छ । शनिबार र सार्वजनिक बिदाको दिन पालो पाउनै मुस्किल हुन्छ । पार्क कार्यालयको विवरण अनुसार गत शनिबार (मंसिर ९ गते) मात्रै ६ सय जनाभन्दा धेरै स्केटिङ गर्न आएका थिए ।

एकै दिन धेरै जना आउँदा पालो पाउन लाइन लाग्नु परेको थियो । अन्य दिनमा पनि तीन सय जनासम्म हुन्छन् । प्रायः १० वर्षदेखि ३५ वर्षसम्मका व्यक्तिहरू स्केटिङका लागि आउने गरेका छन् । स्केट पार्क बिहान ६ बजेदेखि साँझसम्म खुला रहन्छ । दिउँसो करिब दुई बजेपछि पार्कमा भिड बढ्छ । चार बजेपछि स्कुले किशोरकिशोरी आउँछन् । एक घण्टा स्केटिङ खेल्न दुई सय रुपैयाँ र आधा घण्टा खेल्न साढे एक सय रुपैयाँ तिर्नु पर्छ । मासिक, पाक्षिक र साप्ताहिक शुल्क एकमुस्ट तिरेर खेल्न पनि पाइन्छ । एक महिनाको चार हजार दुई सय र १५ दिनको दुई हजार दुई सय रुपैयाँ लाग्छ । एक हप्ताको एक हजार एक सय रुपैयाँ तिर्नुपर्छ ।
घोराही स्केट पार्क घोराहीकै ३० वर्षीय युरेन्द्र बुढा मगर र चितवनको भरतपुरका ३३ वर्षीय ईश्वर थापा मगरले सहलगानीमा स्थापना गरेका हुन् । ईश्वरका अनुसार हालसम्म ८० लाख रुपैयाँ लगानी भएको छ । ईश्वरले ११ वर्ष दक्षिण कोरियामा काम गरे । उता बस्दा उनले पछिल्लो पाँच वर्ष स्केटिङ गरे । त्यहीँ स्केटिङमा रस भिज्यो । ‘कोरियामा हुँदा बिदाको दिन स्केटिङ गर्थें । अरू दिन पनि फुर्सद हुनासाथ स्केटिङ पुगिहाल्थेँ । खुब रमाइलो लाग्थ्यो’, उनले भने, ‘घर फर्केपछि त्यस्तै स्केटिङ पार्क खोल्ने सपना देखेको थिएँ । अहिले पूरा भयो ।’

स्केटिङ पार्क स्थापना गर्ने उपयुक्त ठाउँ खोज्दै धेरैतिर घुमे । व्यावसायिकताको सम्भावना अध्ययन गरे । उनले हाल अस्ट्रेलियामा रहेका साथी भिनुकुमार पुनलाई पनि आफ्नो योजना सुनाए, उनीसँग परामर्श गरे । उनीहरू स्कुल पढ्दाका मिल्ने साथी थिए । दुबै जनाका बुवा भारतीय सेनामा थिए । दुबै जनाले भारतीय स्कुलमै पढेका थिए ।

भिनकुमारले घोराही स्केटिङका लागि उपयुक्त ठाउँ हुन सक्छ भने । त्यहाँ गएर आफ्ना साला युरेन्द्रसँग सम्पर्क गर्न सल्लाह दिए। ईश्वरले युरेन्द्रलाई भेटेर कुरा गरे । पूर्वपरिचित नभए पनि भिनकुमारको समन्वयमा ईश्वरी र युरेन्द्र सहलगानीमा स्केट पार्क स्थापना गर्न सहमत भए । जग्गा खोज्ने काम गत जेठमा पूरा भयो । हालका लागि मासिक २८ हजार रुपैयाँ तिर्ने गरी जग्गा भाडामा लिए ।स्केट हल निर्माणको काम गत असारमा काम सुरू भयो । स्केटिङका लागि पाँच हजार ६०० वर्ग फिटको कोर्ट बनाएका छन् । कोर्टमा मार्बल बिछ्याएका छन् । स्केट जुत्ता सय जोर छन् । जुत्ता हङकङबाट मगाएका हुन् ।

Blog Post Ad

गएको दसैंको घटस्थापनका दिन (असोज २८ गते) पार्क उद्घाटन भयो । स्केट पार्क स्थापना भएपछि किशोरकिशोरी र युवायुवती आकर्षित भएका छन् । स्थानीय अभिभावकहरूले पनि खुसी प्रकट गरेका छन् । ‘स्कुलबाट आउनासाथ हातमा मोबाइल लिएर बस्ने मेरो छोरो आजकल स्केटिङ खेल्न जाने गरेको छ । म खुसी भएकी छु’, स्थानीयवासी रमा घर्ती भन्छिन्, ‘छोरो मोबाइलको कुलतमा पर्छ कि भन्ने ठूलो चिन्ता थियो ।

स्केटिङ जान थालेपछि ढुक्क भएकी छु ।’ ईश्वरीका अनुसार स्केटिङ गर्न शरीरको सन्तुलन मिलाउन सक्नु पर्छ । सन्तुलन मिलेन भने लडेर चोट लाग्ने सम्भावना हुन्छ । मोटो शरीर हुनेलाई स्केटिङ गर्न कठिन हुन्छ । रोजगारीका लागि विदेश बस्दा ईश्वरले सिकेको स्केटिङ खेल अहिले उनको व्यवसाय भएको छ । साथै दाङमा पहिलो व्यावसायिक स्केटिङ पार्क स्थापना गर्ने श्रेय पनि ईश्वर र युरेन्द्रको टिमले पाएको छ ।

Blog Post Ad Blog Post Ad