Ad Area

आर्थिक, सामाजिक विकासको मियो बन्दै ग्रामीण महिला उत्थान केन्द्र


घोराही, १६ मंसीर । विभिन्न कारणले देशको समग्र अवस्था पछि परेको बेलामा ग्रामीण महिला उत्थान केन्द्र स्थानीय स्तरमा सामाजिक, आर्थिक सशक्तीकरणको काममा निडर भई उतारचढावका बिच अघि बढेकाले संस्थामार्फत धेरैले जीवनमा सफलता पाउन सम्भव भएको वक्ताहरुले बताएका छन् ।

केन्द्रीय कार्यालय दाङको घोराहीमा रहेको ग्रामीण महिला उत्थान केन्द्रको २९औँ वार्षिक साधारण सभामा बोल्ने वक्ताहरुले सरकारले गर्ने कामलाई एउटा सामाजिक संस्थाले कटिवद्ध भई अनवरत रुपमा सफलताको यात्रा तय गर्न सक्नु आफैमा ठूलो सफलता भएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रगतिको कामना गर्नुभयो ।

संस्थाकी संस्थापक अध्यक्ष आशमानी चौधरीको अध्यक्षतामा शनिबार घोराहीमा भएको वार्षिक साधारण सभामा वक्ताहरुले तत्कालीन द्वन्द्वकालीन समयमा समाजका लागि केही गर्नुपर्छ भनेर स्थापित सामाजिक संस्थाले आफुलाई हजारौँको सपना पूरा गर्न खेलेको भुमिका जति प्रशंसा गरे पनि कम हुने भनाई थियो । कार्यक्रममा आर्थिक सबलीकरण, आत्मनिर्भरता, शिक्षा, स्वास्थ्य, कृषि, सचेतनालगायत क्षेत्रमा गरिएको प्रयासले अहिले धेरैले आफुलाई समाजमा उदाहरणीय रुपमा प्रस्तुत गर्न सकेको भन्दै संस्थागत अभियानलाई अझ उँचाईमा पुर्याउन अनुरोध गर्नुभएको थियो ।

आत्मनिर्भर र सशक्त समाजको निर्माण गर्ने लक्ष्यका साथ अघि बढेको ग्रामीण महिला उत्थान केन्द्रले प्रदान गर्दै आएको सेवाबाट लाभ लिनेहरु संस्थाको बलियो खम्बाका रुपमा रहेको संस्थाका संस्थापक सल्लाहकार सोगतबीर चौधरीले बताउनुभयो ।

Blog Post Ad

संस्था स्थापनाको सुरुवाती कालमा फलामको चिउरा चपाए जस्तै संघर्ष गर्नु परेपनि संस्थाको नीति, सिद्धान्त अनुसार अविचलित भई अथक रुपमा अघि बढ्दा अन्ततः सबैले विश्वास गर्ने संस्थाको रुपमा स्थापित भएको उहाँले बताउनुभयो । अहिले संस्थामा ५० हजार बढी सदस्य प्रत्यक्ष जोडिएको जानकारी गराउँदै उनीहरुका परिवारका सदस्यहरुले पनि लाभ लिन पाएको बताउनुभयो ।

सो अवसरमा संस्थाका सल्लाहकार रजनी श्रेष्ठले संस्थामा जोडिएर काम गरिरहेका महिला दिदीबहिनीहरुले गरिरहेको प्रगतिमा परिवारको साथ अपरिहार्य रहने हुँदा हौसला दिने काममा सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो । अवसर नपाएर पछि परेका दूरदराजका महिला महिलाहरुलाई आत्मविश्वास जगाउँदै बीउ पूँजीका रुपमा आर्थिक सहायता दिएर उदाहरणीय काम गरेर देखाउन सक्ने बताउने काम ग्रामीण महिला उत्थान केन्द्रले गरेको बताउनुभयो । संस्थाले आर्थिक सशक्तीकरणसँगै सुशासन, सामाजिक न्याय, क्षेत्रमा सशक्त भुमिका खेलेको भन्दै सरकारलाई जवाफदेही र उत्तरदायी बनाउनसमेत दवाव दिदै आएको बताउनुभयो ।

संस्थाका कार्यक्रम अधिकृत एचबी थापाले रोजगारी सिर्जना गर्ने र आत्मनिर्भरको भुमिका खेल्ने काम, शिक्षामा योगदान निकै सराहनीय रहेको बताउनुभयो । वित्तीय साक्षरतासँगै लगानी गरेर आत्मनिर्भर र सचेतना प्रदान गर्दै गरिबी निवारणमा खेलेको भुमिका सराहनीय भएको र सामाजिक उत्तरदायित्वको दायरा अझ बढाएर सबैका साझा संस्थाका रुपमा उभ्याउन अपिल गर्नुभयो ।

कार्यक्रममा संस्थामा सदस्य जीवसरा घर्ती, सन्चु चौधरीलगायतले संस्थाको स्थापनाकालदेखि वर्तमान अवस्थाको उतारचढावका बारेमा चर्चा गर्दै आगामी दिनमा सेवा र सचेतनाको दायरा अझ बिस्तार गर्न अपिल गर्नुभयोे ।

संस्थाले आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य, जलवायू परिवर्तन, आर्थिक जिविकोपार्जन लगायतको विभिन्न क्षेत्रमा काम गर्दै आईरहेको छ । ग्रामीण महिला उत्थान केन्द्रले आत्मनिर्भर लघुवित्त वित्तीय संस्थामार्फत वित्तीय सेवा दिँदै आएको छ । यस्तै, संस्थाले स्थापना गरेको सुनिता ट्रष्ट फाउन्डेसनले पनि विपन्न परिवारका बालबालिकाको शिक्षा र स्वास्थ्यमा लगानी गर्दै आएको छ भने उनीहरुका अभिभावकहरुलाई उद्यममा लाग्न हौसला प्रदान गर्दै आएको छ ।

दाङ, बाँके, बर्दिया, प्यूठान, सल्यान र कपिलवस्तु कार्य क्षेत्र रहेको ग्रामीण महिला उत्थान केन्द्रको वार्षिक साधारण सभाले वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रस्तावित योजना र आगामी रणनीति पनि पारित गरेको छ । करीव ३ दशकको बीचमा संस्थाले हजारौँ घरका लाखौँ परिवारमा सेवा पुर्याउँदै योगदान दिईरहेको छ । आत्मनिर्भर लघुवित्तमार्फत सशक्त रुपमा वित्तीय क्षेत्रमा सेवा प्रदान गर्दै सरकारलाई दाङमै सबैभन्दा धेरै कर तिर्ने संस्थाका रुपमा स्थापित हुन सफल भएको छ । उद्यमशीलताका क्षेत्रमा काम गर्दै स्वदेशमै रोजगोरी सिर्जना गरेर वैदेशिक रोजगारीमा जानैपर्ने बाध्यता न्यूनीकरणमा सचेत टेवा पुर्याउँदै आएको संस्थाले दावी गरेको छ ।

कार्यक्रममा संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष मीरा चौधरीले, वार्षिक प्रगति विवरण सचिव बसन्ता पुनले तथा आगामी कार्ययोजना अध्यक्ष आसमानी चौधरीले प्रस्तुत गर्नुभएको थियो । संस्थाकी संचालक समिति सदस्य नीमा गिरीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण सहसचिव सरीता चौधरीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad