Ad Area

दाङ भ्याकेशन लिगमा देउखुरी वारियर्स ७५ रनले विजयी


घोराही, १६ मंसीर । नेवा सप्लायर्स दाङ भ्याकेशन लिग २०८० को दोश्रो खेलमा देउखुरी वारियर्सले ७५ रनको सहज जीत निकालेको छ । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा शनिबार घोराही १७ स्थित गुलरिया क्रिकेट रंगशालामा भएको खेलमा देउखुरी वारियर्सले इजाइन क्रिकेट क्लवलाई ७५ रनले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको देउखुरी वारियर्सले ४५ ओभरमा अलआउट हुँदै सम्मानजनक २ सय ८ रनको योगफल जोडेको थियो । पहिलो पावर प्लेमा बिना विकेटको क्षतिमा निकै राम्रो खेलेको देउखुरी वारियर्सले १४ औँ ओभरमा पहिलो विकेट गुमाउँदा ६० रन बनाएको थियो । ५९ रन अतिरिक्त पाएको देउखुरीका लागि सुरज खनालले ४७, एलेक्स केसीले २४, कपुर नाथले १७, समीप पौडेलले १६, सूर्य थापाले १४ रन बनाए । यसैगरी, अर्जुनबस्नेतले ८, सुभम खनालले ७, चन्द्र थापाले अविजित ६ रन बनाउँदा राजकुमार कुमालले ४, अविनाश अधिकारीले ३ र अभिषेक केसीले टीमका लागि २ रनको योगदान दिए ।
इजाइन क्रिकेट क्लवका लेखराज पुनले ८ ओभर गर्दै ३१ रन दिएर महत्वपूर्ण ४ विकेट लिए । यसैगरी, हेमराज सापकोटा, बिराट भण्डारी र भरत झाँक्रीले समान २–२ विकेट लिए ।
२ सय ९ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको इजाइनले पनि पहिलो पावर प्ले बिना विकेटको क्षतिमा राम्रो खेल्दै जीतको सम्भावना बढाएपनि निरन्तरता दिन नसक्दा हार व्यहोर्ने पुग्यो । पहिलो विकेटका रुपमा १३औँ ओभरमा शुरुवाती ब्याटर गुमाउँदा ६३ रन बनाएको इजाईनका लागि खेलाडीले विकेट बचाएर खेल्न नसक्दा १ सय ३३ रनमै समेटिन पुग्यो । इजानका लागि विशाल डिसीले ३६, विराट भण्डारीले २४, हेमन्त सापकोटाले १५, भरत झाँक्री र अमृत घर्तीले समान ११–११, जेनीश गिरीले ६, जोन वलीले ४ रन बनाउनु बाहेक अरु खेलाडीले खाता नै खोल्न सकेनन् ।
अतिरिक्त २६ रन पाएको इजाइनले ३०औँ ओभरमा ७ विकेटको क्षतिमा १ सय ३३ रन बनाएर खेली रहेको बेलामा त्यसपछि एक रन पनि बनाउन नसकेर अलआउट हुन पुग्यो । ३० दशमलव २ ओभरमा अभिषेक केसीको कसिलो बलिङमा मदन घर्ती शुन्य रनमा बोल्ड आउट भएलगत्तै सोही ओभरको तेश्रो बलमा अब्दुर रकिब पनि बोल्ड हुँदै पेभेलियन फर्किए । ह्याट्रिकको मौका पाएका अभिषेकले गरेको चौथो बल डट हुन पुग्यो । तर, पाँचौ बलमा सक्षम शर्मालाई आउट गरेपछि देउखुरी वारियर्सले नेवा सप्लायर्स दाङ भ्याकेशन लिग २०८० को दोश्रो खेलमा जीत आफ्नो पक्षमा पार्न सफल भयो । देउखुरीका लागि ६ दशमलव ५ ओभर बलिङ गरेर १ मेडन सहित २३ रन खर्चेर महत्वपूर्ण ५ विकेट लिएका अभिषेक केसी प्लेयर अफ द म्याच भएको क्रिकेट संघका सचिव सन्जु केसीले जानकारी दिए । । यसैगरी, राजकुमार कुमालले २ विकेट लिँदा अर्जुन बस्नेत र सुर्य थापाले समान १–१ विकेट लिए ।

यसअघि मंसीर ९ गते लिगको उदघाटन खेलमा युएनबीसी क्रिकेट क्लवलाई पाँच विकेटले हराउँदै घोराही क्रिकेट एकेडेमीले विजयी हासिल गरेको थियो । होम एण्ड अवेका आधारमा खेलाईने लिगको अर्को खेल शनिबार पुरन्धारा क्रिकेट क्लव र इन्द्रेणी क्रिकेट क्लवबीच खेल हुने भएको छ । जिल्लाको घोराही, लमही र बबईमा लिग खेलाउने गरी प्रतियोगिताको थालनी गरिएको छ । जिल्लाभरका ९ वटा टिमको सहगाभीता रहेको लिगका खेलहरु आगामी ७ महिनासम्म हरेक शनिबार हुनेछन् । लिगमा विभिन्न उमेर समुहका खेलाडीलाई समावेश गरी खेलाउन काम भईरहेको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad