Ad Area

अपाङ्गताहरुको गुनासो– ‘सार्वजनिक सेवा लिन निकै गाह्रो ’


घोराही, १७ मंसीर । घोराही उपमहानगरपालिका वडा नम्बर १५ काठेकोलमा बस्दै आउनुभएका महाबीर रोका अपाङ्गता भएको व्यक्ति हुनुहुन्छ । एक्लो जीवनयापन गर्दै आउनुभएका महाबीरलाई दिनभर ह्विलचियरमा बसेर घोराही बजारमा डुल्नु हुन्छ । शुभेच्छुकबाट संकलन भएको सहयोगले गुजारा चलाउने गर्नुहुन्छ ।
‘ अपाङ्ग भएर जीवन चलाउन निकै गाह्रो छ । बाहिर देख्दा भन्दा व्यहारमा यसरी बाँच्नुपर्दा निकै गाह्रो भईरहेको छ’, उहाँले भन्नुभयो ‘केही सहयोग मागौँ भने माग्दा पनि सुनुवाई हुदैन । मैले पोखराबाट ल्याएको १५ वर्षअघिको यही ह्विलचियर बिग्रिएर अर्को व्यवस्था गरिदिनुस् भन्दा त पाएको छैन । नट फुस्केर पटक पटक हैरानी बनाउने गरेको छ ।’


सार्वजनिक सेवा र पूर्वाधारहरु अपांगता मैत्री नभएको उहाँको गुनासो छ । ‘बाटो काट्न निकै समस्या पर्ने गरेको छ । यसमा धेरै कुराको सुधारको खाँचो छ’ उहाँले भन्नुभयो ‘ अपाङ्गमैत्री बाटो नहुँदा ह्विलचियरमा बसेर हिँडडुल गर्ने सकस हुन्छ । कतिपयले त हामीहरुको समस्या समेत बुझ्दैनन् ।’

घोराही १७ भैँसाहीका मुक्तिप्रसाद पोख्रेल पेशाले मावि तहको नेपाली विषयको शिक्षक हुनुहुन्छ । दुर्घटनाका कारण अपाङ्ग हुनुभएका उहाँलाई पनि विद्यमान अवस्थामा रहेका धेरै कुरा अपाङ्गमैत्री बन्न नसकेको प्रति चित्त दुखाई छ ।
‘ऐन नियम बनेपनि वास्तविकले यसको उपयोग गर्न पाएका छैनन्’ उहाँले भन्नुभयो ‘ऐन, नियममा त सबै कुरा छ तर व्यहारमा केही हुन सकेको छैन । आफुलाई नपर्दासम्म अपांगताहरुको मर्मबोध कसले पो गथ्र्यौ र ।’


घोराही उपमहानगरपालिका १६ सर्राकी बबिता बस्नेत बहिरा अपाङ्ग हुनुहुन्छ । कामका लागि बजार हिँडडुल गरिरहनुपर्छ । तर बजारमा सडक अपाङ्गमैत्री नहुँदा धेरै दुःख पाउनु परेको उहाँको अनुभव छ ।

‘बजारमा बनेका पूर्वाधारहरु अपाङ्गतामैत्री छैनन्, हिँडडुल गर्न निकै समस्या हुन्छ’, उहाँले भन्नुभयो ‘ह्वीलचियरमा हिड्ने अपाङ्ग  र  दृष्टिविहिनहरुलाई तँ ढुंगामा कति हो कति ठेस लाग्छ ।  कहिले काँही त खाडलमा परेर लड्दै हिड्नुपर्ने बाध्यता छ ।’

समयमै सडक निर्माणसँगै सफा राख्न सरोकार निकायले ध्यान दिनुपर्ने उहाँको सुझाव छ  । सडकसँगै अरु पूर्वाधारहरु बनाउँदा अपाङ्गमैत्रीसंरचना बन्न नसकेको उहाँको भनाई छ । सरकारीसँगै निजी कार्यालय, विद्यालय, सौँचालयलगायत संचरना बनाउँदा अपाङ्गमैत्री बनाउन ध्यान नदिदा धेरै समस्या खेप्नु परिरहेको बबिताले बताउनुभयो ।

घोराही उपमहानगरपालिका  १० नाराणपुरका गोविन्द रिजालले अपाङ्गताले प्रयोग गर्ने सामग्री गुणस्तरहिन हुँदा समस्या भएको बताउनुभयो ।  ‘हाम्रो हिँड्डुल गर्ने सहारा भनेकै बैशाखी र ह्वीलचियर हो  । यही सामग्री पनि गुणस्तरहिन आउन थाले’, गोविन्दले भन्नुभयो ‘ह्विलचियर बिग्रयो भने हामीहरुसँग पटक पटक किन्ने पैसा हुँदैन । त्यसैले सरकारले नै राम्रो र बलिया बैशाखी र ह्वीलचियर किनेर दिन सके राम्रो हुने थियो ।’
घोराही १५ की मिना नेपाली बहिरा हुनुहुन्छ । उहाँले अरुले बोलेको सुन्नुहुन्छ । आफुले संकेतको आधारमा भनेको कुरा पनि अरुले बुझ्दैनन् । सरकारी कार्यालयमा गएर आफ्नो कुरा राख्दा कर्मचारीले नबुझेर धेरै पटक दुख पाएको उहाँ बताउनुहुन्छ । ‘मेरा श्रीमानको समस्या लिएर पालिका धाएँ, प्रहरी कार्यालय पुगेँ । प्रहरी, कर्मचारीहरुको कुरा मैले नबुझ्ने अनि मैले भनेको कुरा उहाँहरुले नबुझ्ने समस्याले हैरानी बनायौँ’, सांकेतिक भाषामा मिनाले भन्नुभयो ‘सरकारी कार्यालयमा  दोभाषेको व्यवस्था भई दिएको भए कति राम्रो हुन्थ्यो तर हुन सकेको छैन । हामीलाई निकै समस्या हुने गरेको छ ।’

Blog Post Ad

सरकारी सेवा लिन दृष्टिविहीनहरुलाई पनि समस्या उस्तै छ । अपाङ्गता भएका व्यक्तिहरुले बारम्बार समस्या भोग्नु परिरहेको छ । अपाङ्गतामैत्री भौतिक संरचना, सडक निर्माणसँगै गुणस्तरीय सेवा पाउन सके धेरै सहजता हुने उनीहरु बताउँछन् ।

३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आईतबार घोराहीमा भएको कार्यक्रममा अपाङ्गताका क्षेत्रमा क्रियाशील कार्यालय, संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाहरुले राज्यका तीनै तहका निकायले गम्भीरतापूर्वक प्राथमिकतामा राखेर काम गरेमा अपाङ्गता भएका व्यक्तिहरुलाई पटक पटक दुख सहनु नपर्ने बताएका छन् ।

संविधानले अपाङ्गता भएका व्यक्तिलाई अधिकारमैत्री बनाएपनि व्यवहारमा लागु नभएको भन्दै उनीहरुले राज्यले दिएका सेवा सुविधाहरु पाउने अवस्थाको सिर्जना गर्न सवै लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

घोराही उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा नगर स्तरीय अपाङ्ग समन्वय समितिको मूल आयोजनामा भएको कार्यक्रममा वक्ताहरुले स्थानीय तहले प्राथमिकताका साथ बजेट बिनियोजन गर्नुपर्ने, यातायातका साधारणमा अपागका लागि छुट्याएको आरक्षण कार्यान्वयन गर्नुपर्नेलगायतका कुरामा जोड दिनुभयो ।

नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र दाङ  शाखा अध्यक्ष रुपा वलीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गर्न तयार रहेको बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरुलाई सिपका माध्यमबाट आयआर्जनमा जाड्दै खुसी र सहजता जीवनयापनका लागि सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख हुमा डिसीले सामाजिक विकासका क्षेत्र र अपाङ्गताका क्षेत्रमा राज्यको लगानी अपेक्षा गरिए अनुसार हुन नसकेको बताउनुभयो ।   नेपाल खगेन्द्र नवजीवन केन्द्रका केन्द्रीय उपाध्यक्ष शरद अधिकारीले सर्वाजनिक सेवा प्रदान गर्ने  हरेक निकाय अपाङ्गतामैत्री हुनुको विकल्प नरहेको बताउनुभयो । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले समाजका अभिन्न अंगका रुपमा रहेका अपाङ्गता भएकाहरुको हक, अधिकारका सवालमा राज्यले विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी शाखा अधिकृत रमिला गौतमले अपाङ्गता भएकाहरुको स्वास्थ्य सेवा र सुविधाका सवालमा स्थानीय सरकारसँग समन्वय गरेर काम गर्दै आएको बताउनुभयो ।
बहिरा उत्थान समाज दाङकी अध्यक्ष रिता चौधरीले बहिराहरुको समस्याका बारेमा स्थानीय सरकार थप गम्भीर बन्नुपर्ने बताउनुभयो ।  मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका सल्लाहकार श्रीमन न्यौपाने, नेपाल शिक्षक महासंघका घोराही अध्यक्ष निशान्त आचार्यलगायतले पनि अपाङ्गताका क्षेत्रमा भईरहेका कामलाई थप प्रभावकारी बनाउन आग्रह गर्नुभएको थियो ।

यसैबीच, अपाङ्गता भएकाहरुको हक अधिकार स्थापित गर्न पत्रकारिताका माध्यमबाट योगदान गरेको भन्दै नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी शाखा दाङले नयाँ युगबोध दैनिकमा कार्यरत पत्रकार जेएन सागरलाई पुरस्कृत गरेको छ । संस्थाले हरेक वर्ष अपांगताका क्षेत्रमा कलम चलाउने पत्रकारलाई नगद र प्रमाण पत्रसहित सम्मान गर्दै आएको छ ।
अपाङ्ग मानव अधिकार सरोकार मन्चका अध्यक्ष जीवी चिन्तनको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण विवेक खड्काले गर्नुभएकोे थियो ।

Blog Post Ad Blog Post Ad