Ad Area

सार्वजनिक यातायातलाई अपाङ्गतामैत्री बनाउन स्टीकर टाँस


घोराही, १७ मंसीर । सार्वजनिक सेवा प्रवाह गर्ने हरेक निकायले अपाङ्गता भएकाहरुको समावेशी पहुँचमा ध्यान दिन अपिल गरेका छन् । ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस २०८० को अवसरमा आईतबार घोराहीमा प्रभातफेरीपछि आयोजित कोणसभामा बोल्ने वक्ताहरुले अपाङ्गता भएका व्यक्तिहरुको समावेशी अधिकार स्थापित गर्दै सबै प्रकारका सार्वजनिक सेवालाई अपाङ्गतामैत्री बनाउन ध्यानाकर्षण गराएका हुन् ।

कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले अहिलेसम्म भनाई र गराईमा एकरुपता नहुँदा अपाङ्गता भएका व्यक्तिहरुले सार्वजनिक सेवा लिँदा अझै पनि धेरै सास्ती खेप्नु परिरहेको बताउनुभयो । अपाङ्गतामैत्री वातावरण बनाउनु हरेक नागरिक र निकायको कर्तव्य रहेको बताउँदै उहाँले अबका दिनमा कुनै पनि  अशक्त, असहाय व्यक्तिले सार्वजनिक सेवा लिँदा गुनासोरहित बनाउन अपिल गर्नुभयो ।

घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीले अपाङ्गता भएका व्यक्तिहरुको सवालमा राज्यले सहानुभूति देखाउनुभन्दा अवसर सिर्जना गरेर समावेशी भुमिकामा उभ्याउन जरुरी रहेको बताउनुभयो । सँधैभरी मागी खाने नभई गरि खाने बनाउन राज्यका सबै निकायले अपाङ्गता भएकाहरुलाई सीप, क्षमताको विकाससँगै अवसर सिर्जनामा ध्यान दिनुपर्ने बेला भएको बताउनुभयो ।
कार्यक्रममा घोराही १४ स्थित जेष्ठ नागरिक दिवा सेवा केन्द्रका चित्रकान्त आचार्य,बसपार्क सरसफाई निरिक्षक हर्कबहादुर वली, डा. लोकराज पराजुलीलगायतले सार्वजनिक यातायात सेवालाई अपाङ्गतामैत्री, जेष्ठ नागरिकमैत्री बनाउन अपिल गर्नुभएको थियो ।

घोराहीको नयाँ बसपार्कमा आयोजित कार्यक्रममा जिल्लामा संचालित सार्वजनिक यातायातलाई पूर्ण अपाङ्गतामैत्री बनाउन ध्यानाकर्षण समेत गराईएको छ । हरेक सार्वजनिक यातायातका साधनलाई अपाङ्गतामैत्री बनाउन यातायात व्यवसायी, कर्मचारी, प्रहरी, प्रशासनलगायत सरोकार निकायले गम्भीरतापूर्वक कार्यान्वयनमा लाग्ने प्रतिवद्धता जनाएका छन् ।

बसपार्कमा आयोजित कोणसभा अघि जिल्ला स्थित अपाङ्गताका क्षेत्रमा क्रियाशील संघसंस्था, टोल विकास संस्था, स्थानीय पालिकालगायतको सहभागीतामा जिल्ला प्रशासन कार्यालयबाट प्रभातफेरी निकालिएको थियो । उक्त र्याली बजार परिक्रमा गरि नयाँ बसपार्क पुगेर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रम पश्चात् बसपार्कमा रहेका बसहरुमा अपाङ्ग, अशक्त, जेष्ठ नागरिक, महिला र बालबालिकालाई सम्मानपूर्वक व्यवहार गर्न र सार्वजनिक यातायातमा आरक्षरणको पूर्ण पालना गर्न अपिलसहित सचेतनामुलक ५ हजार स्टीकर टाँसिएको थियो ।

Blog Post Ad Blog Post Ad