Ad Area

कटुवा खोलादेखि तुलसीपुर चोकसम्मको सडक मर्मतको माग


घोराही,१८ मंसिर । घोराहीको कटुवा खोलादेखि तुलसीपुर जाने चोकसम्मको सडक लामो समयदेखि मर्मतको काम हुन नसकेको भन्दै चाँडो काम गर्न दवाव दिँदै स्थानीयले सडक डिभिजन कार्यालय घोराहीलाई ज्ञापनपत्र बुझाएका छन् ।

यसअघि पनि सडक कार्यालयमा प्रमुखलाई भेट गरी समस्याको बारेमा जानकारी गराउँदा ट्राफिक कार्यालय अगाडि केही भाग मर्मत गरिएपनि काम गर्दागर्दै निर्माण व्यवसायीले अलपत्र पारेर छाड्दा सडक अस्तव्यस्त भएको भन्दै चाँडो मर्मतको काम अघि बढाउन माग गर्दै आज ज्ञापन पत्र बुझाईएको हो ।

घोराही १४ स्थित सिद्धार्थ गौतमनगर टोल विकास संस्था, बयलडाँडा चौतारी क्लबको नेतृत्वमा गएको दबाव समूहले सडक डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीलाई भेटगरी समस्याका बारेमा जानकारी गराउँदै सडक मर्मतको काम अबिलम्ब गर्न माग गर्दै काम नभए कडा संघर्षका कार्यक्रम गर्ने चेतावनीसमेत दिएको छ ।

बयलडाँडा चौतारी क्लबका अध्यक्ष तथा स्थानीय अगुवा नारायणप्रसाद भुसालले सडक निर्माण अलपत्र भएका कारण खाल्डाखुल्डीका कारण नागरिकले सास्ती खेप्नु परिरहेकोदेखि धुलोले नागरिकलाई स्वास्थ्यमा गम्भीर असर गरिरहेको हुँदा काम सम्पन्न नगरे सडक बन्ददेखि सम्बन्धित निकायमा उजुरी दिनेसमेत चेतावनीसहित ज्ञानप पत्र बुझाईएको बताउनुभयो ।

सिद्धार्थ गौतमनगर टोलका अध्यक्ष चित्रकान्त आचार्यले यसअघि पनि स्थानीयको पटक–पटक दबाव पछि केही काम भएपनि अहिले फेरी काम अलपत्र पारेको भन्दै ध्यानाकर्षण गराउनु परेको बताउनुभयो । ट्राफिक चोक सधैँको घुलाम्य हुँदा स्थानीयलाई बस्ने, व्यवसाय गर्ने वातावरण नभएकाले नागरिकको स्वास्थ्यमा खेलवाड नगर्न पनि सचेत गराइएको छ ।

ज्ञापन पत्र बुझ्दै सडक डिभिजन प्रमुख अधिकारीले सो सडक खण्डको सडक मर्मतको कामका बारेमा आफुले पनि कार्यालयको तर्फबाट बारम्बार तोकता गरिरहेको बताउँदै स्थानीय नागरिकले उठाएका जायज मागलाई चाँडो सम्बोधन गर्ने गरी आवश्यक प्रकृया अघि बढाउने बताउनुभयो । सडक मर्मतको सबै काम पुसको दोश्रो सातासम्म सम्पन्न गर्ने गरी निर्माण व्यवसायीलाई अन्तिम पटक ताकेता गर्ने पनि उहाँको भनाई छ ।

Blog Post Ad

यसअघि गत फागुनमा पनि स्थानीयले सडक मर्मत हुनुपर्ने माग गर्दै चर्को आवाजसहित सडक कार्यालयमा तालाबन्दीदेखि सडक बन्दको काम गरेपछि निर्माण व्यवसायीले सामान्य टालटुलको काम गरेको थियो ।

कटुवा खोलादेखि तुलसीपुर चोकसम्मको सडक खण्ड सडक डिभिजन मातहत रहेको छ । सडक डिभिजन कार्यालय दाङले २०७१ भदौ ११ गते कान्छाराम÷शंकरमालीसँग ठेक्का सम्झौता गरेको कटुवाखोला तुलसीपुरचोक घोराही सडकको ८० प्रतिशत भौतिक प्रगति भएर पनि काम नसकेपछि अलपत्र अवस्था छ । ११ करोड ६४ लाख १२ हजार छ सय ५३ रुपैयाँमा उक्त ठेक्का सम्झौता गरेको कान्छाराम÷शंकरमालीले सात करोड ६० लाख ९१ हजार नौ सय २३ रुपैयाँ लगिसकेको सरकारी रेकर्ड छ ।

२०७२ असोज ३० गते सम्पन्न भइसक्नुपर्ने उक्त आयोजना अलपत्र परिरहेपछि चौतर्फी दबाबपछि ट्राफिक चोकमा ढलानको काम गरे पनि अहिलेसम्म सडक डिभिजन अगाडि भरतपुर जाने उकालोको ढलान नै भएको छैन भने बिग्रेको सडक पनि नबन्दा बर्खामा हिलो र सुख्खा मौसममा धुलो उड्ने भएको छ ।

Blog Post Ad Blog Post Ad