Ad Area

प्रदेश स्तरीय महिला क्रिकेट छनोटमा दाङ र नवलपरासीको विजयी शुरुवात


घोराही, २५ मंसीर । पुस पहिलो साता हुने प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिता २०८० का लागि लुम्बिनी प्रदेश स्तरीय क्रिकेट छनोट प्रतियोगितामा दाङ र नवलपरासीले विजयी शुरुवात गरेका छन् ।

दाङको घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा शुरु भएको छनोट प्रतियोगितमा सोमबार भएको उदघाटन खेलमा दाङले बर्दिया सामु २ सय ३१ रनको फराकिलो जीत निकालेको छ भने दिउँसो भएको दोश्रो खेलमा नवलपरासीले पाल्पालाई १ सय ४४ रनले सहजै पराजित गरेको छ ।

उदघाटन खेलमा दाङले टस जितेर पहिले बिस्फोट ब्याटिङ गर्दै २ सय ७१ रन बनायो । दाङका लागि उच्च योगफल बनाउन ओपनिङ ब्याटर लक्ष्मी चौधरी र कमला जिएमले १ सय ८५ रनको ऐतिहासिक साझेदारी गर्नुभयो । लक्ष्मीले ८१, कमलाले ५१ रन बनाउनुभयो । दाङकी कप्तान सरस्वती जिएमले अविजित ३५ र मधु डिसीले पनि २७ रन जोड्दा पुरै ओभर खेलेर २ सय ७१ रनको विशाल योगफल बन्यो ।

चौधौँ ओभरको पहिलो बल ४६ बलमा ८१ रन बनाएर खेली रहेका बेलामा लक्ष्मीलाई बर्दियाकी बिमला मगरको बलमा बोल्ड आउट गर्दा पन्धौँ ओभरको पाँचौँ बलमा ४१ बलमा ५१ रनमा कमलालाई दीपा कुँवरले बोल्ड आउट गर्नुभयो । दुई विकेट लिनुबाहेक बर्दिया टीमले सम्झन लायक बलिङ गर्न सकेन ।

२ सय ७२ रनको विशाल लक्ष्य पछ्याउन मैदान उत्रिएको बर्दिया १७औँ ओभरमा अलआउट हुँदै केवल ४० रनमै समेटियो । पहिलो ओभरको तेश्रो बलबाट विकेट पतन हुन शुरु गरेको बर्दियाले क्रिजमा टिकेर खेल्न सकेन । बर्दियाका कुनै पनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

Blog Post Ad

सहज जीत निकालेको दाङका लागि मधु डिसीले ३, कमला जिएम र अनिता चौधरीले समान २–२ विकेट लिँदा श्रीसा चौधरीले १ विकेट लिनुभयो । प्रतियोगितामा उत्कृष्ट पारी खेल्नुभएकी लक्ष्मी चौधरीलाई नवलपरासी क्रिकेट संघका अध्यक्ष कृष्ण श्रेष्ठले म्यान अफ द म्याच प्रदान गर्नुभयो ।

यसैगरी, दिउँसो पाल्पा र नवलपरासी बीच भएको अर्को खेलमा पनि टस जितेर पहिले ब्याटिङ गरेको नवलपरासीले ३ विकेटको क्षतिमा १ सय ६४ रनको योगफल बनाएको थियो । नवलपरासीका लागि कप्तान सस्वती पुनले अविजित ३५ रन बनाउँदा साक्षी भण्डारीले २१, बन्दना जैसवालले ९, सरीता शाहीले १३ रनको योगदान दिनुभयो । पाल्पाका लागि सुमिना गाहाले १ विकेट लिनु बाहेक २ खेलाडी रनआउट भएका थिए ।

१ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको पाल्पा शुरुवाती ओभरबाट दबावमा परेपछि लगातार विकेट गुमाउँदै केवल २० रनमा समेटियो । पाल्पाका लागि मिना थापा र गुन्जन थापाले ४–४ रन बनाउनु बाहेक अरु खेलाडीले खाता नै खोल्न सकेनन् । पाल्पालाई सस्तैमा समेटन् नवलपरासीकी कप्तान सरस्वती जिएमले ३ ओभर बल गर्दै २ मेडनका साथ केवल ४ रन दिएर ह्याट्रिकसहित ४ विकेट लिनुभयो । बन्दना बिकले ३ र कृष्णा खनालले १ विकेट लिनुभयो ।

अनुभवी खेलाडीले भरिएको नवलपरासीलाई सहज जीत दिलाउन कप्तानी भूमिका निर्वाह गर्नुभएकी सरस्वती पुनलाई लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव एवम् प्रतियोगिता खेलाडी छनोट समिति संयोजक कैलाश रोका मगरले म्यान अफ द म्याच प्रदान गर्नुभयो ।

प्रतियोगिता अन्तरगत अब मंगलबार बिहान पाल्पा र बाँके तथा दिउँसो बर्दिया र रुपन्देही बीच खेल हुने छनोट प्रतियोगिता संयोजक विशेष अधिकारीले जानकारी दिनुभयो ।

आगामी पुस पहिलो सातादेखि त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताका लागि प्रदेशबाट खेलाडी छनौट गर्न लुम्बिनीका ६ जिल्लाका महिला खेलाडीको खेल आयोजना गरिएको छनोट प्रतियोगिता संयोजक अधिकारीले बताउनुभयो ।

दाङ जिल्ला क्रिकेट संघको आयोजना मंसीर २९ गतेसम्म छनोट खेल हुने छ । दुई समुहमा विभाजन गरिएको छनोट प्रतियोगितामा पोल ए मा दाङ, रुपन्देही र बर्दिया रहेका छन् भने पोल बी मा बाँके, नवलपरासी र पाल्पा रहेका छन् । राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि खेलाडीको खेल प्रदर्शनको आधारमा लुम्बिनी प्रदेश महिला क्रिकेट टिम तयार गरिने भएको लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव रोका मगरले जानकारी दिनुभयो ।

खेल क्षेत्रबाट भविष्य बन्छ–नगरप्रमुख चौधरी

प्रतियोगिताको उद्घाटन गर्दै घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले व्यक्तिगतसँगै देशको प्रतिष्ठानसँग जोडिएको क्रिकेट खेल खेल्न महिला खेलाडीहरु अघि बढ्नुपर्ने बताउनुभयो । राम्रो क्षमता प्रदर्शन गर्ने खेलाडीले खेलकुदका क्षेत्रमा मान सम्मानसँगै आम्दानी समेत गर्ने भन्दै नगर प्रमुख चौधरीले छोरी मान्छेहरु साहस र हिम्मतका साथ खेलमा लाग्न आग्रह गर्नुभयो ।

दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाको अध्यक्षतामा भएको उदघाटन कार्यक्रमका प्रमुख अतिथि चौधरीले पछिल्लो समय नेपाली क्रिकेट खेलको महत्व देशसँगै विदेशसम्म बिस्तार हुँदै गएकाले राज्यले पनि यसमा लगानी बढाउँदै लगेको हुँदा खेलाडीलाई खेल्ने वातावरण बन्दै गएको बताउनुभयो । ‘यस्तो महत्वपूर्ण खेलमा खेल्न पाउनु महिला खेलाडीका लागि राम्रो अवसर हो, त्यसैले राम्रो क्षमता प्रदर्शन गरेर अघि बढ्न आग्रह गर्दछु’ उहाँले भन्नुभयो । नगर प्रमुख चौधरीले पालिकामा खेलकुद विकास समिति गठन गरेपछि घोराहीमा खेलकुदका प्रतियोगिताहरु नियमित रुपमा हुन थालेको बताउनुभयो । खेलाडीहरुको क्षमता विकाससँगै क्रमशः पूर्वाधार निर्माण गर्ने काम अघि बढाईएको बताउनुभयो ।

छनौट प्रतियोगितामा खेलाडीहरुले गरेको क्षमता प्रदर्शनका आधारमा प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताका लागि प्रदेशस्तरय टिम निर्माण गरिने लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोकामगरले बताउनुभयो ।

सहभागीलाई सल्लाहकार सबिन प्रियासनले धन्यवाद ज्ञापन गर्दै खेलकुदको हबका रुपमा पालिकाले पछिल्लो समय गर्दै आएको अभियानमा यस प्रकारका प्रतियोगिताले थप हौसला दिने बताउनुभयो । लुम्बिनी क्रिकेट संघका सचिव कैलाश रोका मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव सन्जु केसीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad