Ad Area

दाङ भ्याकेशन लिगमा डाँफे र पुरन्धारा विजयी 


घोराही, २३ मंसीर । नेवा सप्लायर्स दाङ भ्याकेशन लिगमा डाँफे युवा क्लब र पुरन्धारा क्रिकेट क्लव विजयी भएका छन् । शनिबार चन्द्रज्योति क्रिकेट क्लब र डाँफे युवा क्लव बीच भएको खेलमा डाँफे क्लव ४ विकेटले विजयी भएको हो भने पुरन्धारा क्रिकेट क्लब र इन्द्रेणी क्रिकेट क्लव बीच भएको खेलमा पुरन्धारा क्रिकेट क्लब ६८ रनले विजयी भएको छ  ।

लिग चरण अन्तरगत शनिबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चन्द्रज्योति क्रिकेट क्लब ३१ ओभरमा सबै विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो । चन्द्रज्योतिका लागि ध्रुवबहादुर चौधरीले १७, चेतनारायण चौधरीले ११ रन बनाउनु बाहेक अरु  खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

डाँफे युवा क्लबका विजय पाण्डे र दिनेश न्यौपानेले समा ३–३ विकेट लिए । आकर्ष पाण्डेले २ र धनबहादुर केसीले १ विकेट लिए ।

१ सय २३ रनको विजयी लक्ष्यका साथ जवाफी व्याटिङ गरेको डाँफे युवा क्लवले २३ दशमलव ३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै विजयी भयो । डाँफेका लागि आकर्ष पाण्डेले ४३ रनको योगदान दिए  । धनबहादुर केसीले अविजित ३४ रन बनाउँदा विजय डाँगीले १५ रन जोडे ।  चन्द्रज्योति क्रिकेट क्लबका किमत घर्ती मगरले ३ र मिलन चौधरीले २ विकेट लिए । प्रतियोगितामा डाँफे युवा क्लबका आकर्ष पाण्डे प्लेयर अफ द म्याच भए ।

यसैगरी, शनिबार नै पुरन्धारा स्टेडियमा भएको अर्को खेलमा पुरन्धारा क्रिकेट क्लबले टस जितेर व्याटिङ गर्दै ३४ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८१ रन बनायो । पुरन्धाराका लागि हेमराज रानाले ३९ रन बनाउँदा दीपक भुलले ३४ रन बनाए । यसैगरी, रुपेन्द्र परियाले २७, सचिन बिकले १६ रन बनाए ।

इन्द्रेणी क्रिकेट क्लबका लागि पुरन बिकले ४ विकेट लिँदा हरिष केसी र रवि वलीले समान ३–३ विकेट लिए । अनुप डाँगीले २ र भोजराज केसीले १ विकेट लिए ।

Blog Post Ad

एक सय ८२ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको इन्द्रेणी क्रिकेट क्लब २५ ओभरमा सबै विकेट गुमाउँदै १ सय १३ रनमै समेटियो ।

शुरुवात राम्रो गरेपनि पहिलो विकेट पतनपछि सम्हालिएर खेल्न नसक्दा इन्द्रेणी सस्तैमा समेटियो । हरिष केसीले ३९, रवि शाहले २८ रन बनाउनु बाहेक अरु खेलाडी क्रिजमा टिक्न सकेनन्  । पुरन्धाराका दीलिप बिष्ट, हेमराज राना, दीपक भुल, सागर पोख्रेलले समान २–२ विकेट लिए । प्रतियोगितामा पुरन्धाराका दीपक भुल  प्लेयर अफ द म्याच भएको दाङ जिल्ला क्रिकेट संघका सचिव सन्जु केसीले बताए ।

होम एण्ड अवेका आधारमा खेलाईने लिगको अर्को खेल शनिबार पनि हुनेछ । जिल्लाको घोराही, लमही र बबईमा लिग खेलाउने गरी प्रतियोगिता भईरहेको छ । जिल्लाभरका ९ वटा टिमको सहगाभीता रहेको लिगका खेलहरु बैशाख अन्तिम सातासम्म संचालन हुनेछ । लिगमा विभिन्न उमेर समुहका खेलाडीलाई समावेश गरी खेलाईएको जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad