Ad Area

प्रधानमन्त्री कप महिला क्रिकेट छनोटको सेमिफाईनल समिकरण पूरा


घोराही, २७ मंसीर । दाङको घोराहीमा जारी प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिता २०८० का लागि लुम्बिनी प्रदेश स्तरीय क्रिकेट छनोट प्रतियोगिताको सेमिफाईनल समिकरण पूरा भएको छ । प्रतियोगिता अन्तरगत बुधबार सम्पन्न खेलमा बाँकेले नवलपरासीलाई ३४ रनले र दाङले रुपन्देहीलाई ६४ रनले पराजित गरेसँगै सेमिफाईनल समिकरण पूरा भएको हो ।

छनोट प्रतियोगितामा समुह बी बाट अपराजित रहेको बाँकेले समुह ए को रुपन्देही टीमसँग र समुह ए बाट अपराजित रहेको दाङले समुह बी को नवलपरासीसँग बिहीबार सेमिफाईनल खेल्नेछ । सेमिफाईनलको पहिलो खेल दाङ र नवलपरासी बीच बिहान हुनेछ भने दिउँसो बाँके र रुपन्देही बीच खेल घोराही क्रिकेट रंगशालामा हुनेछ । प्रतियोगिताबाट पाल्पा र बर्दिया बाहिरिसकेका छन् ।

घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा बिहान भएको छनोट प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको बाँकेले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५० रन बनाएको थियो । बाँकेका लागि कप्तान रन्जु श्रेष्ठले सर्वाधिक ३३ रन बनाउनुभयो । यसैगरी, सुस्मिता बजगाइँले २५, शोभा शाही र स्वस्तिका बजगाइँले समान १८७–१८ रन, जिज्ञासा थापा र प्रियंका गुरुङले ४–४ रन बनाउँदा सिमाना मल्ले ६ रनको योगदान दिनुभयो । नवलपरासीका लागि साक्षी भण्डारी र सुमिना न्यौपानेले २–२ विकेट लिँदा बन्दना जैसवालको नाममा १ विकेट रह्यो ।

१ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको नवलपरासीले सम्हालिएर खेले पनि जीत हासिल गर्न सकेन । कप्तान सरस्वती पुन र साक्षी भण्डारीले पहिलो विकेटका लागि १ सय १० रनको ओपनिङ साझेदारी खेले पनि जीत निकाल्न सकेनन् । केवल २ विकेट गुमाएको नवलपरासीले पूरै ओभर खेल्दै १ सय १६ रन मात्रै बनाउन सक्यो ।

जसमा कप्तान सरस्वती पुनले ३६ रन, साक्षी भण्डारीले ४० रन बनाउँदा सरीता शाही र कृष्णा खनालले अविजित २–२ रन बनाउनुभयो । प्रतियोगितामा हार व्यहोरे पनि नवलपरासी सेमिफाईनलमा प्रवेश गरेको छ । टीमले हारेपनि प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नुभएकी नवलपरासीकी साक्षी भण्डारी प्लेयर अफ द म्याच हुनुभयो । यसअघि नवलपरासीले पाल्पालाई पराजित गरेको थियो । एक जीत र एक हारसहित नवलपरासी सेमिफाइनलमा पुगेको हो । बाँके अपराजित टोली हो ।

Blog Post Ad

यसैगरी, बुधबार दिउँसो भएको अर्को खेलमा दाङमा रुपन्देहीलाई ६४ रनले पराजित गरेको छ । टस जितेर पहिले व्याटिङ गरेको दाङले निर्धारित २० ओभरमा १ सय २२ रन बनाएको थियो । शुरुवाती ब्याटर सस्तैमा गुमाएको दाङका लागि कप्तान सरस्वती जिएमले पूरै ओभर खेल्दै अविजित ४४ रनको कप्तानी पारी खेल्नुभयो । लक्ष्मी चौधरीले १८, मधु डिसीले १७, सर्मिला रोकाले अविजित १३ रनको योगदान दिँदा कमला जिएमले १ बनाउनुभयो ।

रुपन्देहीका अनुभवी बलरले विकेट लिन सकेनन् । कप्तान कृतिका मरासिनी, सुस्मिता भुसाल, सन्ध्या चापागाइँ विकेट विहीन बन्दा सरु तिवारीले ३ र कविता खड्काले १ विकेट लिनुभयो ।

१ सय २३ रनको विजयी लक्ष्य पछ्याएको रुपन्देही सम्हालिएर खेल्न नसक्दा ५८ रनमै समेटियो । ओपनर श्रुति बुढाथोकीलाई दाङकी कमला जिएमको पहिलो बलमा बोल्ड आउट गरेसँगै त्यसपछिका ब्याटरले टिकेर खेल्नै सकेनन् । रुपन्देहीका लागि कृति अधिकारीले १७ रन बनाउनु बाहेक अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । एन्जी पाठक र आँचल रेश्मी मगरले ७–७ रन, सुस्मिता भुसालले ४ रन, कप्तान कृतिका मरासिनी र सन्ध्या चापागाइँले समान ३–३ रन, कविता खड्का र आश्मा पुलामी मगरले २–२ रन बनाउनुभयो ।

रुपन्देहीलाई ५८ रनमा समेट्न दाङकी कमला जिएमले ३ विकेट लिँदा कप्तान सरस्वती जिएमले २ विकेट लिनुभयो । सर्मिला रोका, अनिता चौधरी, मधु डिसीको नाममा १–१ विकेट रह्यो । प्रतियोगितामा कप्तानी पारीसहित महत्वपूर्ण २ विकेट लिनुभएकी सरस्वती जिएम प्लेयर अफ द म्याच हुनुभयो ।

दाङ जिल्ला क्रिकेट संघको आयोजना मंसीर २९ गतेसम्म हुने छनोट खेलबाट राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि खेलाडीको खेल प्रदर्शनको आधारमा लुम्बिनी प्रदेश महिला क्रिकेट टिम तयार गरिने भएको लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव एवम् प्रतियोगिता खेलाडी छनोट समिति संयोजक कैलाश रोका मगरले जानकारी दिनुभयो ।

आगामी पुस पहिलो सातादेखि हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताका लागि प्रदेशबाट खेलाडी छनोट गर्न लुम्बिनीका ६ जिल्लाका महिला खेलाडीको छनोट प्रतियोगिता आयोजना गरिएको हो ।

Blog Post Ad Blog Post Ad