Ad Area

मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि


दाङ, २८ मंसिर । दाङमा मानव अधिकार उल्लङ्घनका घटना वृद्धि भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि दाङमा २०२३ को जनवरीदेखि हालसम्म सङ्कलन गरेका घटना विवरण सार्वजनिक गर्दै गत वर्षको तुलनामा यस वर्ष मानव अधिकार उल्लङ्घनका घटना वृद्धि भएको जनाएको छ ।

इन्सेकले २०२३ को जनवरीदेखि हालसम्म तयार गरेको तथ्याङ्क अनुसार जिल्लामा २ सय ९२ वटा मानव अधिकार उल्लङ्घनका घटना भएका छन् । गत वर्ष जिल्लामा दुई सय २६ वटा मात्रै मानव अधिकार उल्लङ्घनका घटना भएका थिए । इन्सेकका अनुसार दुई सय ९२ मान वअधिकार उल्लङ्घनका घटनामा सबैभन्दा धेरै बलात्कारजन्य घटना एक सय २१ वटा रहेको इन्सेकका जिल्ला प्रतिनिधि जयनारायण पुनले जानकारी दिएका छन् । गत वर्षको तुलनामा दोब्बरले वृद्धि भएका बलात्कारजन्य घटनामा यस वर्ष मात्रै ८९ वटा घटना छन् । यसैगरी २६ वटा यौन दुव्र्यवहार, ५ वटा बलात्कार प्रयास र एउटा अप्राकृतिक मैथुनको घटना इन्सेकको प्रतिवेदनमा उल्लेख छ ।

बलात्कारका घटनामा एक बालकसहित एक सय ३१ जना महिला पीडित भएका छन् । जसमा ७९ जना बालिका रहेको पुनले जानकारी दिए । उनका अनुसार बलात्कारजन्य घटनामा एक बालकसहित एक सय ३१ जना पीडक रहेका छन् । इन्सेकको अभिलेख अनुसार गत वर्ष जिल्लामा ५५ वटा मात्रै बलात्कारजन्य घटना दर्ता भएका थिए ।

यसैगरी जिल्लामा गत वर्षको तुलनामा घरेलु हिंसाका घटनामा भने कमी आएको देखिएको छ । गत वर्ष जिल्लामा एक सय १५ घटना भएको र यस वर्ष घटेर एक सय ४ वटा घरेलु हिंसाका घटना अभिलेख भएको इन्सेक प्रतिनिधि पुनले जानकारी दिए । उनका अनुसार घरेलु हिंसामा एक पुरुषसहित एक सय ४ जना महिला पीडित भएका छन् । पीडकमा ८९ जना पुरुष र १५ जना महिला रहेको इन्सेक प्रतिनिधि पुनले जानकारी दिएका छन् । जसमा श्रीमान्बाट श्रीमती, सासुबाट बुहारी, बुहारीबाट सासु, ससुरा, जेठाजुलगायतका नातेदारबाटै पीडित हुने धेरै रहेको जिल्ला संयोजक पुनले बताए ।
यसैगरी जिल्लामा हत्याका १२, बन्द हडताल १५, दुव्र्यवहार ९, बालविवाह ५, मानव बेचविखन तथा ओसारपसारका ५ र सम्पत्ति तोडफोडका ४÷४, कथित बोक्सी आरोप, हत्या प्रयास र बहुविवाहका ३÷३, अपहरण तथा शरीर बन्धक, जातीय विभेद र आर्थिक अधिकारका २÷२ र कुटपिट, धम्की र खाद्य अधिकारका १÷१ घटना गरी दुई सय ९२ घटनामा दुई सय ९७ जना पीडित भएका छन् । जसमा २ सय ७० जना महिला र २७ जना पुरुष रहेका छन् । उनीहरूमध्ये ९५ जना बालिका रहेको इन्सेकको प्रतिवेदनमा उल्लेख छ । ती घटनामा तीन सय २६ जना पीडक रहेका छन् ।

सचेतनामा बढाउन जोड

जिल्लामा मानव अधिकार उल्लङ्घनका घटना वृद्धि हुनु सकारात्मक नभएको भन्दै सरोकारवाला निकायले मानव अधिकारका उल्लङ्घनका घटना न्यूनिकरणका लागि सचेतना आवश्यक रहेको बताएका छन् । सचेतनाको अभावका कारण समाजमा अहिले पनि घरेलु हिंसा, बलात्कार, कुटपिट, बोक्सी आरोपलगायतका घटना हुने गरेको भन्दै त्यस्ता घटना रोक्नका लागि सबैको प्रयास आवश्यक रहेको बताएका हुन् । साथै उनीहरूले दोषीलाई सजायको व्यवस्था नहुँदा पनि समाजमा अपराध गर्नेको हौसला बढ्ने भएकाले मानव अधिकार उल्लङ्घनका घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाही हुनु पर्ने बताए ।

Blog Post Ad

मानव अधिकार सञ्जाल दाङका संयोजक केशव शर्माको अध्यक्षता तथा घोराही उपमहानगरपालिका नगर उपप्रमुख हुमाकुमारी डिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य भोला अधिकारी, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य विवेक श्रेष्ठ, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य बसन्त चौधरी, घोराही उपमहानगरपालिका–१५ का वडाध्यक्ष रमेश पाण्डे, नेपाल बार एसोसिएसन दाङका अध्यक्ष मुरलीप्रसाद घिमिरे, वडा प्रहरी कार्यालय घोराहीका प्रमुख रामप्रसाद पाण्डेय, उपभोक्ता हित संरक्षण मञ्चका चिन्तामणि पौडेललगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण इन्सेकका जिल्ला प्रतिनिधि जयनारायण पुनले गरेका थिए ।

Blog Post Ad Blog Post Ad