Ad Area

ललित स्मृति कप टु ए साईड खुला पुरुष भलिबल सुरु


लक्ष्मण बस्नेत
दाङ, २८ मंसिर । दाङको तुलसीपुरमा बिहिवारदेखि ललित स्मृति कप टु ए साईट खुला पुरुष भलिबल प्रतियोगिता २०८० सुरु भएको छ ।

फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुरको आयोजनामा राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुरमा संचालित प्रतियोगिताको नेपाली काग्रेस तुलसीपुर नगर सभापति तथा त्रिशिदेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले उद्घाटन गरेका हुन ।

२०७७ साल असार २८ गते मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका तत्कालीन फेलोसिप ट्रेनिङ सेन्टरका संचालक गङ्गादेव गाउँपालिका –७ रोल्पा राक निवासी स्वर्गीय ललित बुढामगरको सम्झनामा प्रतियोगिताको आयोजना गरिएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी हमालले मानव सभ्यता जत्तिकै पुरानो खेलकुदको बिकास र बिस्तारमा राज्यको दृष्टि पुग्न नसकेको बताए । खेलकुद राष्ट्रको सान र पहिचान मात्र होईन मानव स्वास्थ्यको अभिन्न अंग हो भन्ने कुरा खेलकुदका नीति निर्माताले नबुझ्नु र खेलकुद क्षेत्रलाई हेर्ने र बुझ्ने दृष्टिकोण फराकिलो बनाउनुपर्ने बताए ।

तीन दशक अगाडीको खेलकुदलाई समीक्षा गर्दा बर्तमान खेलकुदले खासै फड्को मार्नु सकेन अधिकांश खेल प्रशिक्षक सेवा निवृत्त भएर जाँदै गर्दा रिक्त ठाउँमा झण्डै दुई दशकदेखि राज्यले पदपूर्ति गर्न नसकेको बताएका थिए ।

फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु एरीको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथी तेक्वान्दोका अन्तराष्ट्रिय खेलाडी मोहन सुनारलगायतकाले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । सो अवसरमा नेपाली कांग्रेस जिल्ला सदस्य रमेश मल्ल, नेपाली काग्रेस रोप्ला जिल्ला सदस्य अमृत बुढामगर, नेपाली कांग्रेस तुलसीपुर नगर कोषाध्यक्ष प्रितम श्रेष्ठ, भलिबलका पूर्व खेलाडी केशवराज खत्री, स्वर्गीय ललित बुढाका दाजु तेजबहादुर बुढामगरलगाएतको उपस्थिति रहेको थियो । भलिबलका राष्ट्रिय रेफ्री द्रोर्णप्रकाश चन्दको स्वागत रहेको कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए । यसैबिच प्रतियोगिताको विहीवार भएका खेलमा एसटिएफ र एसभिसी बिजयी भएका छन ।

उद्घाटन खेलमा अखिल क्रान्तिकारीलाई २१–५ र २१–१० को सोझो सेटमा पराजित गर्दै एसटिएफले बिजयी सुरुवात गर्‍यो । त्यस्तै फेलोसिप ट्रेनिङ सेन्टरलाई २१–८ र २१–१४ को सोझो सेटमा पराजित गर्दै एसभिसीले बिजयी यात्रा सुरु गरेको हो । त्यसैगरि प्रतियोगिता अन्तरगत शुक्रवार विहान पहिलो खेलमा ज्ञानज्योती तुलसीपुर र रोल्पा भिड्नेछन् । खेल साढे नौ बजेदेखि सुरु हुनेछ ।

प्रतियोगिताको बिजेता टिमले नगद ३० हजार,कप,मेडल प्रमाणपत्र हात पार्नेछ । त्यस्तै द्वितिय र तृतीय हुने टिमले क्रमशः नगद २० र १० हजार,कप, मेडल प्रमाणपत्र हात पार्ने छ्न् । तीन दिनसम्म संचालन हुने प्रतियोगितामा १४ टिमको सहभागिता रहेकोछ ।