Ad Area

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला छनोट प्रतियोगिताको उपाधि दाङलाई


घोराही, २९ मंसिर । प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला टि–२० छनोट क्रिकेट प्रतियोगिताको उपाधी दाङले जितेको छ । दाङको घोराही उपमहानगरपालिका–१७ गुलरियास्थीत घोराही क्रिकेट मैदानमा भएको फाइनल खेलमा रुपन्देहीलाई ७ विकेटले पराजित गर्दै दाङले उपाधी जित्न सफल भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले १९ ओभारको समाप्तिमा सवै विकेट गुमाउदै ७८ रनमा समेटिएको थियो । सुरुवाती दवाफमा परेको रुपन्देहीका लागि आश्मा पुल्मी मगर र आचल रेश्मी मगर बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

उक्त खेलमा आश्मा पुल्मी मगरले सर्वाधिक १६ रन, आचल रेश्मी मगरले १४ रन, सुस्मिता भुषाल र सरु तिवारीले समान ७÷७ रन, श्रुति बुढाथोकीले ६, कृति अधिकारीले ४ रन, कृतिका मरासिनी र सन्ध्या चपागाईले समान ३÷३ रन, एन्जी पाठकले २ रन र रेश्मी गैरेले १ रन जोड्न सफल हुनुभएको थियो ।

रुपन्देहीलाई सस्तैमा समेट्न दाङकी सर्मिला रोकाले सर्वाधिक ३ विकेट, अनिता चौधरी र मधु डिसीले २÷२ विकेट र सरस्वती जिएम र कमला जिएमले समान १÷१ विकेट लिनुभएको थियो । ७९ रनको बिजयी लक्ष्यका साथ जबाफी ब्याटिङ गरेको दाङले ११ दशमलव २ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टाउन सफल भएको हो ।

दाङलाई उपाधि दिलाउनका लागि लक्ष्मी चौधरीले सर्वाधिक २८ रनको योगदान दिनुभयो । त्यसैगरी कमला जिएमले ९ रन, सरस्वती जिएमले ८ रन, मधु डिसीले ३ रन र अनिता चौधरीले २ रनको योगदान दिनुभएको थियो ।

खेलमा उत्कृष्ठ प्रदर्शन गर्ने दाङकी शर्मिला रोकामगर म्यान अफ द म्याच हुनुभएको थियो । प्रतियोगिताका विजेता र उपविजेता टिमलाई शिल्ड, प्रमाणपत्र प्रदान गर्दै घोराही उपमहानगरपालिका नगर उपप्रमुख हुमा डिसीले खेल क्षेत्रमा महिलाको सहभागीता उत्साहजनक रहेको भन्दै महिला सहभागीता बढाउनका लागि खेल पूर्वाधारसँगै क्षमता विकासमा ध्यानदिनुपर्ने बताउनुभएको थियो ।

दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाँको अध्यक्षता तथा घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीको प्रमुख अतिथ्यता एवं लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोकामगरको बिशिष्ट आतिथ्यतामा प्रतियोगिताका बिजेता खेलाडीलाई पुरस्कार प्रदान गरिएको थियो । मंसिरको २५ गतेदेखि सुरु भएको प्रदेशस्तरीय छनोट प्रतियोगितामा लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, पाल्पा, रुपन्देही र नवलपरासीको महिला टिमको सहभागीता रहेको थियो ।