Ad Area

सडक बन्दमा उत्रिएका पक्राउ, यातायात सेवा सुचारु


घोराही, १ पुस । दोषीलाई कारवाही र पीडितलाई न्यायको माग गर्दै सडक संघर्षमा उत्रिएका बन्दकर्तालाई प्रहरीले पक्राउ गरेपछि यातायात सेवा सुचारु भएको छ । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१० झारबैरा चोकमा शुक्रवार राती टिप्परको ठक्करबाट ज्यान गुमाएका प्युठान निवासी दुई युवाका आफन्तले न्याय नपाएको भन्दै आइतवार विहान सडकमा टायर बालेर आन्दोलनमा उत्रिएका थिए ।

बन्दकर्ताका कारण केही समय प्रभावित भएको घोराही तुलसीपुर तथा घोराही लमही यातायात सेवा बन्दकर्तालाई प्रहरीले पक्राउ गरेपछि यातायात सेवा सञ्चालन भएको छ । सडक आन्दोलनमा उत्रिएका संघर्ष समिति संयोजक एवम् झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलसहितका बन्दकर्तालाई प्रहरीले घोराहीको तुलसीपुर चोकबाट पक्राउ हो । संघर्ष समितिका सदस्यका अनुसार सडक बन्दमा उत्रिएका १२÷१५ जनालाई प्रहरीले पक्राउ गरेर लगेको छ ।

तर प्रहरीले पक्राउ नगरेको बताएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक जनकबहादुर मल्लले कसैलाई पनि प्रहरीले पक्राउ नगरेको बताउनुभएको छ । ‘दाङमा शान्तिपूर्ण बातावरण रहेको छ, कतैपनि यातायात सेवा बन्द भएको छैन्’,जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता समेत रहनुभएका प्रहरी नायव उपरिक्षक मल्ले भन्नुभयो,‘बन्द पनि कतै भएको छैन, कोही पनि पक्राउ परेका छैनन् ।’

घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरबाट घोराही आउँदै गरेको रा १ क १३०७ नम्वरको टिप्परले रा २ प ५५८९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा गम्भीर घाइते हुनुभएका प्युठान झिमरुक गाउँपालिका–४ बाङ्गे निवासी १८ बर्षीय विशाल जिसी र नौबहिनी गाउँपालिका लुङ निवासी १८ वर्षीय सागर केसीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञा प्रतिष्ठानमा मृत्यु भएको थियो । मृत्युपछि टिपर व्यवसायी र पीडित पक्षबीच शनिबार दिनभर वार्ता भएपनि टिपर व्यवसायी समितिले पाँच–पाँच लाख बिमा वापतको रकम र किरिया खर्च बापत पचास हजार रुपैयाँ दिने बताएपछि पीडितले पक्षले नमानेको मृतकका दाजु राजेश जिसीले बताउनुभयो ।

उहाँका अनुसार पीडित पक्षलाई क्षतिपूर्ति बापत १०–१० लाख दिनुपर्ने, किरिया खर्च पचास–पचास हजार पाउनुपर्ने, नयाँ मोटरसाईकल किनिदिनुपर्ने, मृतकका नाममा स्मारक बनाउनुपर्ने तथा शवलाई प्युठानसम्म टिप्पर व्यवसायी समितिले पु¥याईदिनुपर्ने माग रहेका छन् । टिप्पर चालक रोल्पा रुन्टीगढी गाउँपालिका–९ निवासी २६ बर्षीय ईश्वर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृतकको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad