Ad Area

न्याय नपाएको भन्दै टायर बालेर सडकमा उत्रिए मृतकका आफन्त


घोराही, १ पुस । दाङमा टिप्परको ठक्करबाट ज्यान गुमाएका दुई युवाका आफन्तले न्याय नपाएको भन्दै घोराहीको तुलसीपुर चोकमा बिहानैदेखि सडकमा टायर बालेर आन्दोलनमा उत्रिएका छन् ।

प्युठानको झिमरुक गाउँपालिका ४ बाङ्गेका वर्ष १८ का विशाल जिसी र नौबहिनी गाउँपालिका लुङका १८ वर्षका सागर केसी सवार रा २ प ५५८९ नम्बरको मोटरसाईकललाई रा १ क १३०७ नम्बरको टिपरले ठक्कर दिएपछि ज्यान गएको थियो । मृत्युु भएपछि पीडित परिवारले पाउनुपर्ने उचित क्षतिपूर्ति, काजकिरिया खर्च तथा मोटरसाईकल नयाँ पाउनुपर्ने मागलाई सम्बन्धित पक्षले बेवास्ता गरेपछि आफुहरु बाध्य भई सडक संघर्षमा उत्रिएको संघर्ष समिति संयोजक एवम् झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिनुभयो ।

उहाँले टिपर व्यवसायी र पीडित पक्षबीच शनिबार दिनभर भएको वार्तामा टिपर व्यवसायी समितिले अवहेलना गर्दै पाँच(पाँच लाख बिमा वापतको रकम र किरिया खर्च बापत पचास हजार रुपैयाँ मात्रै दिने भनेपछि आफुहरु माथि अन्याय भएको महसुस गरि आन्दोलनमा उत्रिएको बताउनुभयो ।

‘मामा भान्जाहरु एकै चिहान भएका छन् । मरेर जानेहरु फर्किन सक्दैन् । परिवारमा पीडा परेको छ । यो बेलामा सहानुभूति समेत नदेखाएर उपेक्षा गरेर अन्याय गरिएको छ’ संयोजक पोख्रेलले भन्नुभयो ‘यो बेलामा प्रहरी प्रशासनले पनि खासै चासो देखाएको छैन । हामी पीडामा छौँ । यो बेलामा हामीलाई न्याय चाहिएको हो, पीडा चाहिएको होईन ।’

शनिबार दिनभर बसालेर आफुलाई न्याय दिनुको साटो बेवास्ता गर्दै लास लैजानुस्, बिमा र किरिया खर्च पचास हजार दिन्छौं भनेर थप चित्त दुखाउने काम गरेको उहाँले बताउनुभयो ।
मृतकका दाजु राजेश जिसीले क्षतिपूर्ति बापत १०-१० लाख पाउनुपर्ने, किरिया खर्च पचास-पचास हजार पाउनुपर्ने, नयाँ मोटरसाईकल पाउनुपर्ने, मृतकका नाममा स्मारक बनाउनुपर्ने तथा शवलाई प्युठान पुर्याई दिनुपर्ने आफुहरुको माग रहेको बताउनुभयो ।

तुलसीपुरबाट घोराही जाँदै गरेको टिपरले दुई युवक सवार मोटरसाईकललाई घोराही १० झारबैरा चोकमा शुक्रबार राति सवा १० बजेतिर ठक्कर दिएको थियो । घाइते दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिप्पर चालक रोल्पा रुन्टीगढी ९ का वर्ष २६ का ईश्वर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad