Ad Area

घोराही–१९ मा बिरामी बोक्न टोलटोलमा स्ट्रेचर


दाङ, ३ पुस । घोराही उपमहानगरपालिका वडा नम्बर १९ का प्रत्येक टोलमा बिरामी बोक्न स्ट्रेचर वितरण गरिएको छ । घोराही उपमहानगरपालिका भएर पनि भूगोलका हिसाबले विकट रहेको १९ नं. वडामा विपद्मा नागरिकलाई सहजताका लागि टोल–टोलमा स्ट्रेचर प्रदान गरिएको वडाध्यक्ष ज्ञानबहादुर रायमाझीले जानकारी दिएका छन् । यसरी वितरण गरिएका स्ट्रेचर वडाका स्वयम्सेविकाहरूले राख्ने र आवश्यक परेको बेला बिरामीका आफन्तले लग्न सक्नेछन् ।

वडा कार्यालयले आर्थिक वर्ष २०८०÷०८१ मा वडाले विनियोजन गरेको ७५ हजार रुपैयाँबाट खरिद गरिएका १६ वटा स्ट्रेचर सैघा स्वास्थ्यचौकीले टोल विकास संस्थामा रहेका महिला स्वस्थ्य स्वयम्सेविकालाई प्रदान गरेको हो । ‘वडाका सम्पूर्ण टोलमा सडक पुगे पनि २४सै घण्टा यातायातको सुविधा हुँदैन’, उनले भने, ‘त्यस्तो अवस्थामा बिरामीलाई स्वास्थ्यचौकीसम्म ल्याउन र अटोलगायतका साधन चल्ने समयमा बस्तीबाट मूलबाटोसम्म ल्याउन सहयोग पुग्नेछ ।’

पहाडी क्षेत्र भएकाले बस्ती छरिएर रहेको र भित्रभित्र रहेका ससाना बस्तीसम्म बाटो नपुगेकाले पनि स्ट्रेचर आवश्यक पर्ने वडाध्यक्ष रायमाझी बताउँछन् । उनका अनुसार हिउँदमा पानी नपर्ने भएकाले बस्तीसम्म अटो पुग्ने भए पनि बर्सातको समयमा अटोसमेत नचल्ने हुँदा बिरामी वा गर्भवती महिला बोक्न स्ट्रेचरकै भर पर्नु पर्ने बाध्यता रहेको बताए ।

वडाध्यक्ष रायमाझीका अनुसार १९ नंं. वडामा रहेका २१ वटा टोलमध्ये पाँचवटा टोलले पहिले नै पाइसकेकाले यो वर्ष १६ वटा टोल विकास संस्थालाई स्ट्रेचर प्रदान गरिएको बताए । ‘हाम्रो वडाका २० वटा टोलमध्ये १६ वटा टोलमा स्ट्रेचर थिएन, जसले गर्दा बिरामी बोक्न समस्या थियो’, वडाध्यक्ष रायमाझीले भने, ‘टोलबासीको माग अनुसार यो वर्ष बजेट बिनियोजन गरेर स्ट्रेचर प्रदान गरेका हौँ ।’

वडा नं. १९ का स्थानीयका लागि स्ट्रेचर भरपर्दाे माध्यम भएको सैघा स्वास्थ्यचौकीका प्रमुख ज्वलन्त खड्काले बताए । भूगोलका हिसाबले विकट वडा भएकाले बस्तीसम्म बाटो पुगे पनि यातायातका साधन २४सै घण्टा नचल्ने भएकाले स्थानीयलाई स्ट्रेचर वितरण गरिएको उनले बताए । ‘दिउँसोमा अटोलगायतका सवारीका साधन चल्ने भए पनि रातको समयमा चल्दैनन् । त्यस्तो अवस्थामा बिरामी बोक्ने भनेको स्ट्रेचरमै हो’, सैघा स्वास्थ्यचौकीका प्रमुख खड्काले भने, ‘स्थानीयको बाध्यतालाई मध्यनजर गरेर स्ट्रेचर प्रदान गरेका हौँ ।’

घोराही उपमहानगरपालिकाभित्रकै वडा भएर पनि सबै टोल र बस्तीमा यातायातको पहुँच नपुगेकाले गर्भवती, सुत्केरी, बिरामी र विपद्का घटनामा घाइते भएकालाई तत्काल स्वास्थ्यचौकीसम्म पु¥याउन स्ट्रेचर आवश्यक पर्ने भएकाले वडा कार्यालयले स्ट्रेचर खरिद गरेर वितरण गरेको खड्काले बताए ।

Blog Post Ad

‘आवश्यक पर्ने ठाउँ भएकाले स्ट्रेचर दिएका छौँ’, सैघा स्वास्थ्यचौकी प्रमुख खड्काले भने, ‘सैघा जस्तै विकट भूगोल भएको वडामा स्ट्रेचरको आवश्यक अझै देखिन्छ ।’ भूगोलका हिसाबले विकट र ठुलो क्षेत्र भए पनि दुईखोली, बाम्लालगायतका धेरै गाउँका स्थानीय बिरामी पर्दा उपचारका लागि घोराही जाने गरेको बताउँछन् । स्वास्थ्यचौकी पायक पर्ने ठाउँका बिरामी आउने भए पनि पायक नपर्ने ठाउँका बिरामी घोराही आउने गरेका छन् ।

Blog Post Ad Blog Post Ad