Ad Area

‘हनी–ट्र्याप’मा तीन महिलालाई जेल सजाय


दाङ, ४ पुस । आपराधिक लाभको मुद्दा (हनी–ट्र्याप) मा तीन जना महिला दोषी ठहर भएका छन् । दाङ जिल्ला अदालतले हनी–ट्र्यापमा संलग्न तीन महिलालाई दोषी ठहर गर्दै जेल सजाय तोकेको छ । आइतवार सीतादेवी थापासहितका तीन जना महिलाले हन–ट्र्याप मुद्दामा कसुर गरेको ठहर गर्दै फैसला गरेको अदालतले जनाएको छ ।

दाङ जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले आपराधिक लाभको मुद्दामा प्रतिवादी प्युठान स्वर्गद्वारी नगरपालिका घर भई हाल घोराही उपमहानगरपालिका–१५ बस्ने सीतादेवी थापा, घोराही उपमहानगरपालिका–५ घर भई हाल घोराही उपमहानगरपालिका–१५ बस्ने शूष्मा परियार र घोराही उपमहानगरपालिका–१ घर भई हाल घोराही–१५ मा बस्ने खुमा वलीलाई दोषी ठहर गर्दै जनही एक वर्ष ६ महिनाको कैद सजायको फैसला गरेको छ । साथै उनीहरूलाई जनही १५÷१५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको अदालतका श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिएका छन् । मुुलुकी अपराध संहिता २०७४ को दफा २५३ को उपदफा १, २ र ३ (क) कसुरमा सोही ऐन र दफाको उपदफा ३ (ख) अनुसार जनही एक वर्ष ६ महिना कैद सजाय र जनही १५÷१५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो ।

साथै जनही १० हजार रुपैयाँका दरले जाहेरवालालाई क्षतिपूर्ति दिने फैसला गरेको श्रेस्तेदार घिमिरेले बताएका छन् । श्रेस्तेदार घिमिरेका अनुसार आपराधिक लाभ उठाउने मुद्दामा जिल्ला अदालतबाट भएको यो सम्भवतः पहिलो फैसला हो । श्रेस्तेदार घिमिरेले भने, ‘आपराधिक लाभको मुद्दामा दाङ जिल्ला अदालतबाट फैसला भएको यो पहिलो घटना हो ।’ दाङका भद्रबहादुर जैसी (नाम परिवर्तन) ले आपराधिक लाभ उठाउन खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दर्ता गराएका थिए । खाजा खान बोलाएर आफूलाई यौन दुराचारको मुद्दा हाल्ने धम्की दिँदै पीडितबाट उनीहरूले लाखौँ रकम माग गरेका थिए । पछि जैसीले जिल्ला प्रहरी कार्यालयमा ती महिलाविरुद्ध उजुरी हालेका थिए ।

सोही जाहेरीमा अनुसन्धान गरी प्रहरीले सरकारी वकिलमार्फत् २०७८ असोज १९ गते दाङ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ता भएको करिब दुई वर्षपछि फैसला भएको हो । श्रेस्तेदार घिमिरेका अनुसार आपराधिक लाभ उठाउने उद्देश्यले सीतादेवी थापाले जैशीसँग एक लाख रुपैयाँ लिएको स्वीकार गरेकाले उक्त रकम जाहेरीवालालाई दिलाउने पैmसला समेत गरेको छ । हनी–ट्र्यापको आरोपमा पक्राउ परेका सीतादेवी थापा एक लाख ५० हजार, शूष्मा परियार ७० हजार र खुमा वली ८० हजार रुपैयाँको धरौटीमा २०७८ असोज २२ गते छुटेका थिए ।
के थियो घटना ?

एक पुरुषलाई ‘हनी–ट्र्याप’ मा पारेर पैसा असुलेको अभियोगमा २०७८ असोज २ गते घोराहीबाट तीन जना महिलालाई प्रहरीले पक्राउ गरेको थियो । होटेलमा खाजा खान बोलाएर आफूहरूमाथि हातपात भएको भन्दै बलात्कारको मुद्दा हाल्ने धम्की दिई ती महिलाले १८ लाख रुपैयाँ असुल्न खोजेका थिए । पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए र तीन महिलालाई प्रहरीले पक्राउ गरी २०७८ असोज २ गते पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको थियो । प्रहरीले प्रतिवादी सीतादेवी थापासहितका शूष्मा परिवार र खुमा वलीले घोराहीका एक व्यवसायीबाट एक लाख नगद र १७ लाखको चेक बुझेको आरोपमा पक्राउ गरेको थियो । सुरुमा ५० लाख रुपैयाँको बार्गेनिङ गरेको र अन्त्यमा १८ लाखमा कुरा मिलाइएको अनुसन्धानबाट खुलेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको थियो । प्रहरीले महिलाको कोठबाट १७ लाखको चेक समेत बरामद गरेको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad