Ad Area

न्याय र उद्धारको पर्खाइमा हीमा


घोराही, ८ पुस । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान भर्खरै सकिएको छ । मंसिर ९ गतेदेखि २४ गतेसम्म चल्ने यो अभियान चल्दा होस् या अरु बेलामा हिंसा विरुद्धको अभियानका कुरा ब्यापक रुपमा उठ्ने गरेको छ ।  हिंसा गर्नु हुँदैन र सहनु हुँदैन भन्ने कुरा सबैको साझा बुझाई हो । तर, घरपरिवार र आफन्तबाट बारम्बार हिंसामा परिरहेका महिलाहरुको आवाज अहिले पनि सुन्ने र सुनाउने थलो बन्न नसकेको देखिएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर ८ सौँरीकी ३२ वर्षीया हीमा चौधरीको जीवन निकै कहालि लाग्दो अवस्थाबाट गुज्रिरहेको छ । बस्नलाई एक आना जमीन छैन । ओत लाग्नलाई आफ्नो स्थायी बास छैन । घरमा बिजुली बत्ती छैन । तै पनि दुख र संघर्षका साथ सानो कटेरोमा बारम्बार दुख पीडा दिईरहने श्रीमान जीतबहादुर चौधरी अनि दुई छोरीका साथ दुखका दिन बिताई रहनुभएको छ ।
बाहिरी संसार देख्ने चाहना भएपनि दुई छोरीहरु १२ वर्षीया सपना  र ११ वर्षीया विपना चौधरीको अनुहार हेरेर जसोतसो मेलापात गरेर परिवार पाल्ने अनि शिक्षादिक्षा गर्दै आउनुभएको छ ।
श्रीमानले घरमा काम नगर्ने अनि जाँडरक्सी खाएर आफुलाई बारम्बार कुट्ने गरेको हीमाको भनाई छ । घरबाहिर जान नदिने गए घर आउँदा पटक  पटक कुटाई खाएको उहाँ बताउनुहुन्छ । ‘गाउँटोलमा, समुहमा जान्छु भन्दा जान दिनुहुन्न, म भागेर, भरक्क्याएर गएँ भने पनि घर आउँदा दाउराको चिर्पटले कुटाई खानुपर्छ’, हीमाले भन्नुभयो ‘यो उहिलेदेखि कै पीडा हो । यसो गर्नु हुदैन भनेर सुम्झाउन खोज्दा उल्टै जाई लाग्नुहुन्छ ।’
घरमा आम्दानीको खास श्रोत छैन । समुहमा बसेर केही कुरा सिकेर अहिले मुक्तकमलरी विकास मन्चको सहयोगमा सहुलियत ऋण लिएर दुई चारवटा  बाख्रा पाल्नुभएको छ । घर छेवैमा तरकारी रोपेर बजारमा बिक्रि गर्ने काम गर्नुहुन्छ । तरकारी बेचेर आएको पैसाले छोरीहरुको पढाई खर्चदेखि घर व्यवहार यसैबाट चल्छ ।

‘छोरीहरुको पढाईमा असर नगरोस् भनेर तरकारी बेचेर आएको पैसाले जसरी पनि कापी कलम  किनेर दिने गरेको छु । मैले दुख पाएँ, छोरीहरुलाई दुख नहोस् भन्ने कामना छ । उनीहरुलाई लेखाएर पढाएर ठूलो मान्छे बनाउने सपना छ । तर, मैले सोँचेको सबै काम गर्न एक्लै निकै गाह्रो हुँदो रहेछ’ उहाँले भन्नुभयो ‘यो सबै काम गर्दा श्रीमानको साथ त छैन नै । त्यसमा पनि बारम्बारको कुटाईले शरीर थलिएको छ । बाहिरी चोटसँगै मनको भित्री चोटले निकै पीडा दिएको छ ।’

जीवनबाट हरेस खाई सकेको बेला मुक्त कमलरी विकास मन्चले गठन गरेको समुहमा जोडिन आएपछि उहाँले धेरै कुरा सिक्ने मौका पाउनुभएको छ । यसले पनि जीवनमा केही गर्ने हौसला जागेको हीमा बताउनुहुन्छ । ‘मलाई बाँच्न र केही गर्न मुक्त  कमलरी विकास मन्चले सिकाएको छ, यहाँ आएर मैले धेरै कुराको आड पाएको छु, तर श्रीमानले यसरी काम गरीरहेको देख्दा रिस गर्नुहुन्छ । धेरै बाठी बन्छेस् भन्दै लौरोले, चिर्पटले पटक  पटक  कुट्ने गर्नुहुन्छ । भर्खर चार छ दिनअघि पनि मैले कुटाई खाएको छु, च्याउ फलाउने तालिम लिएर घर आउँदा  श्रीमानले लौरा लिएर बस्नुभएको थियो । कुट्नुभयो । रोएँ, कराएँ, छोरीहरुले नकुट्नुस् भने तर मैले कुटाई खाएँ’, आँखाबाट आँशु झार्दै हीमाले भन्नुभयो ‘चोट र पीडा कति खाईयो कति भनी साध्य छैन । कुटाई खाएर जीउ जोगाउन छोरीहरुलाई लिएर कतिपटक त परालमा लुकेको छु ।’
सौडियार माविमा अध्ययनरत दुवै छोरीको नाम लेखाई, कापीकलम, महिनाको शुल्क तिर्न पनि उहाँलाई समस्या छ ।
आफ्नो घरबास नभएको मान्छेलाई आफ्नैले पनि हेला गर्दा झन पीडा थपिने गरेको उहाँ बताउनुहुन्छ । साहुले दिएको सानो टुक्रा जग्गामा जसोतसो बस्नलाई घर बनाउनुभएकी हीमाका श्रीमानलाई  गाउँ समाजले सम्झाई दिए हुन्थ्यो भन्ने लाग्छ । मानिस भएर पनि पशु सरहको व्यवहारबाट जीवनयापन गर्दै आउनुभएकी हीमालाई आफु लैंगिक हिंसामा परेको छु भन्ने बोध भर्खर हुन थालेको छ । भोक, दुख, पिटाई अनि हिंसा सहेर पनि छोरीहरुको अनुहार हेरेर मनमा आशा जगाएर बस्नु परेको उहाँ  बताउनुहुन्छ ।
सरकारले घरबास नहुनेलाई घर दिने, जग्गा जमीन नहुनेलाई जग्गा जमिन दिने भने पनि सुकुम्बासी फाराम पनि भर्न नपाएको उहाँको भनाई छ । ‘मलाई यो बारेमा केही थाहा भएन, हामीलाई खै कसले भन्छ र थाहा  पाउने हो । दुखियाको दिन दुख गर्दैमा  बित्छ, सरकारले कसका लागि के दिदैछ, के भन्दैछ भन्ने कुरा हामी जस्ता दुखियाले कसरी थाहा पाउनु र खै ?’ उहाँले भन्नुभयो र

उहाँ घरमा श्रीमानबाट मात्रै पीडामा पर्नुभएको छैन । घरबास दिएका साहु भनिएका व्यक्तिको व्यवहारबाट पनि पीडित बन्नुभएको छ । म त साहुको बारम्बारको धम्कीबाट पीडामा छु, खेत लगाउने काम २०४८ सालतिरबाट सासु ससुराले गर्दै आउनुभएको रहेछ । ‘म आएपछि पनि यो काम गर्नु परिरहेको छ । अधिया लगाए पनि मलबीउ सबै आफै किन्नुपर्छ । यसको भाग लाग्दैन । काम गर्दैन भन्दा डरधम्की आउँछ , बस्नलाई दिएको बास पनि उजाडि दिन्छ भन्छ, निकै समस्यामा परेको छु’, हीमाले भन्नुभयो ‘काम नगर्दा परिवारको पेट के गरी पाल्ने हो भन्ने अवस्था छ । गरौँ भने पनि आफुसँग सबथोक गर्न सक्ने हैसियत छैन ।’

हिंसाका उजुरी स्थानीय पालिकाको न्यायीक समितिमा दिएर न्याय पाउने प्रावधानका बारेमा पनि उहाँ अनभिज्ञ हुनुहुन्छ । न्याय पाउने आशामा उहाँले सबैसँग सहयोगको याचना गर्नुभएको छ । ‘मलाई घरबाटै  पीडा छ, बाहिर पनि उस्तै छ । मैले घरपरिवार चलाउन, छोरीहरुलाई पढाउन सक्दो मेहनत गरिरहेको छु, यसमा श्रीमानले साथ दिए हुन्थ्यो भन्ने हो तर उल्टै कुटाईसहितको यातना सहेर बस्नु परेको छ । मलाई न्याय कसले दिने हो ?’ उहाँले भन्नुभयो ‘समाजले श्रीमानलाई सम्झाई दिए मान्नु हुन्थ्योकी भन्ने लाग्छ ।’

Blog Post Ad
Blog Post Ad Blog Post Ad