Ad Area

दोश्रो प्याब्सन घोराही रनिङ शिल्ड शुरु


घोराही, ८  पुस । जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले खेलकुदलाई अहिलेको शिक्षा प्रणालीसँग जोडेर लैजान आवश्यक रहेको बताउनुभएको छ । नीजि तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याब्सन घोराहीले शनिबारदेखि आयोजना गरेको दोश्रो प्याब्सन घोराही रनिङ शिल्ड २०८० को उदघाटन समारोहलाई सम्बोधन गर्दै समन्वय प्रमुख शर्माले नयाँ पुस्तालाई खेलकुदका माध्यमबाट जोड्दै उनीहरुमा खेल संस्कृतिको विकास गर्न र विद्यालयमा प्रदान गरिने शिक्षासँग यसलाई जोड्नुपर्ने बताउनुभयो ।

घोराही नगर प्याब्सन अध्यक्ष वीरेन्द्र चन्दको अध्यक्षतामा भएको उदघाटन समारोहमा कार्यक्रमका प्रमुख अतिथि रहनुभएका शर्माले दाङ जिल्ला खेलकुदको उर्भरभूमि भएको बताउदै नयाँ खेलाडी उत्पादनका लागि तीन तहका सरकारले विशेष गरी पूर्वाधार निर्माणमा जोड दिन आवश्यक रहेको बताउनुभयो ।
‘जिल्लामा खेल क्षेत्रका पुर्वाधारहरु पनि निर्माण भैरहेका छन्, वेलझुण्डि रंगशालामा आधुनिक सेन्थेटिक्स ट्रयाकसहितको खेल मैदान होस् वा लमहीको स्तरीय खेल मैदान लगायत धेरै खेल संरचनाहरु निर्माण भएका छन्, तर त्यहाँ नियमित अभ्यासको अभाव छ’, शर्माले भन्नुभयो ‘यसमा हरेक क्षेत्रका खेल प्रशिक्षकहरु क्रियाशिल हुन आवश्यक छ । नीजि होस वा सामुदायिक हरेक विद्यालयमा एक जना खेलकुद शिक्षक व्यवस्थापन गरेर खेल प्रेमी विद्यार्थीहरुको क्षमतालाई उचो बनाउदै लैजान म जिल्ला शिक्षा समन्वय समितिको संयोजकको हैसियतले निर्देशन पनि दिन्छु ।’


घोराही उपमहानगरपालिका १५ भरतपुर मैदानमा शुरु भएको प्रतियोगितामा उहाँले मानव जीवनका लागि खेलकुदको निकै भूमिका रहेको बताउँदै उहाँले बालबालिकाहरुलाई शुरुवाती चरणबाट खेल क्षेत्रमा लाग्न हौसला दिन घरपरिवार, समाज, विद्यालय र राज्यका सबै अंग गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

‘मानिसका आधारभूत आवश्यकता शिक्षा र स्वास्थ्यसँगै अब खेललाई पनि जोड्न आवश्यक छ । अब हरेक विद्यालयले खेललाई दैनिक पठनपाठनसँग जोड्न जरुरी छ’ उहाँले भन्नुभयो ‘खेल स्वास्थ्यका लागि जति आवश्यक छ शिक्षाका लागि त्यति नै आवश्यक छ । यसमा सबै पक्ष गम्भीर हुनैपर्छ ।’

मानिस स्वस्थ भएमात्रै निरोगी मस्तिष्कले संसारमा सकारात्मक काम गर्न सक्ने हुँदा खेलकुदबाट मानिस निरोगी बन्न सघाउने बताउनुभयो । घोराही नगर प्याब्सनले आयोजना गरेको यस प्रकारको सराहनीय कामको सिको सबै पालिकाहरुले गर्नुपर्ने बताउनुभयो । आफ्ना नागरिकलाई स्वस्थ बनाउन स्थानीय सरकारले पनि खेलकुदका कार्यक्रमलाई प्राथमिकतामा राखेर पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताउनुभयो ।

पछिल्लो समय खेलकुदका गतिविधि संचालन गर्न जमीनको अभाव हुदै गएको सन्दर्भमा भूमि आयोगले गरिरहेको काममा हरेक गाउँ टोलमा सार्वजनिक जग्गा संरक्षण गर्नेगरी काम गर्न पनि उहाँले सुझाव दिनुभयो ।
सुकुम्बासीको नाममा हुकुमबासीको जगजगी भएका बेलामा वास्तविक सुकुम्बासीको उचित व्यवस्थापन गरी सार्वजनिक जग्गा संरक्षण गर्न सकेमा ती जग्गालाई खेलकुदका गतिविधि संचालन गर्न र खुला क्षेत्र बनाएर अरु मानवीय काममा लगाउन सकिने बताउनुभयो ।

प्याव्सन केन्द्रिय सचिव यादव गिरीले यस प्रकारको प्रतियोगिताले प्रतिभा प्रस्फुटनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नीजि विद्यालयले गर्दै आएको काम र योगदानलाई राज्यले सही दृष्टिकोणले नहेर्दा अपेक्षा अनुसार अझै धेरै प्रकारका काम गर्न कठिनाई रहेको बताउनुभयो ।

Blog Post Ad

प्याब्सन निवर्तमान केन्द्रीय सल्लाहकार नारायणप्रसाद अधिकारीले सामाजिक परिवर्तनका लागि योग्य नागरिक आवश्यक पर्ने बारे सबैले चर्चा गरेपनि यसको जग बसाल्न यस प्रकारका गतिविधि जरुरी रहेको बताउनुभयो । यो कामको थालनी पछिल्लो समय नीजि विद्यालयले गर्दै आएको उहाँको भनाई थियो ।

विद्यालयले शिक्षासंगै विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि खेलकुदलगायत अतिरिक्त क्रियाकलाप नियमित रुपमा संचालन र्दै आएकोमा गत वर्षबाट अन्तर विद्यालय स्तरीय प्रतियोगिता गर्दा विद्यालय र विद्यार्थी बीच मैत्रीभाव बढाउन सहज हुने र सामुहिकतामा एकताको प्रयास झक्लिने बताउनुभयो ।

घोराही उपमहानगरपालिकाका सामाजिक विकास समिति संयोजक एवम् प्रवक्ता राममणि पाण्डेले खेलकुदको विकास र प्रवद्र्धनका लागि घोराही उपमहानगरपालिकाले खेलकुद समिति गठन गरेर अहिले योजनावद्ध  रुपमा खेलकुदका गतिविधि संचालन गर्न थालेको बताउनुभयो । भौतिक विकाससँगै मानवीय विकासको महत्व बारे सबैलाई बुझाउन जरुरी रहेको बेलामा खेलकुदले मानिसलाई निरोगी बनाउन सहयोग गर्ने र समाजमा स्वस्थता कायम हुने अपेक्षा पालिकाले लिएको बताउनुभयो । नीजि विद्यालयले पालिका स्तरमा गरेको यस प्रकारको रचनात्मक कामलाई स्थानीय सरकारले निकै सकारात्मक रुपमा लिएको बताउँदै उहाँले पालिकाका तर्फबाट आगामी दिनमा गर्नुपर्ने साथ र सहयोग रहने प्रतिवद्धता पनि जनाउनुभयो ।

सोअवसरमा निवर्तमान प्राज्ञिक सल्लाहकार अरूण सुवेदी, शिक्षक महासंघ घोराहीका अध्यक्ष निशान्त आचार्य, घोराही खेलकुद नगर समितिका संयोजक नरेन्द्र पुन लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो  ।

प्याब्सन घोराही नगर उपाध्यक्ष सूर्यबहादुर रावतले स्वागत मन्तव्य राख्नुभएको थियो भने  सचिव बालकृष्ण ओलीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
गत वर्ष मंसीरमा भएको प्रथम घोराही प्याब्सन रनिङ शिल्डमा ३६ विद्यालय सहभागी भएका थिए । यो पटक घोराही प्याब्सनमा आवद्ध मध्ये ४८ वटा विद्यालयहरू प्रतियोगितामा सहभागी छन् । जसमा २८ वटा इभेन्ट हुने प्रतियोगितामा शनिबार, आईतबार र सोमबार गरी ३ दिनसम्म खेल सञ्चालन हुनेछ ।

संस्थागत विद्यालयहरुको छाता संगठन प्याव्सन शैक्षिक क्षेत्रको गुणात्मक सुधार, शिक्षामा सीप, विद्यार्थीमा संस्कार र समय अनुसारको प्रविधिमा जोड दिदै आफ्ना सदस्य विद्यालयहरुलाई सो अनरुपको अगाडी वढाउन निरन्तर लागि परेको प्याब्सन जिल्ला अध्यक्ष मधुसुदन केसीको भनाई छ ।

पढ्ने सीप बढाउन विभिन्न कार्यक्रमहरु पस्कदै आइरहेको अवस्थामा खेल नै जीवनको अभिन्न अङ्ग हो भन्ने मान्यताका साथ विद्यार्थीहरुलाई अनुशासनमा बाध्न र चरीत्र निर्माण गर्ने साध्यका रुपमा घोराही प्याव्सनले प्याव्सन रनिङ शिल्ड आयोजना  गर्दै आएको बताईएको छ ।

कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुलाई खेलको महत्व तथा यसले जीवनमा पार्ने प्रभाव विभिन्न खेलका माध्ययमवाट वोध गराउन, विद्यालय सिकाई क्षेत्रलाई फराकिलो पार्न तथा विद्यार्थीहरूलाई उनीहरूको पढ्ने सीप बढाउन, खेल खेल्ने गति, अनुशासन, र पढ्ने ध्यान अवधि मा मापनयोग्य वृद्धि प्रदान गर्दै खेल अवधिभर विद्यार्थीहरूले आफ्नो खेल सम्बन्धि क्षमताको गतिमा गति दोब्बर बनाउने र दस कक्षासम्म आफ्नो खेल खेल्ने सीप वृद्धि गर्ने लक्ष्यका साथ प्याव्सन रनिङ शिल्ड आयोजना गरिएको घोराही अध्यक्ष चन्दले बताउनुभयो  ।
उहाँले खेल नै जीवनको अभिन्न अङ्ग भन्ने मान्यता स्थापित गर्न, विद्यार्थीहरुलाई अनुशासनमा बाँध्ने कडी भनेकै खेल हो भन्ने बुझाउन, चरीत्र निर्माण गर्ने साध्य खेल हो भन्ने बोध गराउन यसले ठूलो भूमिका खेलेकाले घोराही प्याब्सन उत्साहित बनेको बताउनुभयो । जारी प्रतियोगितामा भलिबल (छात्र) कपर्दी (छात्रा), दौडतर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर (छात्र-छात्रा), रिले दौड छात्रछात्रा दुवै,  लङ जम्प, ट्रिपल जम्प, हाइ जम्प (छात्र-छात्रा), सट फुट, ज्याब्लिङ थ्रो (छात्र-छात्रा), कक्षा ७ सम्मका विद्यार्थीका लागि ६० मीटर दौड (छात्र-छात्रा), लङ जम्प (छात्र-छात्रा) रहेका छन् । यसैगरी, प्राईमरी तहका विद्यार्थीहरुका लागि पनि याे खेल थपिएको छ । जसमा  स्याक रेस (छात्र-छात्रा), स्पुन र मार्वल रेस (छात्र-छात्रा) समेत खेलकुदका गतिविधि  हुने घोराही प्याब्सनले जनाएको छ । उत्कृष्ट हुने खेलाडीलाई ९ गते खेल समापनका अवसरमा पुरस्कृत गरिनेछ ।

Blog Post Ad Blog Post Ad