Ad Area

दाङका तीन क्रिकेट मैदानमा एकैसाथ प्रधानमन्त्री कप छनोट खेल


घोराही, ७ पुस । दाङमा एकै दिन तीन फरक क्रिकेट म‌ैदानमा प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट २०८० का लागि जिल्ला स्तरीय छनोट खेल भएका छन् ।

माघकाे पहिलो साताबाट हुने प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट २०८० का लागि जिल्ला स्तरीय छनोट खेल अन्तरगत शनिबार सम्पन्न खेलमा ईजाइन क्रिकेट क्लब, त्रिसिद्धेश्वरी स्पोर्ट्स क्लब र पुरन्धारा क्रिकेट क्लब विजय भएका क्रिकेट संघ दाङका सचिव सन्जु क्षेत्रीले जानकारी दिए ।

क्रिकेट संघ, दाङको आयोजनामा जारी प्रधानमन्त्री कपको एक दिवसीय दाङ जिल्ला छनोटको दोस्रो दिन शनिबार तीन फरक क्रिकेट मैदानमा भएको छनोट खेलमा ईजाइन क्रिकेट क्लबले चन्द्र ज्योति क्रिकेट क्लबलाई ४ विकेटले, त्रिसिद्धेश्वरी स्पोर्ट्स क्लबले युएनबीसी क्रिकेट क्लब घोराहीलाई ३५ रनले तथा पुरन्धारा क्रिकेट क्लबले डाँफे युवा क्लबलाई २० रनले पराजित गरेको छ।

घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा त्रिसिद्धेश्वरी स्पोर्ट्स क्लब र युएनबीसी घोराही बीच खेल भएको थियो । जसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको त्रिसिद्धेश्वरी स्पोर्ट्स क्लब ३० ओभरमा सबै विकेट गुमाएर १ सय ११ रनमै समेटियो ।

त्रिसिद्धेश्वरीका लाथि नवीन केसीले ३५ रन र कमल चौधरीले २८ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । त्रिसिद्धेश्वरी स्पोर्ट्स क्लबलाई दबाबमा राखेर युएनबीसीका सुरेस बिएमले ५ विकेट लिए । बिरु घर्तीले ३ विकेट र प्रवेश केसीले १ विकेट लिए ।

Blog Post Ad

केवल १ सय १२ रन मात्रै विजयी लक्ष्य पाएको युएनबीसी सम्हालिएर खेल्न नसक्दा १६ दशमलव २ ओभर खेल्दै ७६ रनमै अलआउट हुन पुग्यो ।
युएनबीसीका लागि आकाश गुरुङले २४ रन, मनोज थापाले १२ रन बनाए पनि अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

युएनबीसीलाई सस्तैमा समेट्न त्रिसिद्धेश्वरीका सुरज केसीले ५ विकेट लिए तथा स्माइल अन्सारीले ३ विकेट र ड्यानिस अन्सारीले १ विकेट लिएसँगै त्रिसिद्धेश्वरी ३५ रनले विजयी भयो । खेलको म्यान अफ द म्याच त्रिसिद्धेश्वरीका सुरज केसी भए ।

यसैगरी, दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा इजाइन क्रिकेट क्लब र चन्द्र ज्योति क्रिकेट क्लब बिच खेल भएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको चन्द्र ज्योतिले ३८ दशमलव १ ओभरमा सबै विकेट गुमाएर १ सय ६६ रन बनायो ।

चन्द्रज्योतिका लागि हेमन्त जिएमले ३१ रन, बनु जिएमले ३० रन, नारायण गिरीले २० रन, जोख जिएमले १५ रन, प्रशान्त बस्याल र सुरेस दर्लामीले समान ११-११ रन बनाए ।

इजाइनका विराट सिंह भण्डारीले कसिलो बलिङ गर्दै ५ विकेट लिए । मदन घर्ती र सुशान्त सिंह थापाले समान २(२ तथा सक्षम शर्माले १ विकेट लिए ।

१ सय ६७ रनको लक्ष्य पछ्याएको इजाइनले २३ दशमलव ५ ओभर खेल्दै ६ विकेट गुमाएर १ सय ७० रन बनाउदै सहज जीत निकाल्यो । यो सँगै इजाइनले ४ विकेटले जित हासिल गर्यो ।

इजाइनका लागि विराट सिंह भण्डारीले ३८ रन, सुशान्त सिंह थापाले ३५ रन, सुजन पुनले ३० रन, कप्तान अमृत घर्तीले अविजित २० रन र हेमराज सापकोटाले १२ रन बनाए ।

उक्त खेलमा चन्द्रज्योतिका हेमन्त जिएमले ३ विकेट लिँदा मिलन सुनार र युगल बस्नेतले १-१ विकेट लिए । खेलको म्यान अफ द म्याच इजाइनका विराट सिंह भण्डारी भए ।

उता, बबईस्थित हंसपुर क्रिकेट मैदानमा पुरन्धारा क्रिकेट क्लब र डाँफे युवा क्लब बीच खेल भएको थियो । उक्त खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पुरन्धाराले २२ ओभरमा सबै विकेट गुमाएर ८३ रनमै समेटियो ।

पुरन्धाराका लागि सेनेज रानाले १६ रन, भोजराज खत्रीले १५ रन र थम्मन वलीले १३ रन बनाए । अरु खेलाडीले रन बनाउन सकेनन् । डाँफेका दिनेश नेपालीले ४ विकेट, मोहम्मद नासिरले ३ विकेट र विजय डिसीले २ विकेट लिए ।

८४ को सामान्य लक्ष्य पाएको डाँफे युवा क्लवको शुरुवातबाटै लगातार विकेट पतन हुँदा १५ ओभरमा अलआउट हुँदै ६३ रनमै समेटिए पछि पुरन्धारा २० रनले विजयी भयो ।
डाँफेका लागि मोहम्मद नासिरले २० रन, विजय डिसीले १० रन, दिनेश नेपालीले ८ रन र धन बहादुर केसीले ५ रन बनाए । अरु खेलाडीले सम्झन लायक प्रदर्शन गरेनन् ।
डाँफेलाई सस्तैमा समेट्न पुरन्धाराका हरिस केसीले ४ विकेट, सुजल वलीले ३ विकेट र मोहन खत्रीले २ विकेट लिए । खेलको म्यान अफ द म्याच पुरन्धाराका हरिस केसी भए ।

जिल्ला क्रिकेट संघमा आवद्ध ९ क्लबबीच प्रतिष्पर्धा गराउँदै प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटका लागि दाङको खेलाडी छनोट गरिने भएको छ । जिल्लामा रहेका ९ वटा क्रिकेट क्लबका टीम बीच भ्याकेशन लिग जारी छ ।

प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि जिल्ला छनोट ६ गते देखि ९ क्लब बीच जारी छ । प्रतियोगिता १० गतेसम्म चल्ने छ । त्यसपछि जिल्लाबाट खेल प्रदर्शनका आधारमा खेलाडी छनोट हुने दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिए ।

 

Blog Post Ad Blog Post Ad