Ad Area

प्रधानमन्त्री कप क्रिकेट छनोटमा त्रिसिद्धेश्वरी, पुरन्धारा र युएनबीसी विजयी


घोराही, ९ पुस । आगामि माघको पहिलो साताबाट हुने प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट २०८० का लागि सोमबार भएको जिल्ला स्तरीय छनोट खेलमा त्रिसिद्धेश्वरी स्पोर्ट्स क्लब, पुरन्धारा क्रिकेट क्लब र युएनबीसी क्रिकेट क्लब विजयी भएका छन् ।

दाङका तीन फरक क्रिकेट म‌ैदानमा एकैसाथ भएको खेलमा त्रिसिद्धेश्वरी क्रिकेट क्लबले चन्द्रज्योति क्रिकेट क्लबलाई ४७ रन, पुरन्धारा क्रिकेट क्लबले इजाईन क्रिकेट क्लबलाई ७ विकेट र युएनबीसी क्रिकेट क्लबले इन्द्रेणी क्रिकेट क्लबलाई ७९ रनले पराजित गरेका क्रिकेट संघ दाङका सचिव सन्जु क्षेत्रीले जानकारी दिए ।

क्रिकेट संघ, दाङको आयोजनामा जारी प्रधानमन्त्री कपको एक दिवसीय दाङ जिल्ला छनोट अन्तरगत घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा त्रिसिद्धेश्वरी स्पोर्ट्स क्लब र चन्द्रज्योति क्रिकेट क्लब बीच खेल भएको थियो । टस जितेर पहिला ब्याटिङको गरेको त्रिसिद्धेश्वरी स्पोर्ट्स क्लब २७ दशमलव १ ओभरमा सबै विकेट गुमाएर १ सय २४ रनमै समेटियो ।

त्रिसिद्धेश्वरीका लागि शंकर बुढाले २३ रन, नवीन बिकले २२ रन, कमल चौधरीले १३ रन, सुरज केसीले १२ रन, दिनेश रावतले ९ रन बनाउँदै टिमका लागि १ सय २४ रनको योगदान दिए । चन्द्रज्योतिका हेमन्त जिएमले ५, नारायण गिरीले ४ र युगल केसीले १ विकेट लिए ।

१ सय २५ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको चन्द्रज्योति २५ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ७७ रनमा समेटियो । चन्द्रज्योतिका लागि हेमन्त जिएमले २१ रन, भानु जिएमले १७ रन, पवन बस्नेतले ८ रन, गोविन्द बुढाथोकीले ७ रन बनाए । त्रिसिद्धेश्वरीका बिनोद बिकले ३ विकेट लिँदा सुरज केसी र सन्दिप केसीले २-२ तथा कर्णबीर सार्की र विप्लव खड्काले १-१ विकेट लिए ।

Blog Post Ad

उता, बबई गाउँपालिकाको हंसपुरस्थित पुरन्धारा क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ईजाईन क्रिकेट क्लबले १४ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ६७ रन बनायो । ईजाईनका लागि विशाल डिसीले १४ रन, भरत झाँक्रीले ११ रन, सुशान्त सिंह थापाले ९ र विराट भण्डारीले ५ रनको योगदान दिनु बाहेक अरु खेलाडी क्रिजमा टिक्न सकेनन् । ईजाईनलाई कम रनमा रोक्न पुरन्धाराका हरिस केसीले ३, मोहन खत्री, थमन वली र सुजल वलीले समान २-२ विकेट लिए ।
जम्मा ६८ रनको झिनो लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको पुरन्धाराका भोजराज खत्रीले अविजित बिस्फोटक पारी खेल्दै १० दशमलव ४ ओभरमा ३ विकेटको क्षतिमा जीत निकाल्न सफल हुनुभयो । सो पारीमा मोहन खत्रीले पनि ११ रन बनाउनुभयो ।

ईजाईनका विराट भण्डारीले २ र सुशान्त सिंह थापाले १ विकेट लिए ।

यसअघि, दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा युएनबीसी र इन्द्रेणी क्रिकेट क्लबबीच भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएनबीसीले ४० दशमदल ४ ओभरमा सबै विकेट गुमाएर १ सय ९८ रनको प्रतिष्पर्धात्मक लक्ष्य प्रस्तुत गरिएको हो ।

युएनबीसीका लागि विजय पुन मगरले ५० रन बनाए । आकाश गुरुङले ४६ रन, विक्रम रोका क्षेत्रीले ४३ रन र सुरेद्र बुढाले ७ रन बनाउनु बाहेक अरु खेलाडीका ब्याटिङ चलेन ।

प्रतियोगितामा इन्देणीका सागर पोख्रेलले ३,जीवन सुवेदी र रोमन सुनारले २-२ तथा दीलिप बिष्टले १ विकेट लिए ।

१ सय ९९ रनको विजयी लक्ष्य पछ्याएको इन्द्रेणी क्रिकेट क्लब १ सय १९ रनमा समेटियो । इन्द्रेणीका लागि रुपेन्द्र परियारले ५१ रन बनाए पनि जीतका लागि पर्याप्त हुन सकेन । अंशुमान पोख्रेलले १४ रन, दीपक भुलले १० रन बनाए ।

युएनबीसीका वीर बहादुर घर्ती र विजय बाँठाले ४-४ र सुरेश बुढाले २ विकेट लिए ।

छनोट खेल अन्तरगत शनिबार ईजाइन क्रिकेट क्लबले चन्द्र ज्योति क्रिकेट क्लबलाई ४ विकेटले, त्रिसिद्धेश्वरी स्पोर्ट्स क्लबले युएनबीसी क्रिकेट क्लब घोराहीलाई ३५ रनले तथा पुरन्धारा क्रिकेट क्लबले डाँफे युवा क्लबलाई २० रनले पराजित गरेको थियो ।

जिल्ला क्रिकेट संघमा आवद्ध ९ क्लबबीच प्रतिष्पर्धा गराउँदै प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटका लागि दाङको खेलाडी छनोट गरिने छ । त्यसपछि लुम्बिनी प्रदेश जिल्लाबाट खेल प्रदर्शनका आधारमा खेलाडी छनोट हुने दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिए । प्रदेश स्तरीय छनोट प्रतियोगिता पुस १२ गतेदेखि २२ गतेसम्म सिद्धार्थ क्रिकेट रंगशाला भैरहवामा हुनेछ। प्रदेशबाट ७ वटा जिल्लाबीच हुने छनोट खेलमा दाङ समूह बी मा परेको लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश राेकामगरले जानकारी दिए । उनका अनुसार, समूह ए मा रुपन्देही, कपिलवस्तु, पाल्पा र नवलपरासी रहेका छन् भने समूह बी मा दाङसहित बाँके र बर्दिया रहेका छन् ।

 

Blog Post Ad Blog Post Ad