Ad Area

शिशिर डिसीको शतकमा घोराही क्रिकेट एकेडेमीको सहज जीत


घोराही, १० पुस । प्रतिभावान युवा क्रिकेटर शिशिर डिसीको शतक प्रेरित प्रधानमन्त्री कप दाङ जिल्ला पुरुष क्रिकेट छनोट प्रतियोगिता २०८० मा घोराही क्रिकेट एकेडेमीले डाँफे युवा क्लबलाई १ सय ५ रनको विशाल अन्तरले पराजित गरेको छ ।

घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा मंगलबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घोराही क्रिकेट एकेडेमीले पूरै ओभर खेल्दै २ सय ६५ रन बनाएको थियो । घोराहीका लागि शिशिर डिसीले १७ चौकाको मद्दतमा १ सय १ रन बनाए । यो उनको खेल जीवनको पहिलो शतक हो । उनी मोहम्मद यासिरको बलमा बोल्डआउट भए । यसैगरी, आयुष वलीले २७ रन, करण घर्ती मगरले २३ रन, आशिष वली, आकाश चौधरी र किशन भारतीले समान १२–१२ रन, सचिन आचार्यले १० रन, अजय रोका र विजय बुढा मगरले ९–९ रनको योगदान दिए । डाँफेका दिनेश नेपालीले ३ विकेट लिँदा धनबहादुर केसी र आकर्ष पाण्डेले समान २–२ विकेट लिए । मोहम्मद नासिर र सन्जय रावतले १–१ विकेट लिए ।

२ सय ६६ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको डाँफे युवा क्लब ३० दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६० रनमै समेटियो ।
डाँफेका लागि जीतको आशा जगाउँदै मोहम्मद यासिरले ७५ बलमा ९ चौका र ३ छक्कासहित ७७ रनको योगदान दिए । उनी आयुष वलीको बलमा क्याच आउट हुन पुगे । तर अरु खेलाडीले डाँफेका लागि सम्झन लायक प्रदर्शन नगर्दा टीमले हार व्यहोर्यो । डाँफेका ४ जना खेलाडी शुन्य रनमै पेभेलियन फर्किएका थिए । सुशांक बस्नेतले २० रन, दिनेश नेपालीले १५ रन, विजय डाँगीले १३ रन, धनबहादुर केसीले १० रन, मोहम्मद नासिरले ५ रन, मोहम्मद सैफले ४ रन बनाए ।

घोराहीलाई जीत दिलाउन कसिलो बलिङ्ग गर्दै अजय रोकाले ३ विकेट लिए । आयुष वली र विजय बुढाले २–२ विकेट लिँदा आशिष वली र करण घर्ती मगरले १–१ विकेट लिएसँगै घोराहीले डाँफे युवा क्लब विरुद्ध १ सय ५ रनको जीत हासिल गरेको हो । । प्रतियोगितामा शतक बनाउने घोराही क्रिकेट एकेडेमीका शिशिर डिसी म्यान अफ द म्याच भए । यसअघि जिल्ला छनोटका खेलहरु दाङका तीन फरक क्रिकेट मैदानमा एकैसाथ भएको क्रिकेट संघ दाङका सचिव सन्जु क्षेत्रीले जानकारी दिए ।

देउखुरी वारियर्स ५ विकेटले विजयी

दाङ जिल्ला क्रिकेट संघको आयोजनामा लमही ५ स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मंगलबार भएको खेलमा देउखुरी वारियर्स ५ विकेटले विजयी भएको छ ।
देउखुरी वारियर्स र चन्द्रज्योति क्रिकेट क्लब बिच भएको खेलमा देउखुरी वारियर्सले ५ विकेटकाे जीत हासिल गरेकाे हो ।
टस जितेर पहिले ब्याटिङ गरेको चन्द्रज्योतिले २३ दशमलव ३ ओभरमा सम्पुर्ण विकेट गुमाएर ६६ रनमै समेटियो ।
चन्द्रज्योतिको लागि सुरेश दर्लामीले सर्वाधिक २४ रन बनाए । नारायण गिरीले ६ रन, बनु जिएमले ५ रन बनाउनु बाहेक अरु खेलाडीले सम्झनलायक खेल्न सकेनन् ।
थाेरै रनमा समेट्न वारियर्सका कप्तान अर्जुन बस्नेत र शुभम खनालले ३-३ विकेट लिए । राज कुमार कुमालले २ विकेट लिए भने सूर्य थापाले १ विकेट लिए।
६७ रनको विजयी लक्ष्य पछ्याएको वारियर्सले १८ दशमलव ४ ओभर खेल्दै आफ्नो ५ विकेटकाे क्षतिमा लक्ष्य भेटायाे।
वारियर्सका लागि सुरज खनालले सर्वाधिक २१ रन बनाए । समीप पौडेलले १६ रन बनाए ।
जीवन खनालले ६ रन, अर्जुन बस्नेतले ४ रन बनाए । अरु खेलाडी सस्तैमा पेभेलियन फर्किए ।
बलिङ तर्फ चन्द्रज्योतिका हेमन्त जिएमले ४ विकेट र युगल बस्नेतले १ विकेट लिए । खेलको म्यान अफ द म्याच देउखुरी वारियर्सका शुभम खनाल भए ।

क्रिकेट संघ, दाङको आयोजनामा आगामि माघको पहिलो साताबाट हुने प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटका लागि दाङ क्रिकेट संघमा आवद्ध ९ क्लबबीच प्रतिष्पर्धा गरिएको थियो । ९ टीमबाट सहभागी खेलाडीहरुको खेल प्रदर्शनका आधारमा प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटका लागि दाङको खेलाडी छनोट गरिने छ । त्यसपछि लुम्बिनी प्रदेश जिल्लाबाट खेल प्रदर्शनका आधारमा खेलाडी छनोट हुने दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिए ।

Blog Post Ad

प्रदेश स्तरीय छनोट प्रतियोगिता पुस १२ गतेदेखि २२ गतेसम्म सिद्धार्थ क्रिकेट रंगशाला भैरहवामा हुने भएको छ । प्रदेशबाट ७ वटा जिल्लाबीच हुने छनोट खेलमा दाङ समूह बी मा परेको लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोकामगरले जानकारी दिए । उनका अनुसार, समूह ए मा रुपन्देही, कपिलवस्तु, पाल्पा र नवलपरासी रहेका छन् भने समूह बी मा दाङसहित बाँके र बर्दिया रहेका छन् ।

Blog Post Ad Blog Post Ad