Ad Area

सानीभेरीमा स्त्री रोग विशेषज्ञ सहितको स्वास्थ्य शिविर शुरु


रुकुम पश्चिम, १७ पुस । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा वृहत प्रजनन स्वास्थ्य शिविर शुरु भएको छ । नेपाल परिवार नियोजन संघको आयोजना, आइ.पि.पि.एफ स्प्रिन्ट परियोजनाको सहयोग र सानोभेरी गाउँपालिकाको व्यवस्थापनमा प्रजनन स्वास्थ्य शिविर सञ्चालन शुरु भएको हो ।

मंगलबार पहिलो दिन सानीभेरी गाउँपालिका वडा नम्बर १ चाइनाबगरमा गाउँपालिका उपाध्यक्ष कमला रोकाले शिबिरको उद्घाटन गर्नुभयो । कार्यक्रममा उपाध्यक्ष रोकाले भूकम्प प्रभावितहरुको घाउमा मल्हम लगाउन तथा लुकेर रहेका प्रजनन स्वास्थ्य सम्बन्धिका बिरामीका लागि परिवार नियोजन संघले निभाएको भुमिका प्रति आभार प्रर्कट गर्नुभयो । शिविर पालिका भित्रका ९ वटा स्थानमा सञ्चालन हुने भएको छ भने सम्बन्धित वडाका समुदायलाई आफुलाई पायक पर्ने स्थानमा गई सेवा लिन समेत आग्रह गरिएको छ ।

त्यस्तै नेपाल परिवार नियोजन संघ दाङका शाखा प्रबन्धक बसन्त खनालले विपदको समयमा प्रजनन स्वास्थ्य सेवाको महत्व र आवश्यकता बारेमा स्पष्ट पार्नुभएको थियो । शिविरमा लैङ्गिक हिंसा, गर्भवति महिला, सुत्केरी महिला, किशोर किशोरीलाई प्रजनन स्वास्थ्य सम्बन्धि सेवा र परामर्श, यौन रोग तथा एचआइभी एड्स सम्बन्धि परामर्श तथा उपचार सेवा, परिवार नियोजन सेवा, पाठेघर मुखको क्यान्सरको स्कृनिङ सेवा लगायत विभिन्न सेवाहरु शिविरबाट प्रदान गरिने शाखा प्रबन्धक खनालले जानकारी दिनुभयो ।

सानीभेरी १ को स्वास्थ्य चौकी चाईनाबगरबाट शुरु भएको वृहत प्रजनन स्वास्थ्य शिविर बुधबार १८ गते वडा नम्बर ५ को वडा कार्यालय लाखुरीबोटमा सञ्चालन हुने सानीभेरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विजय कुमार ओलीले जानकारी दिनुभयो । प्रमुख ओलीका अनुसार १९ गते सानीभेरी ६ को आधारभूत स्वास्थ्य सेवा केन्द्र खेतमा, २० गते सानीभेरी ९ को आधारभूत स्वास्थ्य सेवा केन्द्र पनेलचौरमा, २१ गते सानीभेरी ३ को सूर्योदय मावि बेल्टापुमा, २२ गते सानीभेरी ११ को अर्मा स्वास्थ्य चौकी काफलबोटमा, २३ गते सानीभेरी १० को अर्मा स्वास्थ्य सेवा केन्द्र घण्ठानामा, २४ गते गाउँपालिका अस्पताल छोटेबगरमा र २५ गते सानीभेरी ४ को गरायला स्वास्थ्य चौकी बलिबाङमा शिविर संचालन हुनेछ ।

Blog Post Ad

सानीभेरी पश्चात भुकम्पबाट प्रभावित क्षेत्र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका, जाजरकोटको नलगाड नगरपालिका, र बारेकोट गाउँपालिकामा प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिने शाखा प्रबन्धक खनालले जानकारी दिनुभयो । सो शिविरमा नेपाल परिवार नियोजन संघबाट खटिनु भएका स्त्री रोग विशेषज्ञ डा. अस्मिता पाठकको नेतृत्वको स्वास्थ्यकर्मी टोलीले सेवा दिईरहेको छ ।

Blog Post Ad Blog Post Ad