Ad Area

ग्यास उत्पादनका लागि पशु पाल्ने तयारी, जग्गा दिन घोराही उपमहानगर सकारात्मक


दाङ, १९ पुस । घोराही उपमहानगरपालिका वडा नम्बर १६ तेरौटेमा रहेको बायोग्यास प्लान्टले फोहोर अभावमा लक्षित घरधुरीमा पु¥याउने गरी ग्यास उत्पादन गर्न सकिरहेको छैन । फोहोर जुटाइदिन विभिन्न स्थानीय तह समक्ष गुहारेको प्लान्टले फोहोर पाउन सकेन । अन्ततः गोबरका लागि पशु पाल्ने योजनामा प्लान्ट पुग्यो । घोराही उपमहानगरलाई पशुपालनका लागि जग्गा व्यवस्था गरिदिन आग्रह गरिएको छ ।

घोराही उपमहानर पनि ग्यास उत्पादनका लागि पशुपालन गर्न जग्गा दिन सकारात्मक देखिएको छ तर उपमहानगरले जग्गा उपलब्ध गराउने विषयमा निर्णय भने गरिसकेको छैन । घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले ग्यास उत्पादनका लागि फोहोर कम भएको र पशुपालन गर्न भनेर जग्गा माग भएको बताए । जग्गा माग भए पनि हालसम्म दिने निर्णय भने भइ नसकेको नगर प्रमुख चौधरीले बताए ।

‘फोहोर कम भएको र गोबरका लागि पशुपालन गर्न भनेर ग्यास प्लान्टबाट जग्गा माग भएको छ, अहिलेसम्म जग्गाबारे कुनै पनि निर्णय गरिएको छैन’, नगर प्रमुख चौधरीले भने । यसबारे कार्यपालिकाको बैठकबाट निर्णय गरिने उनले बताए । ‘पशुपालन गर्नका लागि जग्गा दिने विषयमा धेरैको सकारात्मक धारणा छ’, नगर प्रमुख चौधरीले भने, ‘कार्यपालिकाको बैठकमा यसबारे छलफल गर्छौँ र एकखालको निर्णय होला ।’ पशुपालन गरेर गोबर थप भएपछि फुल–फेजमा ग्यास उत्पादन गर्न सकिने उनको भनाइ छ ।

यसैगरी नगरका छाडा पशुलाइ समेत व्यवस्थापन गर्न सहयोग पुग्ने प्रमुख चौधरीले बताए । पशुपालनका लागि ग्यास प्लान्टले एक बिगाह जग्गा माग गरेको छ । घोराहीमा उत्पादन हुने फोहोर ग्यास उत्पादनका लागि पर्याप्त नहुने घोराही उपमहानगरपालिका सरसफाई व्यवस्थापन शाखा प्रमुख लक्ष्मण अधिकारीले जानकारी दिए । ग्यासका लागि दैनिक ३० टन फोहोर आवश्यक पर्ने भए पनि हाल घोराही क्षेत्रबाट ग्यास उत्पादनका लागि चाहिने गल्ने फोहोर भने ८ देखि १० टन मात्रै सङ्कलन हुने गर्दछ । घोराहीमा हाल दैनिक १५ देखि १६ टन फोहोर उत्पादन हुने गरेको छ । जुन गल्ने र नगल्ने दुवै खालको फोहोर रहेको शाखा अधिकृत अधिकारीले बताए ।

अहिले बङ्गुरपालन गर्नेले दाना घरघरबाट उठाउने गरेकाले पनि ग्यासका लागि फोहोर कम भएको उनले बताए । ‘घरघरमा भाँडा राखेर बङ्गुरपालक किसानले फोहोर उठाउने गरेकाले ग्यासको लागि आवश्यक फोहोर कम भएको हो’, शाखा प्रमुख अधिकारीले भने । उपमहानगरपालिकाले गल्ने र नगल्ने फोहोर छुट्टाछुट्टै उठाउने गरेको छ । ग्यासका लागि आवश्यक गल्ने फोहोर ग्यास प्लान्टले लैजाने गरेको छ भने नगल्ने फोहोरमध्ये बिक्रीका लागि योग्यवस्तु बिक्री गर्ने गरिएको शाखा प्रमुख अधिकारीले बताए । बाँकी रहेको फोहोर नष्ट गर्ने गरिएको छ । उपमहानगपालिकाले पछिल्लो समयमा फोहोर व्यवस्थापनका लागि निजी क्षेत्रलाई दिने गरी तयारी समेत गरेको बताइएको छ । निजी क्षेत्रलाई फोहोर उठाउनेदेखि व्यवस्थापनसम्मको जिम्मा दिने गरी तयारी गरिएको उपमहानगरपालिका स्रोतले जनाएको छ । यसका लागि तयारी समेत सुरु गरिएको जनाइएको छ । निजी क्षेत्रलाई जिम्मेवारी दिनका लागि अध्ययन समेत सुरु गरिएको बताइएको छ ।

वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र, नेपाल ऊर्जा विकास कम्पनी र घोराही उपमहानगरपालिकाबिच त्रिपक्षीय सहकार्यमा घोराहीमा फोहोरबाट ग्यास उत्पादन गर्न थालिएको हो । त्रिपक्षीय सम्झौता २०७५ मंसिर ५ मा भएको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad