Ad Area

प्रधानमन्त्री कप छनोट, बर्दियालाई २ विकेटले हराउँदै दाङ बिजयी


लमही,१९ पुस । प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय एक दिवसीय क्रिकेट छनोट प्रतियोगितामा बर्दियालाई २ विकेटले हराउँदै दाङ बिजयी भएको छ । दाङको लमहीस्थीत देउखुरी क्रिकेट मैदानमा भएको समुह ‘बी’ अन्तरगतको दोस्रो खेलमा बर्दियालाई हराउँदै दाङको टिम बिजयी भएको हो ।

पहिले टस जितेर ब्याटिङ गरेको बर्दियाले ४०.१ ओभर खेल्दै आफ्नो सम्पूर्ण विकेट गुमाएर १ सय ४९ रन बनायो । बर्दियाको योगफल तयार गर्न हेमन्त आचार्यले सर्वाधिक ७५ बलमा ३ चौका प्रहार गर्दै ४९ रनको योगदान दिए । त्यस्तै कप्तान सुमित श्रेष्ठले २४ रन, असिम गिरिले २३ रन र नितेश न्यौपानेले १९ रन बनाए । अन्यले दोहोरो अंक जोड्न समेत सकेनन् ।

बर्दियालाई सस्तैमा समेट्न बलिङतर्फ दाङका बीरबहादुर घर्तीमगरले ७.१ ओभरमा १ मेडन राख्दै २२ रन खर्चेर ३ विकेट लिए । त्यस्तै विराटसिंह भण्डारीले २ विकेट लिए भने मोहन खत्री, सुजल वली र शुभम खनालले समान १–१ विकेट लिएका थिए । जवाफी १ सय ५० रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको दाङले ३९. ३ ओभरमा आफ्नो महत्वपूर्ण ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

दाङलाई जित दिलाउन विराटसिंह भण्डारीले उत्कृष्ट अर्धशतकिय पारी खेल्दै ७३ रनको योगदान दिए । उनले ८० बलमा अर्धशतक बनाएका थिए भने १ सय ३३ बलको सामना गर्दै ५ चौकाको मद्दतमा ७३ रनको नटआउट पारी खेले । त्यस्तै मोहन खत्रीले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक भने बनाउन सकेनन् ।

बर्दियाका निर्मल गुरुङ र सौगात खत्रीले समान २–२ विकेट लए भने सुमित श्रेष्ठ र सोलुप चौधरीले १–१ विकेट लिएपनि दाङलाई हराउन भने सकेनन् । प्रतियोगितामा अर्धशतकिय पारी खेलेका दाङका विराटसिंह भण्डारी म्यान अफ दि म्याच घोषित भए ।प्रतियोगिता मौसमका कारणले ४१ ओभरमा छोट्टाईएको थियो । दाङले शुक्रबार बाँकेसँग भिड्नेछ । प्रतियोगितामा लुम्बिनी प्रदेशका ७ जिल्लाले सहभागी जनाएका छन । सहभागी टिमहरुलाई २ भागमा बिभाजन गरिएको छ ।

समूह ‘ए’ मा रुपन्देही, पाल्पा, नवलपरासी र कपिलबस्तु छन भने समूह ‘बी’ मा दाङ, बाँके र बर्दिया रहेका छन । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीबाट प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तीय टिम छनोट गरिनेछ छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad