मेयरकप फुटबल प्रतियोगिता शुरु, वडा नम्बर १३ र १४ बराबरी, १५ को विजयी शुरुवात

घोराही, २० पुस । घोराहीमा मेयरकप फुटबल प्रतियोगिता शुरु भएको छ । शुक्रबारबाट शुरु भएको छैठौं संस्करणको मेयरकपको उद्घाटन खेलमा साविक विजेता वडा नम्बर १३ र उपविजेता वडा नम्बर १४ ले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेर शुरुवात गरेका छन् ।
घोराही १८ नवलपुर खेल मैदानमा जारी प्रतियोगितामा दुवै गोल दोश्रो हाफमा भएको थियो । वडा नम्बर १३ ले गोल गर्दै अग्रता बनाएपनि खेलको इन्जुरी समयमा वडा नम्बर १४ का खेलाडीले गोल गरेपछि हारबाट बच्दै दुवै टीमले १–१ अंक बाँडेका छन् । यसैगरी, दोश्रो खेलमा वडा नम्बर १५ ले वडा नम्बर ४ लाई ३–० गोलले हराउँदै विजयी शुरुवात गरेको छ । पहिलो हाफमा २ गोल गरेको वडा नम्बर नम्बर १५ ले दोश्रो हाफमा थप एक गोल गर्दै ३ अंक जोडेको छ ।
घोराहीउपमहानगरपालिका नगर खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनको अध्यक्षता तथा नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यमा भएको हो । सो अवसरमा प्रमुख अतिथि चौधरीले खेलमा पालिकाले एक वडा एक खेल मैदान, स्वस्थ युवा बनाउने अभियानलाई सफल बनाउन पालिकामा तालिका बनाएरै हरेक प्रकारका खेलकुदका गतिविधि शुरु गरेको बताउनुभयो ।
उहाँले युवाहरुलाई खेलकुदमा जोड्दै उनीहरुको खेल क्षमताको विकास गर्न र खेल क्षेत्रलाई व्यावसायिक बनाउने नीतिलाई अघि सारेर हरेक वर्ष मेयर कप थालनी गरिएको बताउनुभयो ।
लिग कम नकआउटका आधारमा खेलाईने मेयर कप फुटबलमा पालिकाका १९ वटै वडाले भाग लिएका छन् । चार समुहमा विभाजन गरिएको खेलमा हरेक दिन ३ वटा खेल हुनेछ ।
लिग चरणको खेल माघ ६ गतेसम्म हुनेछ । क्वाटर फाईनल माघ ८ र ९ गते हुनेछ भने सेमिफाईनल माघ ११ गते तथा फाईनल खेल माघ १३ गते हुने भएको छ ।