Ad Area

दाङमा माघी महोत्सवको रौनक  


घोेराही, २१ पुस । घोराहीमा दुईदिने माघ सांस्कृतिक महोत्सव शुरु भएको छ । थारु कल्याणकारी सभा दाङ देउखुरीको आयोजनामा घोराहीमा दुईदिने माघ सांस्कृतिक महोत्सवको उदघाटन घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले गर्नुभयो ।

सदरमुकाम घोराहीको ट्राफिकचोकबाट शुरु भएको झाँकीसहितको जुलुस बजार परिक्रमापछि शहीद मञ्चमा पुगेर सभामा परिणत भएको थियो ।   अधिकांश महिला सहभागी कार्यक्रममा जिल्लाभरबाट थारु समुदायको उपस्थिती रहेको थियो ।

तराईका आदिवासी तथा धर्तिपुत्र मानिने थारु समुदायले आफ्नो संस्कृति जोगाउन भन्दै माघ साँस्कृतिक महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सव पुस २१ गतेसम्म चल्नेछ ।

थारु भाषा, कला, संस्कृति लोप भइरहेकाले त्यसको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको थारु कल्याणकारिणी सभाका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक अशोक चौधरीले बताउनुभयो । यस महोत्सवले थारु भाषा, कला, संस्कृतिको प्रवद्र्धनका साथै जिल्लाको पर्यटनको विकासमा समेत थप टेवा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

‘आर्थिक जागरण र साँस्कृतिक रुपान्तरण हाम्रो अभियान, सामाजिक न्यायसहितको समृद्धिमा हाम्रो योगदान’ भन्ने मुल नारासहित शुरु भएको महोत्सवमा थारु परिकार, माछा, घोंगी, गंगटा, सुंगुरको मासु, लोकल भालेको मासु, मुसाको मासु, ढिक्री, अनदीको रोटी, झोलसहितका परिकारहरु विक्रीवितरणको लागि राखिएका छन् ।

थारु भाषा, कला, संस्कृति, पुस्तक, पत्रपत्रिकाहरु पनि महोत्सवमा राखिने छन् । थारु हस्तकला ढकिया, खोंग्या, भौका, भौकी, गोन्द्री, छत्री, खटिया, डोली, डोला, थारु गरगहना र मिनी थारु संग्रहालयहरु महोत्सवका थप आकर्षण रहनेछन् ।

Blog Post Ad

सभाका अध्यक्ष अशोक चौधरीको अध्यक्षतामा  भएको महोत्सवमा नगरप्रमुख नरुलाल चौधरीले दाङ थारु जातिको मूल थलो भएको जिल्ला भएकाले थारु कला संस्कृति संरक्षणमा राज्यको चासो रहेको बताउनुभयो । हरेक जातजातिको आ–आफ्नै पहिचान रहेको बताउँदै उहाँले कला,संस्कृति र रीतिरिवाजको धनी मानिएको थारु जातिको इतिहास बचाउँदै यसलाई सांस्कृतिक पर्यटनसँग जोडेर आयआर्जनको आधार बनाउनुपर्ने बताउनुभयो ।
दुईदिने महोत्सवमा थारु अगुवा, संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मघौटा, हुर्डुंग्या, छोक्रा लगायत ६ दर्जनभन्दा बढी नाचको प्रस्तुति रहनेछन् । पहिलो दिन विभिन्न प्रकारका माघी सम्बन्धी नृत्य प्रस्तुत भएका छन् । जिल्लाका सबै पालिकाका विभिन्न मौलिक नाच, मघौटा ढुमरु गीतको प्रस्तुति सहित थारु राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुति समेत महोत्सवमा रहने आयोजकले जनाएका छन् ।
यसैबीच, महोत्सवको अवसरमा थारु कला संस्कृति, संरक्षण र उत्थानका  कलम चलाएको भन्दै ४ जना पत्रकारसहित १७ जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा राप्ती पोष्टकर्मी तथा समानान्तर डटकमका प्रधान सम्पादक छबि पुरी, गणतन्त्र दैनिकका प्रकाशक सम्पादक सविन प्रियासन, हिमाल खबरकर्मी सन्तोष दहित र तेश्रो आँखा अनलाईनकर्मी अन्जना चौधरीलाई दोसल्ला ओढाएर प्रमाण पत्रसहित सम्मान गरिएको थियो । आयोजकले थारु कला, संस्कृति र जीवनका पक्षलाई गीत संगीतका माध्यमबाट उजागर गरेको भन्दै वरिष्ठ लोकगायिका चन्द्रकला शाह, प्रकाशप्रिय कुसुम्यालगायत शिक्षा, स्वास्थ्य, कृषि, संस्कृति, कानून तथा न्याय, सामाजिक  विकासका क्षेत्रमा योगदान दिएका थारु समुदायका विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

थारु समुदायले माघी पर्वलाई महान पर्वको रुपमा हरेक वर्ष मनाउँछन् । थारु समुदायको नयाँ वर्षको रुपमा समेत माघी परिचित छ । दाङ लगायत तराईका थारु बाहुल्य बस्तीमा अहिलेदेखि नै माघीको  रौनक छाएको छ । थारु गाउँबस्ती यति बेला माघीमय बनेको छ ।

Blog Post Ad Blog Post Ad