Ad Area

सानीभेरीमा संचालित स्वास्थ्य शिविरबाट पन्ध्र सय बढी लाभान्वित


रुकुमपश्चिम, २६ पुस । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा संचालित वृहत प्रजनन स्वास्थ्य शिविरबाट पन्ध्र सय बढीले स्वास्थ्य सेवा लिएका छन् ।

नेपाल परिवार नियोजन संघको आयोजना, आइपिपिएफ स्प्रीन्ट परियोजनाको सहयोग र सानोभेरी गाउँपालिकाको व्यवस्थापनमा संचालित प्रजनन स्वास्थ्य शिविरबाट सो क्षेत्रमा नागरिकले गाउँघरमै सहज रुपमा स्वास्थ्य सेवा लिएका हुन् ।

जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर १ चाइनाबगरबाट पुसको १९ गतेदेखि शुरु भएको वृहत स्वास्थ्य शिविर २५ गते सानीभेरी गाउँपालिकाको वडा नम्बर ४ बलिबाङमा पुगेर समापन गरिएको हो । ९ दिने स्वास्थ्य शिविरमा भूकम्पबाट प्रभावित महिला बालबालिका, अपाङ्गता, जेष्ठ नागरिकसमेतले घरआँगनमै सेवा लिएका हुन् । ९ दिने स्वास्थ्य शिविरमा एक हजार ५ सय ६१ जनाले सेवा लिएका छन् । सेवा लिनेमा महिला एक हजार ३ सय ९२ जना र पुरुष एक सय ६९ जना रहेका नेपाल परिवार नियोजन संघ दाङ शाखा प्रबन्धक बसन्त खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सेवा ९ सय ७२ जना, स्त्री रोग सम्बन्धी उपचार सेवा १ हजार २ सय १८ जना, इम्प्लान्ट सेवा १ सय १२ जना, आईयुसिडी सेवा ३ जनाले लिएका छन् । यसैगरी पाठेघर खसेको उपचार सेवा ३५ जना, सुत्केरी तथा गर्भवती सेवा १ सय १० जना, डिग्निटी किट १४ जना, भिआईए पोजिटीभ ५ जना, युएसजी सेवा १ सय ३ जना, अपाङ्गता सेवा २२ जना, बालबालिकाको उपचार सेवा १ सय २७ जना, जिबीभी सेवा ६१ जनाले लिएका उहाँले बताउनुभयो ।

Blog Post Ad

विपतको समयमा प्रजनन स्वास्थ्य सेवाको महत्व धेरै हुने जानकारी गराउँदै उहाँले स्वास्थ्य सेवाको पहुँचमा नपुगेको दूरदराजमा नागरिकलाई निकै आवश्यक रहेको देखिएको बताउनुभयो ।

उहाँले शिविरमार्फत विशेष गरी महिलालाई बढी प्राथमिकता दिएको बताउनुभयो । शिविरमा लैङ्गिक हिंसामा परेका, गर्भवति महिला, सुत्केरी, किशोरकिशोरीलाई प्रजनन स्वास्थ्य सम्बन्धी सेवा र परामर्श, यौन रोग तथा एचआइभी एड्स सम्बन्धी परामर्श तथा उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवा, पाठेघर मुखको क्यान्सरको स्क्रिनिङ सेवालगायत सेवाहरु शिविरबाट प्रदान गरिएको जानकारी दिनुभयो ।

भूकम्प प्रभावितहरुको पीडामा मल्हम लगाउन नेपाल परिवार नियोजन संघले निभाएको भुमिका प्रति स्थानीयपालिकाले आभार प्रकट गर्दै मानवीय सेवामा खटिएर पालिकाबासीको स्वास्थ्य सेवा गरेर गुन लगाएको भन्दै सम्मान पनि गरेको छ । शिविरमा लैगिंक हिंसा सम्बधि सेवाका लागि ओरेक नेपालले समेत सहयोग गरेको थियो ।

अब, सानीभेरी पश्चात भूकम्पबाट प्रभावित रुकुम पश्चिमको आठबिसकोट नगरपालिका, जाजरकोटको नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र कुशे गाउँपालिकामा प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिने शाखा प्रबन्धक खनालले जानकारी दिनुभयो । शिविरमा नेपाल परिवार नियोजन संघबाट स्त्री रोग विशेषज्ञ डा. अश्मिता पाठकको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलीले सेवा दिईरहेको छ ।

यसअघि पहिलो चरणमा भूकम्प अति प्रभावित जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा परिवार नियोजन संघले १५ वटा वृहत प्रजनन स्वास्थ्य शिविर सम्पन्न गरिसकेको छ ।

त्यसबखत भेरी नगरपालिकाको बोहोरा गाउँ, स्याला, बाहुनथाना, पिपेगाउँ, नलगाड नगरपालिकाको अनापानी, कैना सिर्के, दल्लि, बारेकोट गाउँपालिकाको सक्ला सेपुखोला, लिम्सा र भूकम्पको केन्द्रविन्दु भनिएको रामिडाँडा तथा रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको डाँडागाउ, गाउँबारी, बार्खु र घेत्मामा शिविर संचालन गरिएको छ । सो शिविरबाट २ हजार ६२ जना महिला र ३ सय ४० जना पुरुष गरि २ हजार ४ सय २ जनाले सेवा लिएका थिए ।

शिविरका भूकम्प प्रभावित समुदायका व्यक्ति र विद्यार्थीहरुलाई प्रजनन स्वास्थ्य तथा सरसफाई सम्बन्धी ३६ वटा सचेतनामुलक कार्यक्रममार्फत १ हजार २५ जनालाई सचेतिकरण पनि गरिएको शाखा प्रबन्धक खनालले जानकारी दिनुभयो । सो शिविरमा नियोजन संघबाट स्त्री रोग विशेषज्ञ डा. हेमा छन्त्याल नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान दिएको थियो । कुल ४८ वटा वृहत प्रजनन् स्वास्थ्य शिविर संचालन गर्ने गरी नेपाल परिवार नियोजन संघ दाङको टोली गत मंसीर १० गतेबाट भूकम्प प्रभावित क्षेत्रमा खटिएको छ ।

Blog Post Ad Blog Post Ad