Ad Area

मेयर कप फुटबलमा वडा नम्बर १०, १७ र १८ विजयी


घोराही, २६ पुस । घोराहीमा जारी छैठौ संस्करणको मेयर कप फुटबल प्रतियोगितामा सातौँ दिन भएको खेलमा वडा नम्बर १०, १७ र १८ विजयी भएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर फुटबल मैदानमा जारी लिग चरणको खेलमा वडा नम्बर १० ले वडा नम्बर ५ लाई ४–०, वडा नम्बर १७ ले वडा नम्बर ३ लाई ४–० तथा बेलुकी भएको अर्को खेलमा वडा नम्बर १८ ले वडा नम्बर १५ लाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

योसँगै समुह ए बाट वडा नम्बर १८ अपराजित हुँदै समुह विजेतका रुपमा अर्को चरणमा प्रवेश गरेको छ । पराजित भएको वडा नम्बर १५ पनि उपविजेता बन्दै अर्को चरणमा प्रवेश गरेको छ । वडा नम्बर १० र १७ पनि एक खेल अगावै अर्को चरणमा प्रवेश गरेका छन् । बिहीबार बिहान भएको खेलमा वडा नम्बर १७ का विक्रम बिक र अश्विन बिकले समान २–२ गोल गर्नुभयो ।

दिउँसो भएको अर्को खेलमा वडा नम्बर १० का शिशिर पुनले ह्याट्रिक गोल गर्नुभयो । उहाँले खेलको ५, १० र दोश्रो हाफको ९ मिनेटमा गोल गर्नुभयो । सागर पुनले ३४ मिनेटमा गोल गर्नुभएको थियो ।

यसैगरी, वडा नम्बर १८ का विश्वास श्रेष्ठ, सुमित पुन र सागर थारुले समान १–१ गोल गर्दा वडा नम्बर १५ का सुशील बानियाँले १ गोल गर्नुभयो । निकै प्रतिष्पर्धात्मक खेलमा वडा नम्बर १५ ले १–० को अग्रता बनाएपनि पुनरागमन गर्दै वडा नम्बर १८ ले लगातार ३ गोल गर्दै जीत आफ्नो पक्षमा पारेको हो । योसँगै जारी खेलमा बिहीबारसम्म सबै टीमले २० खेल खेलिसकेका छन् । हालसम्म ७० गोल भएको नगर खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनले जानकारी दिनुभयो ।

१५ र १८ बीच भएको खेलमा ७ जनालाई पहेँलो कार्ड

वडा नम्बर १५ र १८ बीच भएको खेलमा ७ जनाले पहेँलो कार्ड व्यहोरेका छन् । जस अनुसार, वडा नम्बर १८ का कोच विजय घर्तीसहित सो टोलीका खेलाडीहरु स्वदेश बुढा, क्षितिज बेल्बासे, सुवास थारुले पहेँलो कार्ड व्यहोरेका छन् भने वडा नम्बर १५ का बादल योगी, प्रतीक रोका, सुशील बानियाँले पनि पहेँलो कार्ड व्यहोरेका छन् ।

Blog Post Ad

पुस २० गतेबाट शुरु भएको मेयर कप फुटबल माघ १३ गतेसम्म चल्नेछ । लिग कम नकआउटका आधारमा खेलाईने मेयर कप फुटबलमा पालिकाका १९ वटै वडाले भाग लिएका छन् । लिग चरणको खेल माघ ६ गतेसम्म हुनेछ । क्वाटर फाईनल माघ ८ र ९ गते हुनेछ भने सेमिफाईनल माघ ११ गते तथा फाईनल खेल माघ १३ गते हुने घोराही नगर स्तरीय खेलकुद विकास समिति संयोजक पुनले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad