Ad Area

घोराही सिमेन्ट उद्योगबाट स्थानीयबासीलाई धोका- ‘टंकी बनायो तर पानी दिएन’


घोराही, २७ पुस । घोराही उपमहानगरपालिका वडा नम्बर ४ भकारेका नागरिकलाई सिमेन्ट उद्योग रहुन्जेलसम्म खानेपानीको सुविधा दिने वाचा गरेको घोराही सिमेन्ट उद्योगले वाचा तोडेको छ । उद्योग प्रभावित स्थानीयबासीलाई खानेपानी दिने वाचासहित पानी टंकीसमेत बनाई दिएको सिमेन्ट उद्योगले केही वर्षयता पानी उपलब्ध गराउन छाडेको स्थानीयको गुनासो छ ।

सिमेन्टको धूलो खाएर बस्नुपर्ने बाध्यता रहेको बेला सिमेन्ट उद्योगले हाल आएर पानी पनि दिन छाडेको स्थानीय स्थानीय कमला बिकले बताउनुभयो । ‘शुरुवाती चरणमा हामीलाई सबै थोक दिए जस्तो गर्यो, पछि कहिले के भन्दै कहिले के भन्दै पानी दिन छाड्यो, अहिले टंकीबाट पानी प्रयोग नगरेको पनि ४ वर्षभन्दा धेरै भईसकेको छ, घर अगाडि ठडिएको टंकी हेरेर बस्नु बाहेक केही भएको छैन’, कमलाले भन्नुभयो ‘हामीले बोलेको उद्योगले सुन्दैन, स्थानीय टाठाबाठाहरुले कुरा पुर्याई दिदैनन् ।’

टाठाबाठाले उद्योगसँग साँठगाँठ गरेर पनि आफुहरुलाई अन्यायमा पार्ने गरेको स्थानीयको गुनासो छ । उनीहरुका अनुसार, पीडितका आवाज पुर्याउने कुरा गर्ने तर उद्योगसँग मिलेर लाभ उठाउने समुह पनि सक्रिय रहेको छ । ‘उद्योगले धूलो उडाएर बसी सक्नु हुदैन, यसको सट्टा पानी खान त पाईने भईयो भन्ने थियो अब त्यो पनि हरायो । हाम्रा पीडा सुन्ने को छ र ? पहिले पनि पानी पिउन पाईने आश्वासन बाँडेर धोका दिए, अहिले घर अगाडि पानी टंकी ठडाई दिएर काकाकुल बनाएका छन्’ अर्का स्थानीय लक्ष्मी बिकले भन्नुभयो ।

भकारेमा बनेको पानी टंकीले सो क्षेत्रमा रहेको सुकुम्बासी बस्तीलगायत स्थानीयलाई पानी पुर्याउने सम्झौता भएको थियो । अहिले ती सबै सम्झौता कागजमा सिमित भएको अर्का स्थानीय लिला गोतामे बताउनुहुन्छ । वडा सदस्यसमेत रहनुभएकी गोतामेले घोराही सिमेन्ट उद्योगले शुरुमा काम गरे जस्तो गरेर अहिले धोका दिएको बताउनुभयो । सिमेन्ट उद्योग भित्रै ठूलो डिप बोरिङ खनिएका छन् ।

ती डिप बोरिङको पानी उद्योगले नै प्रयोग गर्ने गरेको छ । तर, स्थानीयलाई पानी दिने कबुल गरेको सिमेन्ट उद्योगले आफैले गरेको वाचा लत्याएर स्थानीयबासीलाई धोका दिएको छ । अहिले बोरिङसहितको पानी टंकी प्रयोग बिहिन बनेको छ । पानी आउन छाडेपछि पानी टंकी जीर्ण बन्दै गएको छ । विद्युतको लाईन पनि काटिएको छ ।

स्थानीयका अनुसार, उद्योगले बोरिङ चलाउन जडान गरिएको विद्युतको बील पनि नतिरेर अहिले काटिएको छ । लाईन नै काटिएको अवस्थामा स्थानीयले पानी पाउने कुरा असम्भव भएको छ । टंकी प्रयोगबिहीन जस्तै भएपछि स्थानीयले तारबार गरेर जोगाएका छन् । तर, प्रयोगमा कसरी ल्याउने भन्ने बारेमा सिमेन्ट उद्योगले चासो दिएको छैन ।

Blog Post Ad

साविक वडा नम्बर ७ र ८ का वडाबासीलाई पानी खुवाउने योजना अनुसार खानेपानी टंकी बनाईए अहिले प्रयोगमा आउन नसक्दा खानेपानीलगायत सिंचाई सुविधाबाट वन्चित हुनुपरेको भकारेबासीको दुखेसो छ । पानीको हाहाकार हुने भकारेमा अहिले अरु टोलबाट पानीको व्यवस्था गरेर स्थानीयले प्रयोग गर्दै आएका छन् ।

सयौँ घरधुरी रहेको भकारेका स्थानीयबासीले सिमेन्ट उद्योगका कारण आफुहरुले दुख पाईरहेको बताउने गरेका छन् । ‘नजिकमा यति ठूलो उद्योग भएर के गर्नु ? राति चर्को आवाजले सुत्न मिल्दैन, उद्योगको धूलोले कृषि बालीमा नोक्सानी गरिरहेको छ । अर्कातिर हामीलाई पनि असर गरिरहेको छ’, स्थानीय मिना बिकले भन्नुभयो ‘हामीलाई विगतमा गरिएको वाचा अनुसार, सहज रुपमा पानी दिए पनि त हुने हो तर केही दिएको छैन ।’

ठूला उद्योगको निहित स्वार्थका कारण अहिले आफुहरु निकै मारमा परेको भन्दै विगतमा गरिएको वाचा अनुसार काम गर्न पनि सिमेन्ट उद्योगसँग आग्रह गरेका छन् ।

Blog Post Ad Blog Post Ad