Ad Area

मेयर कप खेलाई रहेका दुई किशोरी ‘अन्जना र कुसुम’


घोराही, २८ पुस । घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर फुटबल मैदानमा अहिले मेयर कप फुटबल प्रतियोगिता भईरहेको छ । फुटबल प्रतियोगिताले घोराही फुटबलमय बनेको छ ।

खेलाडी, खेल शुभेच्छुकदेखि खेल हेर्न रुचाउने सबैको ध्यान अहिले मेयर कपमा केन्द्रित छ । सबै पुरुष खेलाडी रहेको प्रतियोगितामा रेफ्री पनि पुरुष होलान् भन्ने लाग्नु स्वाभाविक हो । तर, दुई जना भर्खरका किशोरीहरुले यो पटक मेयर कप फुटबलमा रेफ्रीको भूमिकामा आफुलाई उभ्याएका छन् । कम उमेरमै एन्फा रेफ्री कोर्स गरेर फुटबल खेलाउने लाईसेन्स पाईसकेका दुई किशोरीहरुले यो पटकको मेयरकपमा दैनिक रेफ्रीको भूमिका गर्दै आएका छन् । ती दुई किशोरीहरु हुन्, महिला फुटबल खेलाडीद्वय अन्जना पुन मगर र कुसुम श्रेष्ठ ।

राष्ट्रिय महिला फुटबल खेलाडी अन्जना पुन मगरको उमेर भर्खर १७ वर्ष मात्रै छ । २०६३ माघ १२ दाङको तुलसीपुरमा जन्मिनु भएकी अन्जनाले रेफ्रीको काम मात्रै होईन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा भाग लिएर देशको लागि उपाधि पनि दिलाई सक्नुभएको छ ।

अर्का रेफ्रीको भुमिकामा रहनुभएकी कुसुम श्रेष्ठले पनि अन्जनासँगै फुटबलको यात्रा तय गर्दै एन्फा रेफ्री कोर्सको तालिम लिएर अहिले फुटबल खेलाउने काम गर्दै आउनुभएको छ । घोराही उपमहानगरपालिकाले आयोजना गरेको पालिका स्तरीय मेयर कप फुटबलमा ४३ खेल हुनेछन् । ती सबै खेलमा दुवै महिला रेफ्रीले मैदान उत्रिएर आफ्नो भुमिका प्रस्तुत गरिरहनु भएको छ ।

Blog Post Ad

‘महिला फुटबल भएको भए बेग्लै कुरा हुन्थ्यो, मेयर कपमा सबै पुरुष खेलाडीलाई खेलको नियममा रहेर फुटबल खेलाउँदा दबाव त परिहाल्छ तर फुटबलको नियमभित्र रहेका काम गर्ने हो, हामीसँगै अरु अग्रज र अनुभवी दाईहरुको पनि साथ छ, यसले गर्दा रेफ्रीको भुमिका निभाउन सजिलो भएको छ’, अन्जनाले भन्नुभयो ‘हिजोको जस्तो जमाना पनि त छैन, की सबै काम पुरुषले नै गर्ने । हामीले पनि अवसरसँगै जिम्मेवार पाएपछि काम गर्न सक्छौँ भन्ने उदाहरण देखाई रहेका छौँ । यो हाम्रा लागि काम गरेर देखाउने अवसर हो भने काममा समानता पनि हो ।’

सामान्यताः पुरुष फुटबल प्रतियोगितामा पुरुष रेफ्री हुने गरेको पाईएको छ । तर, दुई किशोरी रेफ्रीले आफुहरु फुटबलर मात्रै होईन, रेफ्रीको भुमिका पनि उत्तिकै रुपमा गर्न सक्छौँ भन्ने देखाई रहेका छन् । मेयर कप फुटबल हेर्न दैनिक हजारौँ दर्शक पुग्छन् । चारैतिरबाट पर्ने दबाव एकातिर हुन्छ, अर्कोतिर सानो सानो कुरामा ध्यान दिएर खेल खेलाउनुपर्ने अवस्था पनि हुन्छ तर यी सबै कुरा र दबावलाई चिर्दै अन्जना र कुसुमले मेयर कप सौहार्दपूर्ण वातावरणमा खेलाई रहेका छन् ।

सन् २०२१ मा भएको क्याटगोरी–४ एन्फा रेफ्री कोर्स सफलतापूर्वक पास गरेर फुटबलको रेफ्री गर्ने आधिकारीक प्रमाण पाएका दुवै जनाले अहिले फुटबल मैदानमा देखाई रहेको कामले उनीहरुको भोलिको भविष्यलाई समेत उजागर गरी रहेको छ ।

‘मैले सानैबाट फुटबल खेल्न थालेको हो, कक्षा ८ मा पढ्दै गर्दा फुटबलमा हात हालेँ, त्यसयता नियमित फुटबलमै छु । मैले शुरुवाती समयमा तेक्वान्दो खेलेको हुँ, पछि फुटबलमा मोडिएँ, अहिले मलाई फुटबल भनेपछि बेग्लै आनन्द आउँछ, अब खेल्नेसँगै खेलाउने पनि भईसकेको छु’ राष्ट्रिय फुटबल खेलाडी तथा रेफ्री अन्जनाले भन्नुभयो ‘मैले एन्फा रेफ्री कोस गर्दा नागरिकता पनि बनाएको थिएन, पढाईको सर्टिफिकेटको आधारमा कोर्स गर्ने मौका पाएको हुँ, नेपालमा सानै उमेरमा यसरी महिला रेफ्रीको भुमिकामा आफुलाई प्रस्तुत गर्न पाउँदा गर्व लागेको छ । मलाई यसरी यो ठाउँमा ल्याई पुर्याउन सहयोग गर्नुहुने मेरा गुरु र शुभेच्छुक प्रति हार्दिक सम्मान गर्दछु ।’

व्यावसायिक रुपमा रेफ्री गर्नेहरुको अभाव भई रहेका बेलामा सम्भवतः नेपालमै कम उमेरमै रेफ्री बनेका दुवै जनाको खेल क्षेत्रमा गरिरहेको प्रयासलाई सबैबाट सराहना भईरहेको छ । अन्जना र कुसुमसँगै अरु ६ जना पुरुष रेफ्रीहरु पनि मेयर कपमा खेल खेलाउन खटिनुभएको छ । यसले गर्दा पनि विगतको तुलनामा यो पटक मेयर कप फुटबलको रौनक थप बढेको हुन सक्ने घोराही उपमहानगरपालिका स्तरीय नगर खेलकुद विकास समिति संयोजक नरेन्द्र पुन बताउनुहुन्छ ।

अवसरसँगै काम गर्ने वातावरण बनाई दिएमा कम उमेरमै छोरीहरुले पनि काम गरेर देखाउन सक्छन् भन्ने गतिलो उदाहरण अन्जना र कुसुमले गरिरहनु भएको छ । उमेर पुगेका, पाकाले मात्रै फुटबल रेफ्री गर्ने हो भन्ने धारणालाई चिर्दै नयाँ पुस्ता फुटबलका लागि तयार भईसकेको संकेत पनि यी दुई किशोरीहरुको प्रयासले देखाएको छ ।

उहाँहरु दुवैजना तुलसीपुरमा रहेको एसएसएफए क्लबमा आवद्ध भएर फुटबल खेल्ने गर्नुहुन्छ । यो क्लबमा पुरुषहरु मात्रै छन् । यसले गर्दा पनि महिला टीमको खाँचो रहेको दुवैको भनाई छ । फुटबलमा लाग्न हौसला दिनुहुने सुधीर गुरुङको साथ र हौसलाले आज आफुहरु फुटबलर मात्रै होईन रेफ्रीको भुमिकामा पनि परिचित गराउन पाउँदा गर्वले छाती चौडा हुने गरेको उनीहरुको भनाई छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ नयाँ बस्ती निवासी अन्जना सामान्य परिवारमा जन्मिनु भएको हो । उहाँका बुवा धनबहादुर पुन मगर र आमा मिना पुन मगर खेल क्षेत्रमा लागेको व्यक्ति पनि होईन । तर, बुवाआमाको साथ र आशिर्वादले आज आफु सानो उमेरमै देश विदेशमा गएर फुटबल खेलेर उपाधि जितेर देशको नाम राख्न पाएको पाएको अन्जना बताउनुहुन्छ । चार बहिनी मध्ये माहिली छोरी अन्जनाले गरिरहेको प्रगति प्रति उहाँका खेल प्रशिक्षक, शुभेच्छुक सबै खुशी छन् ।

१५ वर्ष उमेर समुहकी ‘साप च्याम्पियन अन्जना’

हाल तुलसीपुरस्थित गोरखा कलेजमा बिबिएस अध्ययनरत अन्जनाले सन् २०२२ मा १५ वर्षमुनिको साफ च्याम्पियनमा सहभागी भएर देशका लागि उपाधिपनि दिलाई सक्नुभएको छ । जिल्ला, प्रदेश हुँदै केन्द्रमा पनि छनोट भएर उमेर समुहबाट फुटबल खेल्दै आउनुभएकी अन्जनाले सन् २०२२ मा बंगलादेशमा साफमा च्याम्पियन उपाधि दिलाउन भुमिका खेल्नुभयो ।

‘साफ खेलमा जितेको खुशीको त कुनै सीमा नै छैन, छोटो समयमा पाएको सफलताको बयान गर्न सक्ने ठाउँ नै छैन, यसका लागि मैले पनि निकै मेहनत गरेको छु, गुरु र अग्रजहरुको सल्लाह सुझाव शिरोधार्य गरेर अघि बढेको छु, अझै यो क्षेत्रमा लागेर धेरै थोक गर्नुछ’ अन्जनाले भन्नुभयो ।

उहाँ सन् २०२३ फेरि १७ वर्ष मुनिको महिला साफ खेल्न जोर्डन जानुभयो । त्यहाँ पनि नेपालले राम्रो प्रदर्शन गरेको थियो । एक खेलमा जीत र अर्को खेलमा भएको झिनो हारले प्रतियोगिताबाट बाहिरिनु परेको थियो । नेपालले त्यो बेलामा जोर्डनलाई ८–० गोलले जितेको थियो तर, ईरानसँग १–० ले हार्न पुगेको थियो ।

सानै उमेरबाट फुटबल खेल्न थाल्नुभएकी अन्जना र कुसुमले जिल्लामा मात्रै होईन, विभिन्न जिल्लामा गएर उमेर समुहको महिला फुटबल खेली सकेका अनुभव छ । काठमाडौमा भएको ओमन्स मेयर कप फुटबलदेखि बर्दिया, कपिलबस्तु, रौतहट, सुर्खेतलगायत ठाउँमा पुगेर दाङको प्रतिनिधित्व गरी सक्नुभएको छ ।

कुसुम श्रेष्ठले पनि एसईईपछि कम्प्युटर विज्ञान पढेर अहिले खेल क्षेत्रमा लाग्नुभएको छ । बुवा चन्द्र श्रेष्ठ र आमा मेनका श्रेष्ठको आशिर्वादले आज फुटबलरसँगै एन्फा रेफ्री बनेर परिचय स्थापित गर्न पाएको कुसुमको भनाई छ । आफुहरु जस्तै फुटबलमा आउन चाहने साना बहिनीहरुका लागि अब हरेक क्षेत्रबाट सकारात्मक साथ आवश्यक रहेको कुसुम बताउनुहुन्छ ।

Blog Post Ad Blog Post Ad