Ad Area

ट्रमा सेन्टर निर्माणको म्याद सकियो, काम सकिएन


घोराही, ६ माघ । सम्झौता अनुसार काम गरेको भए अहिले लुम्बिनी प्रदेश सरकारको लगानीमा दाङको लमहीमा निर्माणाधीन प्रदेश स्तरीय ट्रमा सेन्टरमा बिरामीले उपचार गराई रहेका हुन्थे । ट्रमा सेन्टरको भवन निर्माणको जिम्मा लिएको लामा एण्ड गौरीशंकर हिमालयन कन्स्ट्रक्सन प्रालि काठमाडौँले निर्धारित समयमा काम नगर्दा अहिलेसम्म सबै काम  अलपत्र अवस्था छ ।

विशेषगरी, पूर्वपश्चिम राजमार्ग केन्द्रित दुर्घटनाका घाईतेको उपचारका लागि भनेर बनाउन थालिएको ट्रमा सेन्टर निर्माण भई सकेको अवस्था हुन्थ्यो भने गत पुस २७ गते राति देउखुरीको भालुवाङमा बस दुर्घटना हुँदा घाईते भएका सबैको उपचार यहीँ हुनेथियो । तर, ट्रमा सेन्टर संचालनमा ल्याउन ढिलाई भएका कारण घाईतेलाई बुटबल र बाँके पुर्याउनु पर्यो । जसले गम्भीर घाईतेको भएकाहरुले समयमा उपचार नपाउँदा ज्यान गुमाउनु पर्ने अवस्था आयो ।

कोहलपुर–लमही–बुटवलसम्मको दुरी ३ सय किलोमीटर बढी छ ।  यो बीचमा सवारी दुर्घटना भई हाले घाईतेको अहिले पनि समयमा उपचार सम्भव छैन । घाईतेको उद्धारगरी कोहलुर वा बुटबल पुर्याउँदा हुने ढिलाईले धेरैको ज्यान गईरहेको छ । २०७६ माघमा तत्कालीन प्रदेशसभा सदस्य उत्तरकुमार ओली सवारी दुर्घटनामा परेर घाइते हुनुभयो । लमहीमा प्राथमिक उपचार गरेर उहाँलाई कोहलपुर पठाइयो ।

दाङमा सुविधा सम्पन्न अस्पताल हुन्थ्यो भने उहाँको उपचार सहज हुने थियो । कोहलपुरबाट काठमाडौँ लगेर उपचार गर्नुपर्ने अवस्था आयो तर, बचाउन सकिएन । यो बीचमा हुने सवारी दुर्घटनाका घाईतेको समयमा उपचार गर्ने मान्यताका साथ प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटले सम्बोधन गर्दे लमहीमा सुविधा सम्पन्न ट्रमा सेन्टर बनाउने घोषणा गरेको ३ वर्ष बितिसक्दा पनि काम हुन सकेको छैन ।निर्माणाधीन प्रदेशस्तरीय ट्रमा सेन्टरको भौतिक प्रगति ४५ प्रतिशत मात्र भएको छ । वित्तीय प्रगति करीव ३० प्रतिशत रहेको शहरी विकास तथा भवन कार्यालय दाङका सूचना अधिकारी प्रेमप्रकाश खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार, २०७७ चैत २४ मा सम्झौता भई २०८० असार २३ मा काम सम्पन्न गर्ने गरी लामा एण्ड गौरीशंकर हिमालयन कन्स्ट्रक्सन प्रालि काठमाडौँसँग सम्झौता भएको हो । सम्झौता अनुसार काम गरेको भए निर्माण कार्य सकिएर सेवा बिस्तार भई सक्थ्यो तर कोरोना, पूर्वाधार निर्माण स्थलमा रहेका रुखको कारण देखाउँदै काममा ढिलाई भएको छ ।

निर्माण कम्पनीले मुल्य अभिवृद्धि कर बाहेक १९ करोड ४१ लाख ४ हजार १४ रुपैयाँ २५ पैसामा काम गर्ने गरी सम्झौता गरेकोमा ६ करोड ५६ लाख ३१ हजार ६७ रुपैयाँ भुक्तानी लगि सकेको छ ।

Blog Post Ad

चार तलाको ट्रमा सेन्टरमा करीव ५० वटा कोठा रहनेछन् । हाल ढलानको काम भईरहेको छ । योसँगै क्यान्टिन, डाक्टरको आवाससहित पर्खालको काम पनि यही निर्माण कम्पनीले गर्ने सम्झौतामा उल्लेख छ ।

काम गर्ने म्याद सकिएको ६ महिना बितिसकेकाले म्याद थपका लागि सम्बन्धीत निकायमा पत्रकार गरिएको सूचना अधिकारी खड्काले बताउनुभयो । उहाँले निर्माण कम्पनीले काम जारी राखेकाले काम सम्पन्न गर्न म्याद थपको विषयमा मन्त्रालयमा पत्राचार गरिएको बताउनुभयो । उसो त, निर्माण कम्पनीले असारयता कामको रकमसमेत लग्न पाएको छैन ।

यो वर्ष २ करोड मात्रै बजेट

चालु आर्थिक वर्षमा प्रदेश सरकारले यो योजनाका लागि दुई करोड मात्रै विनियोजन गरेको छ । भौतिक प्रगति जतिसुकै रकमको भएपनि यो वर्ष दुई करोड मात्रै अख्तियारी आएको सूचना अधिकारी खड्काले बताउनुभयो ।

‘अख्तियारी दुई करोड मात्रै छ । अब थप रकम माग गर्ने तयारी भएको छ । तर, रकम कति आउँछ भन्ने टुंगो छैन । ठूला रकमको काम र योजनाको म्याद थप मन्त्रालयबाट हुने प्रावधान छ । यही भएर हामीले कागजी प्रकृयाको सबै कामलाई माथि पठाएका छौँ । यो कामको ठेक्का माथिबाटै स्वीकृत भएको हो । त्यसैले उहीबाट थप अख्तियारीको व्यवस्था छ’, सूचना अधिकारी खड्काले भन्नुभयो ‘ट्रमा सेन्टरको हकमा अहिले काममा ढिलाई एकातिर भईरहेको छ, अर्कोतिर बजेट अभाव पनि देखिएको छ । यो अभावलाई सम्बोधन गर्ने अख्तियारी शहरी विकास तथा भवन कार्यालय दाङलाई छैन । सार्वजनिक खरीद ऐनको नियम ६७ मा ३ करोडसम्मको तृतीय श्रेणी प्रमुखले पाउने व्यवस्था छ । ७ करोडसम्मको द्वितीय श्रेणीले, १५ करोडसम्मको राजपत्रांकित प्रथम श्रेणीले र सो भन्दामाथिको रकमको हकमा विभागीय प्रमुखले गर्ने सम्बोधन गर्नुपर्ने व्यवस्था छ । यो काम मन्त्रालय स्तरबाट हुनेछ ।’

तत्कालीन समयमा ट्रमा सेन्टर निर्माणको काम सामाजिक विकास मन्त्रालयबाट थालनी भएर अहिले स्वास्थ्य मन्त्रालयमा आई पुगेको छ । लुम्बिनी प्रदेश गौरवको योजनाका रूपमा रहेको ट्रमा सेन्टरको काम कछुवागतिमा हुनुले प्रदेश सरकारलाई नै गिज्याइरहेको छ । पूर्व पश्चिम राजमार्गसँग सटेको, दुर्घटना भइहालेमा घाइते र बिरामीलाई तुरुन्तै अस्पताल पुर्याउन सकिने स्थान भएकोले लमही प्रदेश सरकारको रोजाइमा परेको भएपनि अहिलेसम्म काम सम्पन्न नहुँदा सेवा बिस्तारमा ढिलाई भईरहेको स्थानीयको भनाई छ ।
राजमार्गमा हरेक दिन जस्तो दुर्घटना भइरहन्छ । दुर्घटनामा परेर मानिस घाइते हुन्छन् । प्राथमिक उपचार गरेर नेपालगञ्ज वा बुटवल पठाउनुको अहिले विकल्प छैन ।

‘लमहीबाट पूर्व बुटवल र पश्चिममा कोहलपुरसम्मको भू–भागमा सुविधा सम्पन्न अस्पताल नहुँदा यहाँका नागरिकले उपचारका लागि निकै सास्ती खेप्नु परेको छ । बिरामी रेफर होइन, डाक्टर चार्टर गरेर ट्रमा सेन्टरमा ल्याउने योजना कहिले पूरा होला भन्ने पर्खाईमा दाङबासी रहेको छन् ।

शुरुवाती चरणमा ४० करोडको लागतमा ट्रमा सेन्टर निर्माण हुने स्टिमेट तयार गरिएको थियो । क्रमागत रुपमा काम गर्नेगरी, हाललाई चारतले ट्रमा सेन्टर, क्यान्टिन, डाक्टर आवास र कम्पाउण्डको कामका लागि ठेक्का भएको छ । ट्रमा सेन्टरको मुख्य भवन, आकस्मिक भवन, थेरापी भवन, क्यान्टिन तथा ब्लडबैंक लगायत अन्य पूर्वाधार बनाउने काम भईरहेको शहरी विकास तथा भवन कार्यालय दाङका निमित्त प्रमुख अनन्तकुमार देवले जानकारी दिनुभयो ।

ट्रमा सेन्टर बन्दै गरेको जग्गा ऐलानी हो । लुम्बिनी प्रदेश सरकारले सोही जग्गा उपलब्ध गराई दिन लमही नगरपालिकालाई भनेपछि नगरपालिकाले यसको व्यवस्थापनमा सहजीकरण गरेको हो ।
प्रदेश सरकारले प्रदेशस्तरीय ट्रमा सेन्टर बनाउने भनेर स्थानीय पालिकासँग समन्वय गरेपछि काम अगाडि बढेको लमही नगरपालिकाको भनाई छ । तत्कालीन लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको पालामा बजेट विनियोजन भएर कामको थालनी गरिएकोमा हालसम्म चारवटा मुख्यमन्त्री भई सक्दा ट्रमा सेन्टर कहिले बनी सक्छ भन्ने टुंगो छैन । निर्माण कम्पनीले अहिलेकै गतिमा काम गरेपनि आगामी आर्थिक वर्षको असारसम्म लाग्ने अनुमान शहरी विकास तथा भवन कार्यालय दाङले गरेको छ ।

Blog Post Ad Blog Post Ad