Ad Area

अपाङ्गहरुको सहारा बन्दै खगेन्द्र नवजीवन केन्द्र


घोराही, ६ माघ । घोराही उपमहानगरपालिका वडा नम्बर १३ बडहरा बस्दै आउनुभएकी अनन्ती भट्टराई अहिले ३८ वर्षको हुनुभयो । उहाँ जन्मै अपांग हुनुहुन्छ । उहाँको हेरचाहमा परिवारका सदस्यले सघाउनुको विकल्प छैन । अरुको भरमा हिडाउनु पर्ने बाध्यतामा रहनुभएकी अनन्तीलाई बाहिर लैजानु पर्यो भने ह्विलचियर थिएन । उहाँलाई अहिले निशुल्क रुपमा ह्विलचियर मिलेको छ ।

वर्षौदेखि ह्विलचिय बिना नै गुजारा गर्दै आउनुभएकी उहाँ ह्विलचियर पाएपछि निकै खुशी हुनुभएको छ । बुवा चिन्तामणि भट्टराईका अनुसार उहाँको शरीर अकडिन्छ, मन्द दिमागका कारण प्राय सबै काम अरुको सहारामा गर्नुपर्छ । त्रिवेणी गाउँपालिका ९ रुकुम पश्चिम घरभई हाल घोराही १० लम्डरुवा बस्दै आउनुभएका २३ वर्षका उत्सव चन्द ४ वर्ष अघिसम्म स्वस्थ हुनुहुन्थ्यो । उहाँलाई ह्विलचिय चाहिएला भन्ने कल्पनासमेत थिएन । तर, कक्षा १० मा पढ्ने क्रममा बसेर कुप्रो परेर पढ्दा ढाडमा समस्या आयो । जाँचका क्रममा बोन टिबी लागेको पत्ता लाग्यो ।

‘पढ्दा कुप्रो परेर बस्दा ढाडमा स्पाईन टिबीले कम्मर मुनि नचल्ने भएको छ । मैले जीवनमा यस्तो होला भन्ने कल्पना पनि गरेको थिएन । अहिले मेरो हात चल्छ । बोली छ । तर कम्मरमुनि केही चल्दैन, अरुको सहारा लिनुपर्छ’, चन्दले भन्नुभयो ।  उहाँका खुट्टा चल्दैनन् । यसअघि लामो उपचार गरेर घर फर्किनुभएका उत्सवले नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी शाखा घोराहीले निशुल्क रुपमा वितरण गरेको ह्विलचिय पाउँदा निकै ठूलो सहारा पाएको महसुस गर्नुभएको छ । बाँच्नका लागि अब अरुको सहारा चाहिएको बेला यताउति जाँदा चाहिने ह्विलचियर पाएकोमा उहाँलाई धेरै राहत मिलेको छ ।

घोराही ४ मनैयाका बमबहादुर बुढाथोकी आठ वर्ष अघिसम्म घर निर्माणको काम गर्नुहुन्थ्यो । रोजगारीको सिलसिलामा काठमाडौँ बस्दै आउनुभएको बेलामा २०७२ को भूकम्पले क्षति पुर्याएको घर मर्मत गर्ने क्रममा उहाँ दुर्घटनामा पर्नुभयो । ३ तले सिसाको घर भत्काउने क्रममा उहाँको शरीरमा सिसा खस्यो । कम्मरमुनि काम नलाग्ने गरी चोट लाग्यो । लामो उपचारपछि उहाँ बाँच्न सफल हुनुभयो तर, खुट्टा काम लागेन । अहिले अपाङ्ग जीवन बाँची रहनुभएको छ ।

अपाङ्ग भएपछि उहाँलाई आउजाउ गर्न ह्विलचियरको सहारा लिनुपर्छ । उहाँले पनि नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी शाखा घोराहीले निशुल्क रुपमा वितरण गरेको ह्विलचियर पाउनुभएको छ ।

Blog Post Ad

घोराही ४ लक्ष्मीपुरकै दिलबहादुर कामी अधवैशे भई सक्नुभयो । उहाँ अहिलेसम्म ह्विलचियरमा बस्नुभएको थिएन । सानो छँदा पोलियोले अपाङ्ग हुनुभएका दिलबहादुरको दाहिने भाग चल्दैन । बोली पनि प्रष्ट छैन । उहाँलाई अरुको सहारा चाहिन्छ । आठ वर्षदेखि समस्यामा रहनुभएका दिलबहादुरले यतिका वर्षसम्म ह्वील चियर प्रयोग नगरेको बताउनुहुन्छ । अब प्रयोग गर्ने भएपछि उहाँलाई खुशी लागेको छ ।

अपाङ्गता भएकाहरुको सहारा बन्दै अहिले नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी शाखा घोराहीले थुप्रैलाई सहयोग गर्दै आएको छ ।
जन्मजात मात्रै होईन विभिन्न कारणले पछि अपाङ्गता भएकाहरुको साथ र सहयोगमा नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी शाखा घोराहीले आफुलाई अभिभावकीय भुमिकामा उभ्याउने काम गरिरहेको छ । जसका माध्यमबाट अहिले थुप्रैले साथ सहयोग पाउन सफल भएका छन् । स्वर्गद्वारी शाखामार्फत अपाङ्ग पुनस्र्थापना केन्द्र समेत संचालन गर्दै आएको संस्थाले सामाजिक उत्तरदायित्व बहनमा आफुलाई उभ्याउने काम गरिरहेको संस्थाकी सभापति रुपा वलीले बताउनुहुन्छ । विभिन्न सहयोगी निकाय, दाता तथा राज्यबाट सहयोग संकलन गरेर अपाङ्गता भएकाहरुको क्षेत्रमा काम गर्दै आएको उहाँले बताउनुभयो ।

यसैबीच, नेपाल अपाङ्ग सघ खगेन्द्र नवजीवन केन्द्रका सस्थापक खगेन्द्र बहादुर बस्नेतको ९६ औ जन्मजयन्ती अपाङ्गता भएका व्यक्तिहरुका लागि आवश्यक पर्ने सहायक सामग्री प्रदान गरेर मनाईएको छ ।

संस्थाले अपाङ्गता भएकाहरुलाई १० थान ह्वीलचियर र १ जोर बैशाखी गरी ११ जना अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री प्रदान गरी शुक्रबार संस्था परिसरमा जन्मजयन्ती मनाएको हो ।

घोराही उपमहानगरपलिकाको कार्यालय दाङ्गको आर्थिक सहयोग तथा नेपाल अपाङ्ग सघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी जिल्ला शाखा दाङ्गको आयोजनामा भएको कार्यक्रममा अपाङ्गता भएकाहरुलाई सहायक सामग्री प्रदान गर्दा उनीहरु खुशी भएका छन् ।

संघका निवर्तमान सभापति एबम केन्द्रीय उपाध्यक्ष शरद अधिकारीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीको प्रमुख अतिथ्यमा आयोजित कार्यक्रममा वक्ताहरुले अपाङ्गता भएकाहरुलाई सबैले साथ सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उपप्रमुख डिसीले मानवीय सेवा भावले स्थापित नेपाल अपाङ्ग सघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी जिल्ला शाखा दाङ्गले गरिरहेको काम प्रति राज्यका सबै निकायको ध्यान जान जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा २६ जना अपाङ्गता भएका व्यक्तिहरु र साथमा उनका घर परिवारका सदस्यहरुको उपस्थिति थियो । उक्त कार्यक्रमको सहजीकरण संघको सचिव भुमा चौधरीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad