Ad Area

दाङ कांग्रेस- प्रतिनिधि सभा क्षेत्रको ३ सभापति पदका लागि ७ जनाको उम्मेदवारी


घोराही ६, मंसीर । दाङ कांग्रेसमा १४ औँ महाधिवेशनको चटारो लागेको छ । महाधिवेशन अन्तर्गत कांग्रेसले वडा, गाउँ-नगर र प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन गरिसकेको छ । दाङमा मंगलबार प्रतिनिधि सभा क्षेत्रमा नयाँ नेतृत्वका लागि अधिवेशन हुन लागेको छ । दाङका तीन क्षेत्रबाट ३ सभापति पदका लागि ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।


जिल्लामा रहेको क्षेत्र नम्बर एकमा दुई जना, क्षेत्र नम्बर २ मा दुई जना र क्षेत्र नम्बर तीनबाट ३ जना गरी ७ जना नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएका निर्वाचन अधिकृत युवराज बस्नेतले जानकारी दिए । प्रतिनिधिसभा क्षेत्रमा सभापतिसहित सचिव, सहसचिव, महाधिवेशन प्रतिनिधि पदका लागि निर्वाचन हुन लागेको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा उपसभापति पदमा प्रदेश सभाका सभापति पदेन रहने व्यवस्था रहेको छ । उपसभापति बाहेक अन्य पदमा निर्वाचन हुने भएको हो ।

जस अनुसार दाङको क्षेत्र नम्बर १ मा सभापति पदका लागि भेषराज पाण्डे र सर्वजित डीसीले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् । पाण्डेको प्यानलबाट सचिव पदका लागि हरिहर शर्मा र खेम चौधरी, सहसचिव पदमा प्रकाश कुमार जिसी र गोविन्द वली रहेका छन् ।

पाण्डे वर्तमान सभापति हुन् भने डिसी सभापतिका लागि नयाँ अनुहार हुन् । डिसीको प्यानलबाट सचिवमा त्रियोगी यादव, कृष्ण चौधरी, सहसचिवमा राजेन्द्र खड्का र मिनराज अधिकारीको उम्मेदवारी दर्ता भएको छ ।

यस्तै क्षेत्र नम्बर २ मा सभापति पदका लागि भिमप्रकाश खड्का र निर्मल डाँगी चुनावी मैदानमा उत्रिएका छन् । खड्काको प्यानलबाट सचिवमा हिमबहादुर डाँगी र कमल गौतम रहेका छन् भने सहसचिव पदमा रमेश कुमार पाण्डेय र रञ्जीत कुमार श्रेष्ठको उम्मेदवारी दर्ता भएको छ । यस्तै, डाँगीको प्यानलबाट सचिवमा आरके शितल र सन्तोष योगी, सहसचिवमा शिव घिमिरे र प्रमोद पोखरेलको उम्मेदवारी दर्ता भएको छ ।

यस्तै क्षेत्र नम्बर ३ मा सभापति पदका लागि ३ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा जगतबहादुर खड्का, सुरेन्द्रबहादुर खडका र किरण बहादुर शाहले संघीय सभापतिका लागि आ–आफ्नो मनोनयन दर्ता गराएका छन् ।

Blog Post Ad

जगतको प्यानलबाट सचिव पदमा शोभाकर सापकोटा र पूर्ण बहादुर केसीले उम्मेदवारी दर्ता गराएका छन् भने सहसचिव दीपुलाल चौधरी र भीमकान्त भण्डारीको उम्मेदवारी परेको छ । सुरेन्द्रको प्यानलमा सचिव पदमा रबि बुढाथोकी र भेषराज डाँगीको उम्मेदवारी दर्ता हुँदा सहसचिव पदमा तनोज सिंह वली र भुपबहादुर केसीले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी, शाहले एक्लै सभापतिमा उम्मेदवारी दिएका छन् । मंगलबार हुने मतदान बिहान ९ बजेबाट शुरु हुने भएको निर्वाचन समितिले जनाएको छ ।

Blog Post Ad Blog Post Ad