Ad Area

यु–१९ क्रिकेटमा लुम्बिनीबाट खनालको कप्तानीमा टीम छनौट, पहिलो खेल गण्डकीसँग


घोराही ६, मंसीर । काठमाडौमा हुन लागेको वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशमा भएका खेलबाट खेलाडी छनौट गरिएको छ ।

वाई वाई यु १९ लुम्बिनी प्रदेश स्तरीय क्रिकेट छनोट प्रतियोगितामा रुपन्देही, बाँके, पाल्पा, नवलपरासी, बर्दिया, कपिलवस्तु, दाङसमेत गरी ७ जिल्लाबाट सहभागी खेलाडीहरुबाट ४ जना वैकल्पिकसहित १८ जना खेलाडी छनौट गरिएको लुम्बिनी प्रदेश छनौट समिति संयोजक कैलाश रोकामगरले जानकारी दिए ।

उनका अनुसार, लुम्बिनी प्रदेशको कप्तानीको जिम्मेवारी देव खनाललाई दिईएको छ । उपकप्तान विशाल विक्रम केसी रहेका छन् भने बसिर अहमद, मोहम्मद हुसेन, सुनिल भण्डारी, अभिषेक गौतम, राहुल चौहान, आकाश त्रिपाठी, कमल ओली, तुलाराम थापा, प्रज्वलबहादुर थापा, नरेशकुमार नेपाली र दुर्गेश गुप्ता छनौट भएका छन् । यस्तै, वैकल्पिक खेलाडीमा रोहन केसी, अजित यादव, सुमित श्रेष्ठ र विशाल भुसाल रहेका छन् । लुम्बिनी प्रदेश छनौट समिति संयोजक कैलाश रोकामगर, सदस्य राजेश श्रेष्ठ र प्रशिक्षक बसन्त शाहीको टोलीले खेलाडी छनौट गरेको हो ।

गएको कार्तिक २८ गते देखि मंसीर ४ गतेसम्म पुल ए को खेल दाङस्थित देउखुरी क्रिकेट रंगशालामा र पुल बी को खेल रूपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा प्रतियोगिता भएको थियो ।

उमेर समुह वाई वाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७८ अन्तरगत लुम्बिनी प्रदेश स्तरीय छनोट क्रिकेट प्रतियोगितामा सहभागी ७ जिल्लाका खेलाडीहरुको खेल प्रदर्शन र सम्भाव्यतालाई आधार बनाएर खेलाडी छनौट गरि लुम्बिनी प्रदेश क्रिकेट संघलाई सिफारिस गरिएको संयोजक रोका मगरले बताए ।

प्रतियोगिताको पहिलो खेल गण्डकी प्रदेशसँग

काठमाडौँमा मंसीर ७ गतेबाट हुन लागेको १९ वर्षमुनिको प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशसँग मुलपानी मैदानमा खेल्दै प्रतियोगिताको शुरुवात गर्दैछ । सोही समयमा प्रदेश १ र बागमतीबीचको खेल पनि मंगलबार टियु क्रिकेट मैदानमा हुने आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

Blog Post Ad

यस्तै, ८ गते कर्णाली प्रदेशसँग खेल्ने लुम्बिनी प्रदेशले १० गते सुदूरपश्चिम प्रदेशसँग खेल्ने भएको छ । ११ गते वाग्मति प्रदेशसँग खेल्दा १३ गते प्रदेश नम्बर १ सँग खेल्ने भएको छ ।

प्रतियोगिताको राउण्ड रोबिनमा अन्तिम खेल १५ गते प्रदेश नम्बर २ सँग खेल्ने तालिका रहेको छ । एकदिवसीय फर्मेट तथा राउन्ड रोविनका आधारमा खेलाइने प्रतियोगितामा प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नम्बर २, सुदुरपश्चिम प्रदेश तथा कर्णाली प्रदेश आमनेसामने हुँदैछन् । प्रतियोगिताको फाइनल खेल मंसिर १९ गते टियु मैदानमा हुने तय भएको छ ।

Blog Post Ad Blog Post Ad