Ad Area

आज राष्ट्रिय सभा निर्वाचन


दाङ, ११ माघ । राष्ट्रिय सभाका रिक्त १९ सिटका लागि आज निर्वाचन हुँदैछ । लुम्बिनी प्रदेशका दुईसहित १९ सिटका लागि निर्वाचन हुने भएको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा तयारी पूरा भएको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले मतदान केन्द्र निर्माण, कर्मचारी व्यवस्थापन, सुरक्षा व्यवस्थासँगै मतगणनाका लागि हलको समेत व्यवस्था गरिएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । निर्वाचनका लागि घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा मतदानको व्यवस्था गरिएको निर्वाचन अधिकृत कूलप्रसाद पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार मतदानस्थलमा दुईवटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

मतदान केन्द्र (क) मा प्रदेश सभा सदस्य र मतदान केन्द्र (ख) मा स्थानीय तहका प्रमुख÷उपप्रमुखले मतदान गर्ने व्यवस्था मिलाइएको जानकारी दिएका छन् । ‘राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान अधिकृत तोक्ने, मतदान केन्द्र निर्माणसँगै सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको छ’, निर्वाचन अधिकृत पाण्डेले भने, ‘मतदान केन्द्रहरूको जिल्ला स्थित सुरक्षा निकायबाट अनुगमनको काम समेत भएको छ ।’

निर्वाचनका लागि कर्मचारी मिलन केन्द्रमा मतदान केन्द्र (क) मा जिल्ला अदालत दाङका श्रेस्तेदार दामोदर घिमिरे र मतदान केन्द्र (ख)मा सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा रानालाई मतदान अधिकृत तोकिएको छ । निर्वाचनका लागि एउटा मतदान केन्द्रमा १० जनाका दरले दुईवटा मतदान केन्द्रमा २० जना कर्मचारी खटाइएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिएका छन् । उनका अनुसार मतदानका लागि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म समय तोकिएको छ ।

लुम्बिनी प्रदेशमा २ सदस्य पदका लागि निर्वाचन हुन लागेको छ । जस अन्तर्गत लुम्बिनीमा महिला र एक अन्य रिक्त पदमा निर्वाचन हुन लागेको हो । २ सिटका लागि ६ जना उम्मेदवार छन् । जसमा गठबन्धनको तर्फबाट कांग्रेसबाट गुल्मी निवासी विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रबाट रोल्पा निवासी झक्कुप्रसाद सुवेदी उम्मेदवार रहेका छन् । यसैगरी नेकपा एमालेको तर्फबाट दाङ निवासी तुलसा केसी र पाल्पा निवासी झपेन्द्रबहादुर घर्ती, राप्रपाबाट रुपन्देही निवासी विजयालक्ष्मी सिंह र जनमत पार्टीबाट बालगोविन्द चौधरी राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार छन् । निर्वाचनमा लुम्बिनी प्रदेशका एक सय ९ स्थानीय तहका दुई सय १८ जना प्रमुख तथा उपप्रमुख र ८७ जना प्रदेश सभा सदस्य मतदाताका रूपमा रहेका छन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad