Ad Area

दाङ क्रिकेट लिग–२ का लागि टीम मालिक र आयोजकबीच सम्झौता


घोराही, १५ माघ । आगामी फागुन १४ गतेदेखि दाङमा हुन लागेको दोश्रो संस्करणको दाङ क्रिकेट लिग–२०८० (डिसिएल–२) का फ्रेन्चाईज पाँच टीम र आयोजक बीच सम्झौता भएको छ ।

दाङमा क्रिकेटको विकाससँगै खेललाई व्यावसायिक बनाउने लक्ष्यका साथ संचालन गर्न थालिएको डिसिएल–२ का फ्रेन्चाईज मालिक र आयोजक दाङ जिल्ला क्रिकेट संघबीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिनुभयो ।

देउखुरी वारियर्स, घोराही टाईगर्स, पुरन्धारा च्यालेन्जर्स, तुलसीपुर रोयल्स र दंगाली लायन्सका मालिक तथा प्रतिनिधिसँग लिग संचालनका लागि घोराहीस्थित लिगको हस्पिटालिटी पार्टनरका रुपमा रहेको भिंग्रेली भिलेज रिसोर्टमा सोमबार सम्झौता भएको हो । ‘दाङ क्रिकेट लिग’ लुम्बिनी प्रदेशकै ठूलो राशिको फेन्चाइज लिग रहेको हुँदा फ्रेन्चाईज टीम उत्साहित छन् ।

प्रतियोगिता खेल्ने टिमहरुले अक्सनमार्फत खेलाडीहरु खरिद गर्नुपर्ने व्यवस्था गरिएको छ । लिगमा देशभरका सय बढी खेलाडीलाई म्याच शुल्कसहितको क्रिकेट प्रतियोगिता खेल्ने अवसर प्रदान गरिएको छ । प्रतियोगिताका लागि प्रत्येक टिमले पाँच जनासम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसहित दाङ जिल्लाभित्रका यु–१६ का २ जना, यु–१९ का २ जना र सिनियर ५ जनासहित १४ जनाको टिम बनाउनुपर्ने व्यवस्था गरिएको छ ।

जसमा १२ जना खेलाडी अक्सनमार्फत छनोट हुने छन् भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलिसकेका एक÷एक जना मार्की र टिम कप्तानका रुपमा टिम मालिकहरुले अधिकतम मुल्यमा आफै छनोट गर्न पाउने व्यवस्था गरिएको प्रतियोगिताका संयोजक समेत रहनुभएका दाङ जिल्ला क्रिकेट संघका सचिव सन्जु केसीले जानकारी दिनुभयो ।

प्रतियोगिताका लागि आयोजकले टिम मालिकहरुलाई खेलाडी खरिदका लागि न्यूनतम १ लाख ९४ हजारदेखि अधिकतम २ लाख ५० हजारसम्म रुपैयाँसम्म खर्च गर्न सक्ने व्यवस्था गरेको संयोजक केसीले जानकारी दिनुभयो ।

Blog Post Ad

अघिल्लो संस्करणमा देउखुरी वारियर्सको मार्की खेलाडी नारायण जोशी र कप्तान अमित तामाङ हुनुहुन्थ्यो । घोराही टाईगर्सको मार्की खेलाडी रासिद खान रहनुभएको थियो । जसको कप्तान सुशान्तसिंह थापा हुनुहुन्थ्यो । यसैगरी, पुरन्धारा च्यालेन्जर्सको मार्की खेलाडीका रुपमा अमरसिंह रौटेला र कप्तान मोहन खत्री हुनुहुन्थ्यो । तुलसीपुर रोयल्सको मार्की दीपक बोहरा र कप्तान सुदिप नेपाली रहँदा दंगाली लायन्सको मार्की खेलाडी तीर्थराज दास र टीम कप्तान राजबीर सिंह रहनुभएको थियो ।

प्रतियोगिताले दाङ जिल्लाको क्रिकेटसँगै समग्र खेलकुद र आर्थिक विकासका लागि मद्दत गर्ने अध्यक्ष मजगैयाँले बताउनुभएको छ । अघिल्लो संस्करणमा प्रत्येक टिममा दाङका १६ वर्ष मुनिका २ जना, १९ वर्ष मुनिका दुई जना र सिनियर खेलाडीको हकमा कप्तानसहित ६ जना रहने व्यवस्था गरिएको थियो । हरेक टिमका खरिद गर्दा न्यूनतम ८४ हजारदेखि अधिकतम १ लाख ४८ हजार रुपैयाँ खर्च गर्न सक्ने सीमा तोकिएको भएपनि अहिले यसको यसपटक दायरा बढाइएको प्रतियागिता निर्देशक विशेष अधिकारीले जानकारी दिनुभयो ।

प्रतियोगिता जिल्लामा क्रिकेट खेलको वातावरण बनाउनेदेखि जिल्लाबाहिर क्रिकेटको सम्भावना बोकेको जिल्लाको पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिईएको पाँच वटै क्लवले अपेक्षा गरेका छन् । प्रतियोगितामा सहभागी हुनका लागि स्थानीयदेखि राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा नाम चलिसकेका खेलाडीहरूले नाम दर्ता गरिने भएको छ ।

जसका लागि आयोजकले खल्ती एपसँग पनि सम्झौता गरी डिजिटल पार्टनरका रुपमा भित्र्याएको छ । जसबाट डिजिटल रुपमा रजिष्ट्रेशन गर्न सकिने भएको छ । पहिलो संस्करणको दाङ क्रिकेट लिगमा घोराही टाईगर्सले देउखुरी वारियर्सलाई हराउँदै उपाधि जितेको थियो ।

Blog Post Ad Blog Post Ad