Ad Area

डिसिएल–२ का लागि देश विदेशबाट आर्थिक सहयोग जुट्दै


घोराही, २४ माघ । दाङ क्रिकेट लिग–२ को मिति नजिकिँदै जाँदा प्रतियोगिता सफल बनाउन विभिन्न व्यक्ति, संघसंस्था र निकायबाट सहयोग जुट्ने क्रम जारी छ । आगामी फागुन १४ गतेदेखि दाङमा हुन लागेको दाङ क्रिकेट लिग–२ का लागि आर्थिक सहयोग गर्नेहरु थपिँदै गएका छन् ।

दाङ जिल्ला क्रिकेट संघको आयोजनामा हुने दोश्रो संस्करणको दाङ क्रिकेट लिग–२०८० (डिसिएल–२) सफल बनाउन बाँके जिल्ला क्रिकेट संघ निवर्तमान अध्यक्ष एवम् लुम्बिनी प्रदेश अध्यक्ष दुर्गा थापा र वहाँको परिवारका तर्फबाट ५० हजार रुपैयाँ, तुलसीपुरको मानपुर निवासी हाल अमेरिका बस्दै आउनु भएका सन्तोष वली र वहाँको परिवारबाट २५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

काठमाडौं निवासी हाल अष्ट्रेलियामा बसोवास गर्दै आउनु भएकी उर्मिला चौधरी र वहाँको परिवारका तर्फबाट १६ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

Blog Post Ad

यसअघि डिसिएल–२ प्रतियोगिता सफल बनाउन गोल्ड प्रायोजकमा नेपाल बैंक लिमिटेड, हस्पिटालिटी पार्टनरमा भिंग्रेली भिलेज रिसोर्ट, घोराही, मेडिकल सहयोग पार्टनरमा बुद्ध इन्टरनेशनल हिस्पटल, घोराही, खेलाडी रजिष्ट्रेशन अनलाईन पार्टनर खल्ती एपसँग सम्झौता भईसकेको छ ।

दाङमा क्रिकेटको विकाससँगै खेललाई व्यावसायिक बनाउने लक्ष्यका साथ संचालन गर्न थालिएको डिसिएल–२ प्रतियोगितामा देउखुरी वारियर्स, घोराही टाईगर्स, पुरन्धारा च्यालेन्जर्स, तुलसीपुर रोयल्स र दंगाली लायन्सले डिसिएल–२ खेल्नेछन् । यी फ्रेन्चाईज टीम र आयोजक बीच सम्झौता पत्रमा हस्ताक्षर भईसकेको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिनुभयो ।

प्रतियोगिता जिल्लामा क्रिकेट खेलको वातावरण बनाउनेदेखि जिल्लाबाहिर क्रिकेटको सम्भावना बोकेको जिल्लाको पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिईएको प्रतियोगिता संयोजक समेत रहनुभएका दाङ जिल्ला क्रिकेट संघका सचिव सन्जु केसीले जानकारी दिनुभयो ।

प्रतियोगितामा भाग लिने खेलाडीका लागि खल्ती एपमार्फत रजिष्ट्रेशन खुला गरिएको छ । खेलाडीहरुको अक्सन अब चाँडै गर्ने तयारी भईरहेको प्रतियोगिता निर्देशक विशेष अधिकारीले जानकारी दिनुभयो ।

प्रतियोगिताले दाङ जिल्लाको क्रिकेटसँगै समग्र खेलकुद र आर्थिक विकासका लागि मद्दत गर्ने विश्वास लिईएको छ । डिसिएसमा उमेर समुह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेली सकेका खेलाडीलाई अक्सन अर्थात खेलाडी खरीद बिक्रिका आधारमा निश्चित मापदण्डमा रही खेलाईने भएकाले यो प्रतियोगितामा निकै रोचक हुने गरेको छ ।

घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा भएको पहिलो संस्करणको दाङ क्रिकेट लिगमा घोराही टाईगर्सले देउखुरी वारियर्सलाई हराउँदै उपाधि जितेको थियो ।

Blog Post Ad Blog Post Ad