Ad Area

घोराहीलाई राष्ट्रपति रनिङ सिल्डको उपाधि


दाङ, २ फागुन । दाङ जिल्ला अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता–२०८० को उपाधि घोराही उपमहानगरपालिकाले हात पारेको छ । दाङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा बेल्झुन्डी रंगशालामा भएको प्रतियोगितामा १९ स्वर्ण ८ रजत र २२ कांस्य पदक हात पार्दै घोराही उपमहानगरपालिकाले रनिङ सिल्ड हात पारेको हो ।

घोराही उपमहानगरसँग एक स्वर्ण पदकको अन्तरले सम्मानजनक हार बेहोरेको तुलसीपुर उपमहानगरपालिकाले १८ स्वर्ण, २३ रजत र १५ कांस्य पदकका साथ द्वितीय स्थान हात पार्न सफल भयो । त्यस्तै लमही नगरपालिका ६ स्वर्ण, ९ रजत र सात कांस्य पदकका साथ तृतीय हुँदा राप्ती गाउँपालिकाले पाँच स्वर्ण, चार रजत, १५ कांस्य पदकले सान्त्वना स्थान लिन सफल भएको हो । तीन दिनसम्म चलेको प्रतियोगितामा जिल्लाका १० पालिकाको सहभागिता रहेको थियो । गत वर्षसम्म विद्यालयबिच प्रतिस्पर्धा हुने गरे पनि यस वर्षदेखि पालिका–पालिका बिचका टिम तथा खेलाडीबिच प्रतिस्पर्धा भएको थियो ।

यसैबिच प्रतियोगिताको समापन समारोह दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार पोख्रेलको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यता एवम् दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी र शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतको विशिष्ट आतिथ्यतामा भएको थियो । त्यस अवसरमा राष्ट्रपति रनिङ सिल्डमा सहभागी पाँच खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीमध्ये उत्कृष्ट तथा सर्वोउत्कृष्ट खेलाडी तुलसीपुर उपमहानगरपालिकाका करुणा रिजाल भइन् । उनले नगद पुरस्कार हात पारिन् । त्यस्तै उत्कृष्ट हुने खेलाडीमा एथलेटिक्स छात्रमा लमही नगरपालिकाका क्षितिज पराजुली, भलिबल छात्रमा तुलसीपुरका विक्रम बोहरा, छात्रामा घोराहीकी निमकुमारी विक, कबड्डी छात्रमा तुलसीपुरका गणेश विक, छात्रामा बबई गाउँपालिकाका पुष्पा रेग्मी, कराँते छात्रमा राप्ती गाउपालिकाका महेश चौधरी, छात्रामा तुलसिपुरकी विन्दु जिएम, तेक्वान्दो छात्रमा घोराहीका प्रकाश वली र छात्रामा घोराहीकै वर्षा घर्ती मगर उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

साथै सोही अवसरमा पूर्व ब्रिटिस आर्मी तुलसीपुर–४ हाल लन्डन (युके) निवासी पूर्व राष्ट्रिय खेलाडी चित्रबहादुर रानाले १३औ ँराष्ट्रपति रनिङ सिल्डमा एथलेटिक्स विधामा स्वर्ण पदकधारी खेलाडीलाई धर्मपत्नी स्वर्गीय लक्ष्मी रानाको सम्झनामा नगद पुरस्कारले सम्मान गरेका थिए । सम्मानित हुने खेलाडिमा दक्षिण एसियायी खेल जुनियर लङजम्पमा नेपालकी रेकर्डर निशा चौधरी १० हजार र अन्यमा सुजल डाँगी, सन्तोष चौधरी, प्रमिला चौधरी, मोतीकला डाँगी र निशा चौधरीलाई जनही पाँच हजारका दरले प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा दाङको प्रतिनिधित्व गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बडीविल्डिङ च्याम्पियनसिपमा पदक विजेता खेलाडी दीपजंग रोका मगर, गरिमा पुन मगर, हेम बुढा मगर, प्रदीप चन्द, रोमहर्ष खरेल र प्रतीक चौधरीलाई सम्मान गरिएको थियो । कार्यक्रममा विजेता पालिका, खेलाडीलाई सिल्ड ट्रफी तथा पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन दाङ जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष ध्रुव आचार्यले गरेका थिए । तीन दिनसम्म चलेको प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत एक हजार बढी विद्यार्थीको सहभागिता रहेको थियो ।

Blog Post Ad Blog Post Ad