Ad Area

घोराहीमा तेश्रो अल्फा जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सुरु


घोराही, ७ फागुन । दाङको घोराहीमा तेस्रो अल्फा दाङ जिल्लास्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता–२०८० सुरु भएको छ । जिल्लामा खेलकुद क्षेत्रको विकाससँगै खेलाडीहरुको प्रतिभा पहिचानका लागि प्रतियोगिता गरिएको जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले उद्घाटन गरेकी हुन ।

प्रतियोगिताको उद्घाटन गर्दै उपप्रमुख डिसीले राष्ट्रको गहनाका रुपमा रहेको खेलकुद क्षेत्रको विकासका लागि स्थानीय सरकारले सहयोग गर्ने बताएकी थिइन । खेलकुदको विकासलाई प्राथमिकतामा राखेर घोराही उपमहानगरपालिकाले खेलकुद विकास समिति गठनसँगै विभिन्न खेलकुदका प्रतियोगिता गर्दै आएको भन्दै उपप्रमुख डिसीले आवश्यकता अनुसार पूर्वाधारमा पनि लगानी गर्दै जाने बताइन ।

शारिरीक तथा मानसिक रुपमा स्वास्थ हुनका लागि खेल हरेक व्यक्तिका लागि आवश्यक रहेको भन्दै उनले खेलकुदका कार्यक्रमहरुलाई विद्यालय तहदेखि नै बढाउन आवश्यक रहेको बताइन । ‘शारिरीक तथा मानसिक स्वास्थ्यका लागि खेलकुदको महत्वपूर्ण भूमिका रहेको छ’,उपप्रमुख डिसीले भनिन्,‘त्यसैले बालबालिकालाई गलत बाटोमा लाग्नबाट बचाउँदै अनुशासित र शारिरीक रुपमा स्वास्थ राख्नका लागि खेलकुदका गतिविधिमा सहभागी गराउनुपर्छ ।’

अल्फा तेक्वान्दो डोजाङको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले व्यक्तिगत स्वास्थ्यसँगै आत्मसुरक्षा र प्रतिष्ठासँग जोडिएको खेलकुद क्षेत्रको विकासका लागि सवैले ध्यानदिनुपर्ने बताएका थिए । जिल्लामा खेलकुदका गतिविधिहरु बढेपनि पूर्वाधारको अभाव रहेको भन्दै सहभागी बक्ताहरुले स्थानीय सरकारले खेलकुद क्षेत्रको सम्भावना पहिचान गरेर लगानी समेत गर्न आवश्यक रहेकोमा जोड दिएका थिए ।

अल्फा तेक्वान्दो डोजाङका अध्यक्ष पदक केसीको अध्यक्षमा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष भानसिंङ बुढा, नगर खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुन, दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष बिष्णु अधिकारीलगायतले प्रतियोगिताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतियोगितामा महिला र पुरुष खेलाडीहरुले २२ देखि ५८ केजीसम्म तौल समूहअन्तर्गत २२–२६ केजी, २६–३० केजी, ३०–३४ केजी, ३४–३८ केजी, ३८–४२ केजी, ४२–४६ केजी, ४६–५० केजी, ५०–५४ केजी र ५४–५८ केजी तौल समूहमा प्रतिष्पर्धा गर्ने अल्फा तेक्वान्दो डोजाङकी प्रमुख सुनिता विष्टले जानकारी दिएकी छिन् । उनका अनुसार पुम्से पुरुष र महिलातर्फ एकल १७ बर्ष मुनि खेलाडीहरुले प्रतिष्पर्धा गर्नेछन् ।

प्रतियोगितामा प्रथम हुने डोजाङले नगद २० हजार पुरस्कार, प्रमाणपत्र र ट्रफि जित्नेछ । त्यसैगरी दोश्रो हुने टिमले नगद १५ हजार पुरस्कार प्रमाणपत्र र ट्रफि र तेस्रो हुने टिमले नगद १० हजार पुरस्कार, प्रमाणपत्र र ट्रफि जित्नेछ । त्यसेैगरी प्रतियोगितामा अनुशासित डोजाङलाई नगद ५ हजारसहित प्रमाण, उत्कृष्ठ खेलाडी महिला÷पुरुषहरुलाई नगदसहित प्रमाणपत्र र ट्रफि प्रदान गरिने आयोजक अल्फा तेक्वान्दो डोजाङले जनाएको छ । घोराही उपमहानगरपालिका–१४ कवर्ड हलमा सुरु भएको प्रतियोगिता मंगलवारसम्म चल्ने छ । प्रतियोगितामा जिल्लाका १३ डोजाङका तीन सय बढी खेलाडीहरुको सहभागीता रहेको छ ।

उत्कृष्ठ खेलाडी तथा प्रशिक्षकलाई सम्मान

प्रतियोगिताको उद्घाटन कार्यक्रममा अल्फ तेक्वान्दो डोजाङमा आवद्ध रहेर विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्ठ खेल प्रदर्शन गर्ने खेलाडीलाई सम्मान गरिएको छ । जसमा थाइल्याडमा भएको चियाङ माई अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप–२०२४ प्रतियोगितामा स्वर्ण पदक जित्न सफल तेक्वान्दो खेलाडी वीरेन्द्र डाँगी, रजत पदक जित्ने रिमोट झाक्री मगर, तेक्वान्दो खेलाडी जस्मिन चौधरी र तेक्वान्दो प्रशिक्षक दिपक केसीलाई सम्मान गरिएको थियो । तेक्वान्दो खेलाडी अर्पन चौधरीको स्वागत मन्तव्यवाट सुरु भएको प्रतियोगिताको सञ्चालन तेक्वान्दो खेलाडी दाजु शर्माले गरेका थिए । प्रतियोगिताको उद्घाटन कार्यक्रममा खेलाडीहरुले डेमो प्रदर्शनसँगै नृत्य समेत प्रस्तुत गरेका थिए ।