Ad Area

बाँसका सामाग्रीबाट आकर्षक आम्दानी


दाङ,११ फागुन । घोराही उपमहानगरपालिका–१ औलावास निवासी पुनाराम सुनारको दैनिकी बाँसका सामाग्री बनाउँदै बिक्री गर्नेमा बित्ने गरेको छ । बाँसका सामाग्रीबाट कम लगानीमै राम्रो आम्दानी हुने भएपछि पुनारामले घरमै बसेर बाँसका सामाग्री बनाउनेदेखि बिक्री गर्ने काम गर्दै आएका छन् ।

बाँसबाट छिट्वा,नाङ्लो,पेरुङ्गो, टोकरी,डोको, भकारीलगायतका विभिन्न सामग्री बनाउने काम गर्दै आएको उनी बताउँछन् । बाँसबाट बनाएका सामग्रीहरु प्राय गाउँघरतिरै बिक्री हुने बताए । ‘गाउँघरमा घरायासी कामका लागि बाँसका सामग्री आवश्यक भएपनि बनाउने मानिसहरु छैनन्’,उनले भने,‘त्यसैले गर्दा पनि होला, राम्रै बिक्री भइरहन्छन।’ गाउँघमा बासँका सामग्री बिक्री नहुँदा घोराही बजारसम्म लगेर पसलमा बिक्री गर्ने गरेको उनी बताउँछन् । उनका अनुसार पहिलेको तुलनामा बाँसका सामग्रीको बजार घटेको बताए ।

बाँसजन्य सामग्रीलाई आयआर्जनको स्रोत बनाउँदै आएका पुरानाम भन्छन,‘पहिलेको जस्तो अहिले बिक्री त हुँदैनन् । तर थोरै बिक्री भएपनि आम्दानी भने राम्रै हुने गरेको छ ।’ गाउँघरमा बाँस खरिद गर्ने र त्यहीबाट विभिन्न सामग्री बनाएर बिक्री गरेर आएको पैसाबाट घर व्यवहार चलाउने गरेको बताए । ‘घरको कामसँगै बाँसका सामाग्री बनाउने गर्दै आएको छु’,उनले भने,‘परिवारसँग बसेर घरको कामसँगै आफुले जानेको सिपलाई प्रयोग गर्दा राम्रै आम्दानी हुने गरेको छ ।’

त्यसैगरी घोराही उपमहानगरपालिका–१९ निवासी खिमबहादुर मगर विगत दुई दशकदेखि बाँसका सामग्री बनाउने काम गँदै आएका छन् । परिवारको पुर्खौली पेसाका रुपमा रहेको बाँसका सामग्री बनाउने कामबाट राम्रै आम्दानी भएको बताउँछन् । उनी भन्छन,‘पहिलेको तुलनामा व्यापार कम भएपनि लगानी अनुसारको आम्दानी ठिकै हुने गरेको छ ।’ बाँसका सामग्रीको तुलनामा बजारमा स्टिल तथा प्लाष्टिकका विभिन्न सामग्रीहरु प्रशस्स्तै मात्रमा पाइने भएपनि पहिलेको तुलनामा व्यापार आधा कम भएको उनी बताउँछन् ।

‘पहिले घरायासी काममा बाँसबाट भनेका छिटुवा,सुपा, भकारी, डोकोलगायतका सामग्रीको धेरै प्रयोग हुने गर्दथ्यो’,उनले भने,‘तर पछिल्लो समय कम लगानीमै राम्रा सामग्री बजार किन्न पाइने भएपछि बिक्री घटेको छ ।’ तर अहिले पनि तिहारमा रोटी पकाउनेदेखि विवाह, पूजालगायतका धार्मिक कार्यहरु हुँदा बाँसका सामग्रीहरुको खोजी हुने भएकाले बिक्री हुने गरेको उनी बताउँछन् ।

पछिल्लो समयमा खासगरी पूजा सामाग्री बोक्नका लागि बाँसको टोकरी, गाउँमा स्याउला बोक्नका लागि डोको, माछा मार्ने पेरुगोलगायत घरायासी काममा प्रयोग हुने सुपा, छिट्ुवालगायतका सामग्री खोज्न घरमै मानिसहरु आउने गरेको उनी बताउँछन् । विभिन्न सामग्री बनाउने कच्चा पदार्थ बाँस भने घरमा पनि भएको र नपुगेको अवस्थामा गाउँघरमै किनेर भएपनि बनाउने गरेको उनी बताउँछन् ।

‘बर्षभरी नै बाँसका सामग्री उत्पादन गर्ने हुँदैन, खासगरी घरको कामबाट फुर्सद निकालेर सामग्री बनाउने हो’,उनले भने,‘फुर्सदमा बनाएका सामग्रीबाट पनि राम्रो आम्दानी हुने गरेको छ ।’ बाँसबाट घरका लागि आवश्यक सामाग्री बनाउनका लागि दुःख धेरै हुने र त्यसअनुसारको मुल्य नहुँदा पछिल्लो पुस्ताले सिप सिक्न भने जागर नगर्ने गरेको बताउँछन् । बाँसका सामग्रीबाट विभिन्न सामग्री बनाउने तालिम आवश्यक रहेपनि स्थानीयको नजरमा यो पर्न नसकेको उनी बताउँछन ।