Ad Area

दाङ क्रिकेट लिगको उपाधिका लागि तुलसीपुर रोयल्स र दंगाली लायन्स खेल्ने


घोराही, १८ फागुन । दाङको घोराहीमा जारी दोश्रो संस्करणको नेपाल टेलिकम दाङ क्रिकेट लिगको उपाधिका लागि तुलसीपुर रोयल्स र दंगाली लायन्स खेल्ने भएका छन् ।

दाङ क्रिकेट संघको आयोजनामा फागुन १४ गतेबाट घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा जारी लिग चरणको शुक्रबार भएको अन्तिम खेलमा तुलसीपुर रोयल्सले घोराही टाईगर्सलाई र दंगाली लायन्सले देउखुरी वारियर्सलाई पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् । लिगको उपाधिको लागि शनिबार यी दुई टीमले प्रतिस्पर्धा गर्नेछन् । यी टीम पहिलो पटक फाईनलमा पुगेका छन् । यसअघिको संस्करणमा घोराही टाईगर्स र देउखुरी वारियर्सले फाईनल खेलेका थिए ।

पाँच फ्रेन्चाईज टीमले लिगमा प्रतिष्पर्धा गरेका हुन् । लिग चरणको सम्पूर्ण खेल सकिँदा तुलसीपुर रोयल्स आफ्नो ४ खेलमा अपराजित रहँदै ८ अंकसहित शीर्ष स्थानमा रहेको छ भने दंगाली लायन्सले ४ खेलमा ३ जित र १ हारसहित ६ अंकका साथ नेट रनरेटका आधारमा दोश्रो स्थानमा रहँदै फाईनलमा प्रवेश गरेको छ ।

यसैगरी, घोराही टाइगर्स दुई खेलमा जीत निकाल्दै ४ अंकसहित तेश्रो स्थानमा, पुरन्धारा च्यालेन्जर्स एक खेलमा जीत निकाल्दै २ अंकसहित चौथो स्थानमा रहँदा ४ खेलमा जीत विहीन रहेको देउखुरी वारियर्स अंक तालिकाको पुछारमा रहेको छ । शुक्रबार बिहान भएको पहिलो खेलमा दंगाली लायन्सले देउखुरी वारियर्सलाई ६ विकेटले पराजित गर्यो । देउखुरीले दिएको १ सय २६ रनको लक्ष्य दंगालीले ४ विकेट गुमाएर १८ दशमलव ४ ओभरमा पूरा गरेको हो ।

दंगाली लायन्सका लागि ओपनर शंकर रानाले जारी लिगमा एकै इनिङ्गमा सर्वाधिक रन बनाउने खेलाडी बन्नुभयो । उहाँले अविजित ६७ रन योगदान दिनुभयो । प्लेयर अफ द म्याच रानाले ५९ बलमा ५ चौका र २ छक्काको मद्दतमा उक्त रन बनाउनुभयो । शिशिर डाँगीले अविजित १७ रन बनाउँदा बसिर अहमदले २५ रन, कप्तान विपिन खत्रीले ६ रन तथा अंकित बिएमले ४ रनको योगदान दिनुभयो । पहिलो ओभरको तेश्रो बलमा विशाल विक्रम केसीको बलमा ओपनर सन्तोष कार्की शुन्य रनमै आशिष वलीको हातबाट क्याच आउट हुँदै पेभेलिन फर्किए पनि त्यसपछिको पारीलाई सन्तोष रानाले अन्तिमसम्म सम्हाल्नु भयो । तेश्रो विकेटका लागि शंकर र बसिरले ६१ रनको विशाल साझेदारी गरेसँगै टीमका लागि जितको आधार तयार भएको थियो ।

Blog Post Ad

देउखुरीका लागि विशाल विक्रम केसीले २ तथा शुभम खनाल र प्रज्वल थापाले समान १–१ विकेट लिनुभयो । यस अघि टस जितेर ब्याटिङ गरेको देउखुरी वारियर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनाएको थियो ।

दंगाली लायन्सका बसिर अहमदले सर्वाधिक ३ विकेट लिँदा शंकर रानाले २ तथा बिपिन खत्री, वीरबहादुर घर्तीमगर र प्रकाश जैसीले समान १–१ विकेट लिनुभयो । सात जना बलर प्रयोग गरेपनि अपेक्षा अनुसार देउखुरीले विकेट लिन नसक्दा सान्त्वना जीत हासिल गर्ने लक्ष्य पनि पूरा गर्न सकेन ।

यसैगरी, दिउँसो भएको लिग चरणको अन्तिम अर्थात दशौँ खेलमा तुलसीपुर रोयल्सले घोराही टाइगर्सलाई ४१ रनले पराजित गर्यो । फाइनल पुग्न घोराहीले १ सय ५१ रनको लक्ष्य ११ दशमलव ३ ओभरमा पछ्याउनु पर्ने समीकरण भएपनि घोराहीले २० ओभर ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १ सय ९ रन मात्र बनायो ।

घोराहीले टस जितेर पहिले ब्याटिङको निम्तो दिएको तुलसीपुरले प्रतियोगिताकै विशाल स्कारे खडा गर्यो । तुलसीपुर रोयल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो । तुलसीपुरका लागि अनुभवी खेलाडी शंकर बुढाले २८ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४३ रन बनाउनुभयो । बिपिन रावलले ४७ बलमा १ चौका र १ छक्काको मद्दतमा ३१ रन, अमर सिंह रौटेलाले १४ बलमा २ चौका र ३ छक्काको मद्दतमा ३० रन बनाउँदा अर्का ब्याटर भुवन कार्कीले ७ बलमा १ चौका र १ छक्कासहित १३ रन बनाउनुभयो ।

यसैगरी, विराटसिंह भण्डारी र रुपेश सिंहले समान ८–८ रन र कप्तान दिवान पुनले १ रनको योगदान दिनुभयो । घोराही टाइगर्सका लागि दिपेश कँडेलले ३ विकेट, मिलन बुढाथोकीले २ तथा रबिन थापा र युनिश विक्रम सिंहले समान १–१ विकेट लिनुभयो ।

१ सय ५१ रनको लक्ष्य पछ्याएको घोराही टाईगर्सका लागि कप्तान सुशान्तसिंह थापाले १८ बलमा ३ चौका र १ छक्काको मद्दतमा सर्वाधिक २२ रनको योगदान दिनुभयो । यसैगरी, दिपेश कँडेलले २४ रन, युनिश विक्रम सिंहले १७, रविन थापाले १३ रन, वृषभ सेन्चुरीले ८ रन, अनुप न्यौपानेले ६ रन, अर्जुन घर्तीले ५ रनको योगदान दिएपनि जीतका लागि पर्याप्त हुन सकेन ।

तुलसीपुर रोयल्सका लागि मार्की खेलाडी एवम् प्लेयर अफ द म्याच अमर सिंह रौटेला र नबिन बिकले समान २–२ विकेट तथा रुपेश सिंह, दिवान पुन र बिराट सिंह भण्डारीले समान १–१ विकेट लिनुभयो ।

पाँच फ्रेन्चाईज टोली सहभागी भएको डिसिएल–२ का लागि सुशान्त सिंह थापा कप्तान रहेको घोराही टाइगर्स, विशाल विक्रम केसी कप्तान रहेको देउखुरी वारियर्स, मोहन खत्री कप्तान रहेको पुरन्धारा च्यालेन्जर्स, दिवान पुन कप्तान रहेको तुलसीपुर रोयल्स तथा विपिन खत्री कप्तान रहेको दंगाली लायन्स सहभागी भएका हुन् ।

लिग विजेताले नगद दुई लाख पचास हजार र उपविजेताले १ लाख रुपैयाँसहित सिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी लिगमा सबैभन्दा बढी रन बनाउने खेलाडी, बढी विकेट लिने खेलाडी, ईमर्जिङ खेलाडीलाई समान दश–दश हजार, म्यान अफ द सिरिजलाई पन्ध्र हजार प्रदान गरिनेछ भने हरेक दिन प्लेयर अफ द म्याचलाई पाँच हजार प्रदान हुँदै आएको छ । यसैबीच,  बिहान ११ बजेबाट शुरु हुने डिसिएल–२ को फाईनल खेल हेर्नका लागि आयोजक दाङ क्रिकेट संघले सबैमा अनुरोध गरेको छ ।

Blog Post Ad Blog Post Ad