Ad Area

दाङ क्रिकेट लिग–२ को लिग समीकरण रोचक


घोराही, १७ फागुन । दाङको घोराहीमा दाङ क्रिकेट संघको आयोजनामा जारी नेपाल टेलिकम दाङ क्रिकेट लिग २ मा तुलसीपुर रोयल्सले आफ्नो बलियो दावेदारीका रुपमा खेल पस्किरहेको छ । प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा तुलसीपुरले साविक उपविजेता देउखुरी वारियर्सलाई ३९ रनले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा आफुलाई यथावत राखेको छ ।

यो सिजनको लिगमा तुलसीपुर मात्रै अहिलेसम्मको अपराजित टोली हो । ४ खेलमध्ये ३ खेल खेल्दै तुलसीपुर रोयल्स ६ अंकका साथ शीर्ष स्थानमा रहनुका साथै करिव फाईनल खेल्ने टोली पनि बनेको छ ।

बिहीबार तुलसीपुर रोयल्सले जीत हासिल गर्दै ६ अंक सहित शीर्ष स्थानमा छ । दंगाली लायन्स र घोराही टाइगर्स समान ४ अंकका साथ क्रमशः दोश्रो र तेश्रो स्थानमा छन् । दंगालीको रनरेट घोराहीको भन्दा राम्रो अवस्था छ । यसैगरी, पुरन्धाराले आफ्नो ४ वटै खेल खेल्दा २ अंकको साथ चौथो स्थानमा छ भने एक खेल खेल्न बाँकी हुँदा देउखुरी अंकविहिन रहँदै तालिकाको पुछारमा छ ।

पहिलो संस्करणको विजेता रहेको घोराही टाईगर्सलाई अब शुक्रबारको दिउँसो हुने खेलमा अपराजित रहेको तथा बलियो टोली मानिएको तुलसीपुर रोयल्सलाई ठूलो अन्तरमा पराजित गर्नुपर्ने हुन्छ । उता, शुक्रबार बिहान हुने खेलमा दंगाली लायन्सले देउखुरी वारियर्सलाई हराए मात्रै पनि फाईनलमा पुग्ने अवस्था रहेको छ । तर, देउखुरीले पनि अन्तिम खेलमा सान्त्वना जीतको खोजी गर्ने हुँदा खेलको नतिजाका साथ कडा प्रतिष्पर्धा हुने देखिएको छ ।

यसैबीच, बिहीबार सम्पन्न दुई खेलमा तुलसीपुर रोयल्स र दंगाली लायन्स विजयी भएका छन् । तुलसीपुरले देउखुरी वारियर्सलाई ३९ रन तथा दंगाली लायन्सले पुरन्धारा च्यालेन्जर्सलाई ७५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेकोे तुलसीपुर रोयल्सले निर्धारित २० ओभरमा आफ्नो ६ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो ।

Blog Post Ad

घोराही क्रिकेट मैदानमा उच्च योगफल बनाउने क्रममा तुलसीपुरका लागि रुपेश सिंहले २९ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ४३ रन बनाउनुभयो । उहाँ प्लेयर अफ द म्याच पनि हुनुभयो ।

यस्तै विराटसिंह भण्डारीले ३५ बलमा ६ चौकासहित ३० रन बनाउँदा कप्तान दिवान पुनले १५ रन, मार्की खेलाडी अमर सिंह रौटेलाले ११ रन, भुवन कार्कीले १० रन, विपिन रावलले ९ रन तथा गोपाल केसीले १ रन बनाउँदै टीमका लागि १ सय ३९ को योगदान दिनुभयो ।

बलिङतर्फ देउखुरी वारियर्सका लागि ईमर्जिङ खेलाडी शुभम खनालले सर्वाधिक ३ विकेट लिनुभयो । आशिष वलीले २ तथा आवाज गौतमले १ विकेट लिनुभयो ।

तुलसीपुरले दिएको १ सय ४० रनको विजयी लक्ष्य पछ्याएको देउखुरीले निर्धारित २० ओभरमा आफ्नो ९ विकेट गुमाउँदै जम्मा सय रन मात्रै बनाउन सक्यो । देउखुरीका लागि मार्की खेलाडी नारायण जोशीले सर्वाधिक ३० रन बनाउँदा प्रज्वल थापाले १४ रन, आशिष वलीले १० रन, शुभम खनालले अविजित ९ रन, थमन वलीले ४ रन, सुरज खनालले ३ रन, केशव शर्माले १ रन बनाएपनि जीतका लागि पर्याप्त हुन सकेन ।
तुलसीपुरका लागि भुवन कार्की, अमर सिंह रौटेला र दिवान पुनले समान २–२ विकेट तथा अलराउण्डर प्रदर्शन गर्नुभएका रुपेश सिंह र नविन विकले समान १–१ विकेट लिनुभयो ।

यसैगरी, प्रतियोगिताको आठौँ खेल अन्तरगत दिउँसो भएको खेलमा दंगाली लायन्सले पुरन्धारा च्यालेन्जर्सलाई ७५ रनले पराजित गर्यो । दंगाली लायन्सले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको पुरन्धाराले १७ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ७४ रन मात्र बनायो ।
१ सय ५० रनको जवाफी व्याटिङ गरेको पुरन्धाराका लागि कृष्ण कार्कीले अविजित रहँदै सर्वाधिक २७ रन बनाएपनि जीत दिलाउन सक्नु भएन । यसअघि ओपनरद्वय प्रनित थापा र रीत गौतम सस्तैमा आउट भएपछि पुरन्धाराको टीम धर्मराएको थियो । मार्की खेलाडी राजु रिजालले केवल रन ब नाउँदै पेभेलियन फर्केपछि आएका दिपेन्द्र रावतले १० रन, विक्रान्त डाँगीले ८ रन, कप्तान मोहन खत्रीले १ रन, राजबीर सिंहले ५ रन, करण घर्तीले ६ रन, सुजल वलीले १ रनको योगदान दिनुभयो ।

पुरन्धारालाई सस्तैमा समेट्न दंगाली लायन्सका अलराउण्डर खेलाडी बसिर अहमदले सर्वाधिक ३ विकेट लिनुभयो । यस्तै कप्तान बिपिन खत्री, बिर बहादुर घर्ती मगर र शंकर रानाले समान २–२ विकेट लिँदा प्रकाश जैसीले १ विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दंगाली लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४९ रनको विशाल स्कोर खडा गरेको थियो । दंगालीको लागि इमर्जिङ खेलाडी सन्तोष कार्कीले सर्वाधिक ३० रन बनाउनुभयो । अंकित बुढा मगरले २८ रन, बिपिन खत्रीले २४, शिशिर डाँगीले २१, बसिर अहमदले १७ तथा शंकर रानाले १२ रन योगदान दिनुभयो ।

बलिङतर्फ पुरन्धाराका कृष्ण कार्की र सुजल वलीले समान ३–३ विकेट तथा दिपेन्द्र रावत र मोहन खत्रीले १–१ विकेट लिनुभयो । अब प्रतियोगिता अन्तर्गत शुक्रबार हुने दुई खेलले फाइनल पुग्ने दुई टीमको टुंगो लाग्नेछ । पहिलो खेलमा दंगाली लायन्स र देउखुरी वारियर्स तथा दोश्रो खेलमा तुलसीपुर रोयल्स र घोराही टाइगर्स प्रतिस्पर्धा गर्नेछन् ।

पाँच फ्रेन्चाईज टोली सहभागी छन् । जसमा सुशान्त सिंह थापा कप्तान रहेको घोराही टाइगर्स, विशाल विक्रम केसी कप्तान रहेको देउखुरी वारियर्स, मोहन खत्री कप्तान रहेको पुरन्धारा च्यालेन्जर्स, दिवान पुन कप्तान रहेको तुलसीपुर रोयल्स तथा विपिन खत्री कप्तान रहेको दंगाली लायन्स रहेका छन् । प्रतियोगिताको फाईनल खेल फागुन १९ गते हुनेछ ।

प्रतियोगिताको मुख्य प्रायोजकमा नेपाल टेलिकम, डाइमण्ड पार्टनरमा घोराही सिमेन्ट, क्रिजल आयल सप्लायर्स घोराही, गोल्ड प्रायोजकमा नेपाल बैंक लिमिटेड, किसान ट्रेडिङ कन्सर्न सोनालिका, बिवाईडी ईभी, एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज, इन्स्योरेन्स पार्टनरमा शिखर इन्स्योरेन्स कम्पनी, स्कुल पार्टनरमा गुरुकुल एकेडेमी घोराहीले सम्झौता गरेका छन् । यसैगरी, प्रतियोगिताका लागि हस्पिटालिटी पार्टनरमा भिंग्रेली भिलेज रिसोर्ट, घोराही, मेडिकल सहयोग पार्टनरमा बुद्ध इन्टरनेशनल हस्पिटल, घोराही र लाईफ फुड एण्ड बेभरेज प्रालि अन्तर्गतको किबु इनर्जी ड्रिंक पार्टनरको रुपमा रहेका छन् ।

प्रतियोगिता सफलताका लागि विभिन्न व्यक्ति, संस्था तथा निकायले पनि सहयोग गर्नुभएको छ । लिग विजेताले नगद दुई लाख पचास हजार र उपविजेताले १ लाख रुपैयाँसहित सिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी लिगमा सबैभन्दा बढी रन बनाउने खेलाडी, बढी विकेट लिने खेलाडी, ईमर्जिङ खेलाडीलाई समान दश–दश हजार, म्यान अफ द सिरिजलाई पन्ध्र हजार प्रदान गरिनेछ भने हरेक दिन प्लेयर अफ द म्याचलाई पाँच हजार प्रदान हुँदै आएको छ ।

प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । लिगको उत्कृस्ट ब्याटर, बलर तथा उदयमान खेलाडीले समान १०–१० हजार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने दैनिक रुपमा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई ५ हजार रुपैयाँ प्राप्त हुँदै आएको छ ।

Blog Post Ad Blog Post Ad