Ad Area

खुमबहादुर खड्का भलिबलको फाईनलमा शान्तिनगर, अर्को टोलीको टुंगो भोलि लाग्ने


घोराही, २४ फागुन । तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको फाईनलमा शान्तिनगर गाउँपालिका प्रवेश गरेको छ ।नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिको आयोजनामा जारी पालिकास्तरीय भलिबल प्रतियोगिताको फाईनल प्रवेशका लागि भएको पहिलो सेमिफाईनलमा शान्तिनगरले बंगलाचुलीलाई २५–१४, २५–१५ र २५–१४ को सोझो सेटमा हराउँदै फाईनल प्रवेश गरेको हो ।

फाईनलमा पुर्याउन टीमका लागि महत्वपूर्ण भुमिका खेल्नुभएका शान्तिनगरका उमेश चौधरी प्लेयर अफ द म्याच हुनुभयो । उहाँलाई आयोजकले ट्रफी र प्रमाण पत्रले सम्मान गरेको छ । लिग चरणका खेलमा अपराजित रहेको बंगलाचुलीले सेमिफाईनलमा शान्तिगरसँग पराजित भएसँगै अब तेश्रो स्थानका लागि खेल्नेछ ।

यसैगरी दोश्रो सेमिफाईनलको खेलको नतिजा भने बिहीबार निस्कन सकेन । घोराही उपमहानगरपालिका र राप्ती गाउँपालिका बीच भएको दोश्रो सेमिफाईनल खेल चलिरहँदा कमजोर प्रकाशका कारण खेलाउन सक्ने अवस्था नभएपछि चौथो सेटको खेलको अन्तिमतिर रेफ्रीले खेल रोक्नुभयो । रेफ्री द्रोर्ण चन्दले कमजोर प्रकाशका कारण घोराही र राप्ती बीचको खेल रोक्नुपरेको जानकारी दिनुभयो । बिहीबार नै फाईनल पुग्ने दुई टीमको टुंगो लगाउने प्रयास भएपनि दोश्रो सेमिफाईनलको खेल केही लम्बिएपछि नतिजा आउन नसकेको हो ।

समुह बी बाट लिग खेलेको घोराहीले राप्तीलाई पहिलो सेटमा २५–२३ अंकले जित्दा दोश्रो सेट भने राप्तीले २५–१८ ले आफ्नो पक्षमा पार्यो । शुरुवाती अंकबाट अग्रता बनाएपनि राप्तीले अन्तिममा लगातार घोराहीलाई अंक दिँदा पहिलो सेट हार्न पुगेको थियो । निकै संयमित भएर खेलेको राप्तीले तेश्रो खेलको शुरुवातमा ५ अंकको फरकमा अघि बढेपनि पछि घोराहीले राम्रो पुनरागमन गर्दै खेललाई आफ्नो पक्षमा पार्यो । जारी प्रतियोगितामा दोश्रो सेमिफाईनलको खेलसम्म पुग्दा तेश्रो सेटको खेल अहिलेसम्मकै रोचक बन्न पुग्यो । २१–२१ को अवस्थाबाट बराबरी अंकको प्रतिष्पर्धा गर्दै अघि बढेको घोराही र राप्तीले अंक बढाउँदै लैजाँदा ३४–३२ अंकमा घाेराहीले सेट जित्याे ।

Blog Post Ad

दुवै टीमले लगातार दुई अंक जोड्ने कोशिस गरेपनि एकले अर्कोलाई विफल बनाउँदै लगेपछि खेल निकै रोचक बनेको थियो । घोराहीका लागि स्थानीय दर्शकको बाक्लो साथ पाएको अवस्थामा राप्तीले पनि आफुलाई संयमित बनाउँदै निकै खरो खेल पस्किएको थियो । ३२–३२ अंकको स्थितीमा पुगेको बेला घोराहीले लगातार दुई अंक जोडेपछि उक्त सेट घोराहीले जित्दै २–१ को स्थितीमा ल्यायो । लगत्तै चौथो सेटको खेलमा शुरुवातबाट फेरी राप्तीले अग्रता बनाउँदा अघि बढेको बेला राप्ती २२ अंक र घोराही १६ अंकको अवस्थामा मुख्य रेफ्री द्रोर्ण चन्दले कमजोर प्रकाशका कारण भन्दै खेल रोक्नुभयो । बेष्ट अफ फाईभका आधारमा खेलाईएको सेमिफाईनल खेल पाँचौँ सेटसम्म पुग्ने अवस्था देखिएको थियो ।

दोश्रो सेमिफाईनलको खेल रोकिएसँगै अब शुक्रबार पुनः घोराही र राप्तीले शुरुबाट खेल खेल्नुपर्नेछ । दुवै टीमले फेरी टस गरेर शुरुवाती चरणबाट खेल्ने गरी बिहीबारको दोश्रो सेमिफाईनल खेल रद्ध भएको नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समिति संयोजक राजु आचार्यले जानकारी दिनुभयो । दोश्रो सेमिफाईनल खेल पुनः शुक्रबार बिहान साढे ७ बजेबाट हुने भएको उहाँले बताउनुभयो ।
यसअघि समुह ए बाट समुह विजेता बंगलाचुली र उपविजेता राप्ती भएको थियो । समुह बी बाट घोराही विजेता र शान्तिनगर उपविजेता हुँदै सेमिफाईनलमा प्रवेश गरेका हुन् ।

यसैबीच, बिहीबार बिहान सम्पन्न लिग चरणको अन्तिम दुई खेलमा बंगलाचुली र शान्तिनगर विजयी भए । घोराही १५ सहिद मञ्चमा जारी प्रतियोगिता अन्तरगत बिहान भएको खेलमा बंगलाचुलीले राप्तीलाई २५–२३ र २८–२६ को सोझो सेटमा पराजित गर्यो । लिग चरणको अन्तिम खेलमा शान्तिनगरले लमहीलाई २५–८ र २५–१९ को सोझो सेटमा हरायो ।

२० गतेदेखि जारी प्रतियोगिता लिगकम नकआउटका आधारमा भएको हो । लुम्बिनी प्रदेशकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताको विजेता टिमले उपाधिसँगै नगद दुई लाख पच्चिस हजार रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी द्वितीय हुने टिमले १ लाख २५ हजार, तृतीय हुने टिमले नगद ५० हजार र सान्त्वना हुने टिमले नगद २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिले जनाएको छ ।

Blog Post Ad Blog Post Ad