Ad Area

बालिकाद्वारा बलात्कारबिरुद्ध चेतनामुलक रोड शो


दाङ, २४ फागुन । घोराही उपमहानगरपालिका–१६ सर्रास्थित ज्ञानमाला एकेडेमीका बालिकाहरुले ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा बिहिबार सर्रा चोकमा बलात्कारबिरुद्ध चेतनामुलक रोड शो गरेका छन् ।

बिद्यालयमा गठित किशोरी क्लव, बाल क्लव र रेडक्रश सर्कलमा आबद्ध बालिकाहरुले बलात्कारका दोषीहरुलाई कार्वाहीको माग गर्दै फरक तरिकाले महिला दिवस मनाएका छन् । बालिकाहरुले बलात्कारका दोषीलाई कार्वाही हुनुपर्ने, बालिकाको सुरक्षाको ग्यारेण्टी हुनुपर्ने, बालिका बचाउन सरकार गम्भिर हुनुपर्ने लगाएतका सन्देशमुलक गितहरुमा सडक नाच प्रदर्शन गरेका थिए ।

प्रकाश सपुतको ‘बदला बरिलै’ गितमा नाच प्रदर्शन गर्दै उनीहरुले ‘बलात्कारी हौ तिमी, बलात्कारी हौ’ भन्ने खबरदारीपूर्ण गितमा अभिनय गरेका थिए । दिनहुँजसो बलात्कारका घटना भैरहेका सन्दर्भमा बालिकाहरुको सुरक्षाको माग गर्दै सडकमा नाच प्रदर्शन गरेको किशोरी क्लवकी सचिव अदिती केसीले बताइन् । ‘कतिपय बलात्कारका घटनामा लामो समयसम्म पनि दोषी पत्ता नलाग्ने समस्या छ,’ उनले भनिन्,‘बलात्कारका घटना बढ्दै जाने तर दोषीलाई कार्वाही नहुने समस्या छ । यसबिरुद्ध चेतना फैलाउन रोड शो गरेका हौं ।’

बलात्कार पीडितको संरक्षण नहुने समस्या रहेको र यसले बालिकाहरुलाई असुरक्षाको महशुस भैरहेको बिद्यार्थी स्मारिका चौधरीले बताइन् । ‘बलात्कार जस्तो जघन्य अपराधमा कमी आउन सकेको छैन,’ उनले भनिन्,‘यसले हामीहरुलाई सुरक्षाको महशुस गराउन सकेको छैन । यसबिरुद्ध सन्देश दिन बालिकाहरु एकजुट भएर सडकमा आएका हौं ।’

नृत्यमा सहभागी बालिकाहरुले बलात्कारका कारण धेरै बालिकाहरु त्रासमा बाँचिरहेको गुनाशो गरे । हरेक महिला दिवसमा महिला अधिकारका बिषयमा छलफल हुने गरे पनि महिला र बालिकामाथि हिंशा हुने क्रम नरोकिएपछि बालिका बचाऊको सन्देश दिंदै चेतनामुलक रोड शो गरेको बिद्यालयकी कार्यक्रम संयोजक बिमला केसीले बताइन् । बालिका र किशोरीहरुमा रहेको असुरक्षाको भावना हटाउन सरकार गम्भिर हुनुपर्ने उनले बताइन् ।

Blog Post Ad

अन्तर्राष्ट्रिय महिला दिवस रचनात्मक तरिकाले मनाउन बलात्कारबिरुद्धको चेतनामुलक नाच तयार गरी सडकमा प्रदर्शन गरेको बिद्यालयकी नृत्य शिक्षिका अनुशा वलीले बताइन् । यसले लैंगिक हिंशा र बलात्कारका घटनाप्रति सबैलाई संबेदनशील बनाउन भूमिका खेल्ने बिश्वास उनले व्यक्त गरिन् । बालिकाहरुले महिला हिंशा अन्त्य हुनुपर्ने, लैंगिक विभेद् अन्त्य हुनुपर्ने, बलात्कारका दोषीलाई कार्वाही हुनुपर्ने, बालिकाको सुरक्षा हुनुपर्ने जस्ता नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकी बिद्यालयदेखि सर्रा चोकसम्म ¥याली गरेका थिए ।

Blog Post Ad Blog Post Ad