Ad Area

कलाकारिताको बगैँचामा फक्रिएकी ‘केपिना’


हिमाल महरा
दाङ, ३० फागुन । हिमाली जिल्ला मुस्ताङको सेताम्य हिउँमा एक प्रतिभा फक्रिरहेको थियो । ठुलो भएपछि नामी मोडलका रूपमा नाम दर्ज गराउने बालसपनाले केपिना गोतामे नृत्याङ्गनाको कोपिला बनेर फक्रिइरहेकी थिइन् । तथापि पारिवारिक रुकावटले उनको त्यो सपना अधुरै रहन्छ कि भन्ने संशय पैदा गरिरहन्थ्यो । भलै परिवारले उनलाई रोकतोक भने गरेन । नामी कलाकार बन्ने दृढसङ्कल्प अनि लगावले केपिना कलाकारिताको बगैँचामा सुन्दर कोपिला बनेर फक्रिइन् ।

उनी भन्छिन्, ‘घरपरिवारले पनि कलाकारितामा लाग्न प्रेरित गर्नु हुन्थ्यो, अहिले जति सफलता मिलेको छ यसको पहिलो श्रेय मेरो परिवारकै हो ।’ कलाकारिताको हुटहुटीमा रहेकी केपिनाको यात्रा काठमाडौं सोझियो । २०७७ मा काठमाडौं प्रवेश गरेकी केपिना स्टेज कार्यक्रममा आफ्नो नृत्य पस्कन थालिन् । उनको नृत्यको पशंसा व्यापक बन्दै जान थाल्यो भने कलाकारिता क्षेत्रका अग्रजसँगको बाक्लो चिनजानले उनको सपना पूरा हुने अभिलाषालाई बढाइरह्यो । ‘नाच्ने रहर धेरै थियो त्यसैले म स्टेज कार्यक्रममा जाने गर्न थालेँ’, केपिना भन्छिन् ।

कलाकारितामा जमेर आफूलाई स्थापित गर्न सक्ने सम्भावित कलाकारको रूपमा उनलाई अथ्र्याउँदा केपिनामा उस्तै उर्जा प्राप्त हुन्थ्यो । यसै क्रममा उनले म्युजिक भिडियोमा समेत काम गर्ने अवसर पाइन् । ‘भुर्र भुर्र चमेरा’ बोलको गीतमा आफूलाई ०७८ मा मोडलका रूपमा प्रस्तुत गराइन्, केपिनाले । कलाकारिता क्षेत्रमा औपचारिक रूपमा प्रवेश गराएको यो गीतले कलाकारिता क्षेत्रमा उनको नाम दर्ज त गराइदियो तर सोचे अनुरूप गीत क्लिक भएन । तथापि हार मानिनन्, उनले । कलाकारिताप्रतिको उनको लगाव मत्थर बनेन बरू दिनानुदिन उचो बन्दै गयो । ‘म पहिलो पटक मोडलका रूपमा देखिन पाउँदा आफूलाई भाग्यमानी ठानेकी थिएँ’, उनले भनिन् ।

पहिलो म्युजिक भिडियोमा आफ्नो कलाकारिता प्रस्तुत गरेकी केपिनालाई अर्को भिडियोमा काम गर्न एक वर्षको अवधि लाग्यो । उनले यो बेला माइतीको देश बोलको तीज गीतमा अभिनय गर्ने अवसर पाइन् ।

‘दोस्रो गीतमा काम गर्ने अवसर पाएपछि मैले आफूलाई अब कलाकारिता क्षेत्रमा स्थापित गर्न सक्छु भन्ने आँट आयो’, उनले भनिन् । हालसम्म७, ८ वटा गीतमा काम गरेकी केपिनाका लागि एउटा गीतले उनको करिअरलाई यो क्षेत्रमा स्थापित गरिदियो । प्रकाश दुतराजको रिमै बोलको गीतमा प्रस्तुत भएको अभिनय उनका लागि कलाकारिता क्षेत्रको महत्वपूर्ण अवसर बन्यो । ‘म वास्तवमा स्टेज कार्यक्रममा डान्सरको रूपमा चिनिएकी थिएँ’, उनले भनिन्, ‘तर प्रकाश दूतराजको ‘रिमै’ बोलको गीतमा राउटे समुदायको जीवनमा आधारित भिडियोमा काम गरेपछि स्टेज कार्यक्रमलगायत म्युजिक भिडियोमा माग बढेको छ ।’ अहिले उनी काठमाडौंमा रहेर कलाकारिता क्षेत्रमा जमेकी छिन् ।